बेहोसी आए

ऊ फेरि आए
ती अभिभावक बेहोसीहरू आए
मृत्यु के हो नबुझेर अजम्बरी हुँ भन्दै आए
जिन्दगीको अधिकांश समय
जसरी सामान्य आवश्यकता
विकृत मनोरञ्जन र व्यर्थका उल्झनहरूमा बिताए
र आज पनि त्यसै गरी साँझपख घर आए ।

खतरनाक नशाबाट हुने मानसिक असन्तुलन जस्तै
सधैँको अवस्था जस्तै घातक बनेर आए
अब खोस्नेछन् समाजको सुमधुर साँझ
र प्रिय रातमा हुने पारिवारिक शान्तिलाई
र आफ्ना सन्ततिहरूको सृजनशील अनुकूलता
र सिकाइ र आन्तरिक पवित्रता
र आफ्नो श्रीमतीको प्रेम प्रतीक्षालाई ।

जसरी खोसिरहेका थिए
र खोस्दै आइरहेका छन् कयौँ वर्षहरूसम्मन्
र आज पनि खोस्ने छन् त्यसरी नै
पारिवारिक सुख, स्वतन्त्रता र सन्तुलनलाई
र बिगार्ने छन्
भविष्यसँग सम्बन्धित हरेक वर्तमान ।

हेर १ हेर ११ आए बेहोसीहरू यी
आफ्ना चरित्रहरू प्रकट गर्दै आइसके
सामान्य आधारभूत जिम्मेवारी टारेको हिसाब गर्दै
शोषण र हिंसाको अधिकार चलाए,
शासित सिकाइ र मानवता दुर्लभ संस्कार उत्पन्न गर्दै
कहिल्यै नदेख्ने भैसके आफूलाई
र त चलाइरहन्छन् तीर आफ्नै छातीमा
र दण्डित हुन्छ परिवार नै ।

उनीहरू अपेक्षा गर्छन् कि स्
सन्तानले आफूलाई भगवान् नै ठानून् ।
उनीहरू आफ्ना सन्तानलाई
आफूलाई आवश्यक पर्ने काम गर्न
बाध्य पार्नुको मजा लिइरहन्छन् ।
आफैँलाई गुरु मानेर
नयाँ पुस्तालाई दिशानिर्देशन गर्नुमा
उनीहरूको मनभित्र बडो रस छ ।
उनीहरूको जिन्दगी
वास्तविक जिन्दगीको रूपमा अहिलेसम्म सुरुवात भएकै छैन ।
तर पनि उनीहरू भविष्य सिकाउँछन्
गन्तव्य देखाउँछन् ।

ऊ देखिए, बेहोसी व्यावहारले देखिन थाले
हेर्नू त, यिनीहरूको रूप कस्तो !
व्यक्तित्वका भिखारी
परेवाका सिकारी
कुनीतिका गुलामी
हिरण्यकस्यपुका चेला
गरुण पुराणका नोकर
अचेतनले संचालित शरीर
भेडो दैनिकीमा बाँच्ने
बीउ खाने धमिरा
आंशिक पूर्तिको लागि चरित्र हत्या गर्ने
बोल्नको लागि वातावरण प्रतिकूल पारिरहने
सुन्नको लागि आक्रामक बनिरहने
हेर्नको लागि अन्धत्व प्रकट गरिरहने
सामाजिक नामको बोराभित्र
नकुहेका आलु मान्छेलाई कुहाउने
कुहेका आलुहरू प्राप्ति र प्रलोभनमा ढोग्ने
बाँदर र सुतुर्मुग बोक्ने
आकाशतिर हेरेर प्यासले मर्ने
फूलको गन्धमा नाक थुन्ने
हात्ती हौँ भन्दै कुवामा डुब्ने
न आफूले जान्ने
न अरूले जानेको मान्ने
न त देखेको बुझ्ने
न भोगेको स्विकार्ने
र पनि आदर खोज्दै आए बेहोसीहरू ।

समस्या पाचनको लागि
सङ्कल्प र धैर्यताको मानसिक आन्द्रा नभएका,
सम्बन्धको सन्तुलनप्रति
आन्तरिक विश्व र मौलिक अस्तित्वको विकास
निष्क्रिय परिणामबाट नै अन्त्य निश्चित भएको,
चेतनाको प्रकृति हेर्दा
कुनै पनि सिकाइ र संगतबाट
सकारात्मक परिवर्तन हुने मार्गको लागि
असम्भव बनिरहने स्थायी संरचना,
जीर्ण पराश्रयको धुरीमाथि
जिन्दगीको निर्भरता बाँचिरहेको,
दोस्रोबाट आफ्नो कामना पूर्तिको परिणामभित्र
भाग्य–दुर्भाग्य र
सफलता–असफलताको परिधिमा विभाजित आँखाहरू,
अवैज्ञानिक संस्कारसँग आत्मसात गर्दै
सार्वजनिक हुन्छ निकृष्टता,
आधारभूत र नैसर्गिक स्वतन्त्रता खोज्दै
सामाजिक र पारिवारिक आधारहरूभित्र
कर्तव्य र उत्तरदायित्व विमुख रहेर
परिपक्व संरक्षण र सुरक्षा व्यवस्थाका उपायहरूप्रति
विचरण गरिरहन्छ उनीहरूको परिचित विकल्प ।

र यी सबै अर्थ योग्यताको कुल प्रतिबिम्ब
कुनै पनि समयको सम्भावनामा सुनिश्चित गर्दै
आए बेहोसी हेर्नू त ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल