एउटा आशौच बारिरहेका वेला अर्को आशौच परेमा के गर्ने भन्नेबारे निर्णय

‘बद्धाशौचस्य मध्ये त्वपरमपि समं स्वल्पकं वा सजाति , प्रेते जात्यन्तरं वा यदि भवति तदा पूर्वशेषेण शुद्धिः।।

द्वाभ्यां तद्रात्रिशेषे त्रिभिरपरदिनैर्यामिनीयामशेषे ,नैवाशौचेन पित्र्यं पितुरुपशमने पक्षिणी मातृमृत्यौ।।

त्रिंशच्छ्लोकी (को दशौँ श्लोक)

आशौच परिरहेकामा अर्को आशौच जुठामा जुठो र सूतकमा सूतक खप्टियो भने दश दिनका दिनभरि सूर्यास्त नभएसम्ममा खप्टिन गयो भने पहिले बारिराखेको आशौच समाप्त हुँदा दोस्रो, तेस्रो वा जतिसुकै परेको आशौच पनि समाप्त हुन्छ । १० दिनका दिन राति अर्थात् सूर्यास्त भएपछि अर्को आशौच परेमा दशरात्री पछि दुई दिन थप आशौच बार्नुपर्दछ । दश दिनका राति चौथो प्रहरमा अर्को आशौच खप्टिन गएमा दशरात्रीपछि तीन दिन बढि आशौच बार्नुपर्दछ।

एघारौँ दिनका दिन अर्को आशौच पर्यो भने दोस्रो आशौच फेरि दशै रात्री पूरा बार्नुपर्दछ। तर, अरु बन्धुका जुठाले बाबु–आमाको आशौच भने जाँदैन । बाबु–आमाको पूरै आशौच बार्नुपर्दछ। बाबुको आशौचभित्र आमाको आशौच खप्टियो भने बाबुको दश रात्री पछि आमाको पक्षिणी थप आशौच बार्नुपर्दछ। बाबुका आशौच दश दिनका राती आमाको आशौच पर्यो भने बाबुको दश दिन पछि दुई दिन बढी आमाको आशौच बार्नुपर्दछ । यदि बाबुको आशौच दशौँ दिनको रातका चौथो प्रहरमा आमाको आशौच थपिएमा बाबुको दश दिन पछि तीन दिन थपेर आमाको बढी आशौच बार्नुपर्दछ । तर, आमाको आशौच बारिरहेका वेला बाबुको आशौच पर्न गयो भने बाबुको पूरै दशै रात आशौच बार्नुपर्दछ।
सूतकमा जुठो खप्टियो भने जुठो पूरै दशै रात्री बार्नुपर्दछ, सूतकले जुठो जाँदैन । जुठामा सूतक खप्टिएमा जुठो सकिँदा सूतक पनि सकिन्छ ।

सूतके मृतकं चेत्स्यान्मृतके त्वथ सूतकम्। तत्राधिकृत्य मृकं शौचं कुर्यान्न सूतम्।।

अङ्गिराको वचन यस्तो छ ।

शावाशौचे समुत्पन्ने सूतकं तु यदा भवेत् । शावेन शुध्यते सूतिर्न सूतिः शावशोधिनी ।। षट्त्रिंशन्मते भनेर यसो भनिएकोछ।

जुठामा सूतक खप्टिएमा बन्धुलाई जुठो सकिँदा सूतक पनि समाप्त हुन्छ।

सूतिकामग्निदं हित्वा मृतकस्य सुतानपि भनिएको हुँदा सूतक परेका घरमा आमालाई भने सूतक पूरै बार्नुपर्दछ। छोराहरूले बाबु–आमाकाको पूरै बार्नुपर्दछ भन्ने कुरा पहिले नै भनिएको छ । जसले दागबत्ती दिन्छ, उसलाई पनि पूरै दश दिन आशौच लाग्छ ।

अब यहाँनेर यौटा कुरा बुझ्नुपर्ने हुन्छ। बाबुका आशौचभित्र आमाको देहान्त भयो भने वेदी ढिकुरो अलग–अलग गरेर आ–आफ्ना दिन अनुसारका पिण्ड दान हुँदै जान्छन् । आमाको पक्षिणी आशौच बाबुका ११ दिनदेखि सुरु हुन्छ। बाबुको ११ दिनका दिन उनको (बाबुको) आद्य मासिक र आद्याब्दिकश्राद्ध श्राद्ध गर्नुपर्दछ , किन भने

आद्यश्राद्धमशुद्धोपि कुर्यादेकादशे हनि

यो वचनका आधारमा आमाको आच बारिराखेको भए पनि आशौचभित्रै आद्य मासिक र आद्याब्दिक श्राद्ध गर्न हुने भयो , तर बाबुका घट श्राद्ध र ऊनादि पञ्चदश मासिकहरू रोकिने भए, गर्नु हुँदैन । बाबुका बाह्रौँ दिनका दिन बाबुको सपिण्डीकरण पनि रोकिने नै भयो, गर्नुहुँदैन । बाबुका बाह्रौँ दिनका दिन आमाका बाँकी सबै पिण्डदान गरी ढिकुरो फुटाउनुपर्दछ । बाबुका तेह्रौँ दिनका दिन आमाको आद्यमासिकादि एघाौँका सबै कामहरू गर्नुपर्दछ र बाबुका १४औँ दिनका दिन आमाको सपिण्डीकरण पनि गर्नुपर्दछ। किनभने बाबुका बाह्रौँदिनका दिन आमाको आशौचको अन्तिम दिन भयो । बाबुका तेह्रौँ दिनका दिन आमाको आशौचान्तद्वितीय दिन भएको हुँदा त्यस दिन एघारौँका सबै काम गरेर त्यसका भोलिपल्ट अर्थात् बाबुका १४औँ दिनका दिन आमाको सपिण्डीकरण गर्न हुन्छ । बाबुको सपिण्डीकरण बाह्रौँ दिनका दिन रोकिएको हुँदा कहिले गर्ने त भन्दा

आनन्त्यात् कुलधर्माणां पुसां चैवायुषःक्षयात् । अस्थिरत्वाच्छरीरस्य द्वादशाहः प्रशस्यते।।

भनिएको हुँदा

बाह्रौँ दिन सपिण्डीकरणको मुख्यकाल भयो । बाह्रौँ दिनमा रोकिएको हुँदा के गर्ने त भन्दा

सपिण्डीकरणश्राद्धमुक्तकाले कृतं न चेत् । हस्तार्द्रारोहिणीभे वानुराधायां च तच्चरेत् ।।

भनिएको हुदाँ बाबुको १४ दिनका दिन हस्ता, आद्र्रा, रोहिणी र अनुराधामध्ये कुनै एक नक्षत्र पर्यो भने बाबुका तेह्रौँ दिनका दिन घटश्राद्ध र ऊनादि मासिकहरू गरेर बाबुको १४ दिनका दिन आमा–बाबु दुवैको अलग–अलग सपिण्डीकरण गर्नुपर्दछ । यदि ती नक्षत्रहरू मध्ये कुनै नक्षत्र परेन भने त्यस दिन आमाको मात्र सपिण्डीकरण गर्नुपर्दछ । बाबुको ती नक्षत्रहरू पर्खिएर ती नक्षत्र पर्ने अघिल्ला दिन घटश्राद्ध र ऊनादि मासिकहरू गरी भोलिपल्ट सपिण्डीकरण गर्नुपर्दछ।

ॐ हरये नमः। श्रीकृष्णार्पणमस्तु।।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल