कम्पास


हरेकपल सम्वाददाता ६ मंसिर २०७७, शनिबार १६:३९

मुर्कट्टालाई–
टोपी सुहाउँछ भने लगाओस्
बाउबाजेभन्दा अघि–
नातिपनाति जन्मिन्छन् भने जन्मियून्
अनि हिँडून् –
खुट्टालाई टाउकाले टेकेर !


आखिर समय बाङ्गोटिङ्गो रेखा न हो,
यो कहिले र कुन युगमा–
सिधा खिचिएको थियो र ?!


खोलाहरू उकालोतिर–
बग्छन् भने बगून्
न्युटनको स्याउ–
जमिनबाट आकाशतिर
खस्छ भने पनि खसोस् !

मलाई राम्ररी थाहा छ–
स्वर्गको उचाइमा नर्कको गहिराइ हुन्छ ।


तसर्थ,
तल धर्ती नहोस्
माथि आकाश नहोस्
र,
शून्यतामा उभिनुपरोस्
मलाई केही गुनासो छैन !


हिरण्यको घरमा–
प्रह्लाद नजन्मेको हो र ?!


जाबो जिन्दगीलाई–
उत्तर देखाउने कम्पास मसँग पनि छ !