आमा !


हरेकपल सम्वाददाता ६ मंसिर २०७७, शनिबार १६:४५

आमा !
मेरो हृदयको ढुकढुकी
मेरो हरेक स्वास
मेरा नसा–नसामा बहिरहेको हरेक थोपा रगत
म सम्झिरहन्छु हरेक पल तिमीलाई  ।

तिमीले ताउलोमा पकाएको
जाउलो सर्लक्क रित्याएर
मेरो पेट भरिँदा
तिम्रो अनुहारमा
कति चमक आउँथ्यो
त्यो सम्झन्छु ।

तिमी दिनभर काम गरेर
थकित अनि रित्तो पेट
घर आउँथ्यौ
भोक भने मलाई लाग्थ्यो
कहिल्यै भनिनँ मैले
आमा !  तिमी पनि खाऊ न अलिकति  ।

कतै मीठो फल भेटे
आफूले नखाई–नखाई मलाई ल्याइदिन्थ्यौ
तिमी खाँदै नखाई पनि
मेरो भोजनको स्वाद पाउँथ्यौ ।

आमा !
मैले कहिले बिर्सेको छु र
यो दिन सम्झिएँ भनूँ !

म कक्षा चढेर माथिल्लो श्रेणीमा जाँदा
गर्वले तिम्रो छाती फुल्थ्यो
खुसीले यो खबर सुनाउन टोलभरि डुल्थ्यौ
मेरो नतिजा नराम्रो आए, म रातभर रुन्थेँ
तर आँखा तिमी धुन्थ्यौ ।
मलाई चोट लाग्दा
घाउ तिमीलाई दुख्थ्यो ।
जब मलाई सानोतिनो बिमार लाग्थ्यो
रातभर आँखा तिम्रो जाग्थ्यो  ।

मेरो निम्ति खुसी रोज्दा
दुःख पीडा सह्यौ कति
मलाई दुःख परे अलिकति
तिमी रुन्छ्यौ कतिकति !

आमा ! 
मैले कहिले बिर्सेको छु र
सम्झिने कुरा गरौँ ?