साहित्यकारका आँखामा कान्तिपुरी


हरेकपल सम्वाददाता ६ मंसिर २०७७, शनिबार १६:३२

विश्वको सर्वोच्च शिखर सगरमाथा र सयौँ हिमशिखर, हज्जारौँ नदीनाला, ताल/वनजंगल आदि सुसज्जितबाट उर्वरा स्वरूपको भौगोलिक नाम हो– नेपाल । ‘नेपाल सुन्दर शान्त विशाल’ महाकवि देवकोटाले गाएको विश्वको सर्वश्रेष्ठ देश नेपाल ।

प्राचीन ऐतिहासिक प्रारम्भदेखि नै ‘नेपाल’ नामबाट प्रसिद्धि पाएको यो उपत्यका विश्वका सुन्दरतम् स्थानमध्ये एक हो । मल्लकालमा ‘काष्ठमष्डप’ नाम राखिएपछि त्यसैको अपभ्रंश रूप काठमाण्डु र आधुनिक काठमाडौँ– एक समय अर्थात् लिच्छविकाल र मल्लकालमा समेत ‘कान्तिपुर’ नामले चिनिन्थ्यो । पृथ्वी नारायणको एकीकरण अभियानका बेला यहाँका अन्तिम राजा जयप्रकाश मल्ल कान्तिपुरका राजा थिए । उपत्यकामा तत्कालीन भादगाउँ, पाटन र कीर्तिपुर नगर राज्यको तुलनामा कान्तिपुर–  वर्तमान वसन्तपुर र वरपरको क्षेत्र रमणीय र सम्पन्न राज्य थियो ।

कान्ति–शोभा सुन्दरताको पुर–नगर अर्थात् तत्कालीन ‘कान्तिपुर’ले पृथ्वीनारायणको हृदय जितेको थियो । ‘यसलाई राजधानी बनाउन पाए आहा !’भन्दै लालायित भएर उनले आक्रमणको पहिलो लक्ष्य विन्दु बनाएका थिए । जयप्रकाश मल्ललाई पराजित गरेर कान्तिपुरर हात पारेपछि मात्र पृथ्वीनारायणले वरपर हात फैलाएर आजको सिङ्गो नेपाल बनाएका हुन् ।

कान्तिपुर– लिच्छविकालको स्वर्णिम नगर मानिन्छ । सभ्यता–संस्कृति, सम्पन्नता र अन्य कतिपय कारणले गर्दा चीन–भारत र अन्यत्र समेत यो राज्य चर्चित थियो । मञ्जुश्री– स्वयम्भू र बुद्धका विभिन्न शक्तिपीठका अतिरिक्त वास्तुकला, स्थापत्यकला र अन्य असङ्ख्य सांस्कृतिक सम्पन्नताले पनि यस नगरको प्राचीनकालदेखि नै महत्त्वपूर्ण स्थान रहेको हो । जयस्थिति मल्लको चार वर्ण छत्तीस जात र विभिन्न सामाजिक विभाजनले बहुजातीय– बहुसांस्कृतिक नगरीका रूपमा सयौँ वर्षदेखि स्थापित यो नगर देशको बौद्ध र हिन्दू धर्मको राजधानी समन्वय एवं सहिष्णुताको उदाहरण पनि हो ।

प्राचीन सभ्यता, संस्कृति–शान्ति–सद्भाव र समन्वय–सङ्गम यस नगरीले आफ्नो वक्षमा धेरै लामो इतिहास बोकेको छ । यस कान्तिपुरले, दिवोदास, यलम्बर किराँतवंश, गोपाल, आभीरवंश हुँदै लिच्छवि एवं मल्लहरूको चरितार्थ बोेकेको छ । पृथ्वीनारायणदेखि जंगबहादुर र ज्ञानेन्द्रसम्म हुँदै विविध चर्तिकला भोगेको छ । विभिन्न राजनीतिक उथलपुथल, शक्ति होडबाजी– भण्डारखालकाण्ड र कोतकाण्ड जस्ता असङ्ख्य काण्ड झेलेको छ । नब्बे सालको महाभूकम्पले अधमरो बनेको यस नगरीले पुनः बिउँझिएर सिंहदरबार र नारायणहिटी दरबारसमेत धान्दै आएको छ । कान्तिपुर– आजको काठमाडौँ सहर भाषा–साहित्य र संस्कृतिको विकासमा समेत देशकै प्रभुत्व केन्द्र बनेको छ । नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा विकसित गराउने र जनभाषाका रूपमा प्रसार गराउने श्रेय पनि यही कान्तिपुरलाई छ । पुण्य मल्ल–भूपतीन्द्र मल्ल–प्रताप मल्लका अभिलेखहरूबाट सुरू भएर पृथ्वीनारायणबाट राजभाषा बनाइएको नेपाली भाषाको संरक्षण कान्तिपुरबाटै भयो । यसरी नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पनि यस नगरको अमूल्य देन छ ।

प्राकृतिक सौन्दर्यका दृष्टिले विश्वसमृद्ध यस नगरीको महात्म्य कवि कलमबाट प्रथमपल्ट यसरी गुन्जिएको पाइन्छ :

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।

कहिँ भोट  र लण्डन  चीन  सरी,
कहिँ काल् भरि गल्लि छ दिल्ली सरी।
लखनौं  पटना मदरास सरी
अलकापुरि कान्तिपुरी नगरी।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।
अतिशूर  र वीर भरी नगरी,
छ त कुन् सरि कान्तिपुरी नगरी।।

रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।

कवि भानुभक्त आचार्य– कान्तिपुरबाट धेरै टाढा तनहुँ क्षेत्रका भए पनि राजधानीमा आउनै पर्थ्यो । जागिर खान, पढ्न केही उन्नति गर्न चाहनेलाई त्यसबेला पनि कान्तिपुरले तानिहाल्थ्यो । भानुभक्त पनि जागिरे थिए । अनि जागिरका क्रममा केही हिसाब फर्स्यौट नगरेको भनी अभियोग लागेका कारण भानुभक्तले कुमारी चोक जेल पनि बस्नुपर्यो । त्यही जेल बसाइमा भानुभक्तले रामायण काव्य र केही फुटकर कविता रचेका थिए ।  कान्तिपुरबाट पाएको व्यथा पनि यसरी कवितामा पोखेका थिए :

भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

होमनाथ खतिवडा/  शिखरनाथ सुवेदी/ लक्ष्मीदत्त पन्त र प्रसिद्ध भाषा साहित्यसेवी मोतीराम भट्टजस्ता स्रष्टाहरू यसै नगरीमा जन्मिएका थिए ।

अचल् झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन् थर्कोस् थरथर गरी छीन भरिमा
यवन्ले राज् गर्दा कति पतित हिन्दु स्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो ।

मोतीरामको ‘कान्तिपुरी’ अझसम्म चम्किएकै छ । त्यसबेला मोतीरामको कलम मार्फत् सुशोभित भएको कान्तिपुर अझ पनि उस्तै छ ।

गिरिशवल्लभ जोशी/ सदाशिव शर्मा/ राममणि/ सोमनाथ/ बाबुराम आचार्य/ शम्भुप्रसाद ढुङ्ग्याल, रुद्रराज पाण्डे, पुष्करसमसेर, बालकृष्ण सम, बदरीनाथ भट्टराई आदि कान्तिपुरका उपज साहित्यिक हुन् भने चक्रपाणि/ लेखनाथ/ गुरूप्रसाद मैनाली/ कोमलनाथ आदिको साहित्य साधना केन्द्र कान्तिपुर नै हो ।

सभ्यता हाम्रो नेपाल राम्रो स्वर्ग झैँ पवित्र
लुकेको स्वर्ग समुच्च जाति यस्का छन् विचित्र ।

अमर महाकवि देवकोटाको जन्म–कर्मस्थल कान्तिपुरीको महात्म्य जति गाएर पनि सकिन्न । भीमनिधि तिवारी/ नयराज पन्त/ गोपाल पाँडे/ हृदयचन्द्र सिंह र गोपालप्रसाद रिमालको जन्म–कर्मक्षेत्र कान्तिपुरी– सिद्धिचरण, माधव घिमिरे, केदारमान व्यथितको कर्मक्षेत्र र साधनाभूमि हो ।

जय नेपाल ! जय नेपाल !! कर्म अरू तपभूमि
नेपाल यो पवित्र नाम ऋषिहरूको शुद्धधाम ।
गीत हुन्थ्यो वेद, साम सब्को हुन्थ्यो पूर्ण काम
आर्यावर्तको यो श्वास स्वर्गभूमि यो हो खास ।।

सहिद शुक्रराज शास्त्रीद्वारा यसरी गाइएको यो कान्तिपुरी आज पनि सुन्दरता/ कठोरता/ विभत्सता / कोमलता/ सुख–दुःख/ पीडा/ प्रेम–घृणा/ सच्चरित्र–दुश्चरित्र–समृद्धि–दरिद्रता आदिको सङ्गम छ ।

कविहरू विभिन्न दृष्टिले हेर्ने गर्छन्– काठमाडौँ अर्थात् कान्तिपुरलाई ।
मुलुकभरिका कवि लेखकहरू यस कान्तिपुरीमा रहेर मात्र आफ्नो व्यक्तित्व कृतित्वलाई चम्काउन र समर्थ हुन सकिन्छ– भनेर लागिपरेका छन् ।

धरणीधर, सूर्यविक्रम, लैनसिंहको व्यक्तित्व–कृतित्व यहीँ बढ्यो । धर्मराज थापाले यहीँ बसेर गीत गाउने कला बुझे । कृष्णचन्द्रसिंह, गोविन्दबहादुर मल्ल, विजय मल्ल, खेताला/ विकल/ मोहन कोइराला/ वल्लभ/ भूपि/ पोषण सबैसबै कान्तिपुरीभित्र रमेका हुन् । वर्तमान पुस्ताले पनि आफ्नो साधनाकेन्द्र कान्तिपुरीलाई नै बनाएका छन् ।

कविहरू कान्तिपुरीलाई यसरी हेर्छन् :

– उनीहरू जो नेपाल बोल्दै राजधानी मेला भर्न आएका थिए
फर्के फर्केनन् ।

– काठमाडौँ एक्लैले अब सिङ्गोे नेपालको अर्थ लाउन सक्तैन ।

– माग्नेको ट्वाक……  काठमाडौँ
उच्चवर्गीयहरू काठमाडौँ खाल्डो च्याँखे थापेर बसेका छन् ।

– सिंहदरबारसम्म कुनै गाउँको गोरेटो पुग्दैन
त्यसैले पहिरोले पुरिएको गाउँको समाचारले सिंहदरबारलाई छुँदैन ।

– यो बढ्दो विपन्नता र अभावको अगाडि
यो बढ्दो काल मृत्युको अगाडि
एउटा रानीपोखरी अब अपर्याप्त साबित भइसकेको छ ।
देशमा रानीपोखरी नै रानीपोखरीको आवश्यकता छ ।

– काठमाडौँ तिमी, छिमेकी र आफन्त मर्दा
तिम्रो लास उठाउन मलामी दिँदैन ।

– बजाउँदै शान्ति ॐ शान्ति घण्टहरू
कसले भगाउँदैछ स्वयम्भूका परेवाहरू

– यो राजधानी हो, कृपया छेउ लागेर हिंड्नुहोस्

– हङ्कङ् प्यारिस् र ब्याङ्कक भ्रमण गर्न
लाइसेन्स खोजिरहेछ स्वयम्भू

– राजधानीले देश खोज्नुपर्ने सहर

– मान्छे बगाउँछ यो सहरमा हल्लाको बाढीले
मूलढोकाको साँचो हराएको छ काठमाडौँमा एउटा घरको

राजनीतिक नेता, कार्यकर्तादेखि जागिरे, व्यापारी ठेकेदार–मजदुर, पत्रकार, वकिल, प्राध्यापक, अपाङ्ग, जनजाति आदि सबैको आश्रयस्थल यो कान्तिपुर – विविध भाषासाहित्यको साधना सङ्गम बनेको छ । जनसम्पर्क र राजभाषा नेपाली बाहेकका अन्य राष्ट्रभाषाहरू पनि कान्तिपुरी टेकेपछि मात्र ब्युँझन्छन् । भाषाको महत्त्व सम्बन्धित भाषाभाषी क्षेत्रमा भन्दा कान्तिपुरमै मात्र प्रष्ट हुन्छ । कान्तिपुर टेकेपछि साधारण व्यक्ति पनि जानिफकार बन्न कर लाग्छ । यहाँको माटो–हावापानी नै यस्तै छ । सबैलाई आकर्षित गरेरै छोड्दछ । जतिसुकै कष्ट–दुःख झेल्नुपरे पनि एकपल्ट पसेपछि कान्तिपुरलाई कोही पनि छाड्न चाहँदैन ।

यो सबै ‘कान्तिपुरी’कै कथा हो । काठमाडौँमा बस्ने प्रायः सबै कवि साहित्यकारहरू यहाँका विभिन्न पीडा व्यथा पोख्ने गर्छन् । ‘कान्तिपुर’मा अधिकांशले थप्पड–घुस्सा, लात्ती बेहोर्नुपर्छ । नियति हो । तर कोही पनि यसलाई छोडेर अन्यत्र जाने कुरा चाहँदैनन् । प्रत्येक क्षेत्रमा उन्नति–प्रगति गर्न चाहनेलाई चाहे–सोच्न पनि राजनीतिमा/ समाजसेवामा/ व्यापारमा/ पत्रकारितामा/ साहित्य–साधनामा अर्थात् जुनसुकै कुरामा होस् कान्तिपुरीको बास चाहिन्छ । त्यसैले ‘कान्तिपुर’मा सबैखाले बसोबास छ । पीडा र सन्त्रासभित्र पनि जीवनको आस छ– यस कान्तिपुरीमा ।

 (साभार : प्रज्ञान, वर्ष : १, अंक : १, २०७६ )