आज इन्दिराएकादशीव्रत एकादशीश्राद्ध पनि हेर्नुहोस् आजको दिन २०७७ भाद्र २८ गते


हरेकपल September 12, 2020

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १३ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आश्विन कृष्णपक्षको एकादशी तिथि राति १०।५७ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पुनर्वसु नक्षत्र दिवा १।२६ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।४८ मा छ भने सूर्यास्त बेलुका ६।९ बजे हुनेछ । चन्द्रमा आज बिहान ६।२३ बजेसम्म मिथुन राशिमा र सो पश्चात् कर्कट राशिमा रहनेछन् ।

आज इन्दिरा एकादशीव्रतका साथै सोह्रश्राद्धअन्तर्गत एकादशी तिथिको श्राद्ध गर्ने दिन परेको छ । चान्द्र महिना अन्तर्गत आश्विन कृष्णपक्षको एकादशीलाई इन्दिरा भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरूप शालग्रामलाई पञ्चामृतले स्नान गराई पूजा अर्चना गरी व्रत बस्ने शास्त्रीय विधान रहेको छ । सोह्रश्राद्ध अन्तर्गत यो एकादशी पर्ने भएकाले यो व्रतउपासना समस्त पितृका निम्ति उद्धारक समेत हुने शास्त्रीय वचन रहेको पाइन्छ ।
आश्विने कृष्णपक्षे तु इन्दिरा नाम नामतः ।
तस्या व्रतप्रभावेन महापापं प्रणश्यति ।
अधोयोनि गतानां च पितृणां गतिदायिनी ।
(पद्मपुराण)
इन्दिरा एकादशीको व्रधारण गर्नाले महापाप पनि नष्टहुन्छ भन्ने फल बताइएको छ । यसैगरी अगतिमा परेका पितृको उद्धारका निम्ति पनि यो उत्तम दिन हो । यसैगरी उस एकादशीको फल श्रवण गर्नाले वाजपेय यज्ञ गरे बराबरको फल प्राप्त हुने गर्दछ ।