लियो टाल्सटय
१)बोझ
केही सैनिकले शत्रुको क्षेत्रमा आक्रमण गरे । एउटा किसान दौडदै खेतमा चरिरहेको आफ्नो घोडाको छेउमा आयो र त्यसलाई समात्ने प्रयास गर्यो । घोडा भने उसको नियन्त्रणमा आएन ।
किसानले घोडालाई भन्यो– ‘कतै नभएको मूर्ख ! यदि तँ मसँग आइनस् भने दुस्मनको हातमा पुग्छस् ।’
‘दुस्मनले मलाई के गर्छ ?’– घोडाले सोध्यो ।
‘तँलाई भारी बोकाउँछ, अरू के गर्नु !’
‘के तपाईँले चाहिँ मलाई भारी बोकाउनु भएको छैन र ?’ घोडाले भन्यो– ‘मलाई के फरक पर्छ र, जोसुकैको भारी बोकूँ !’
…
२) विवाद
जाँदाजाँदै दुई यात्रीले बाटामा एउटा किताब देखे । किताब देख्नासाथ दुवैजना किताब कसले लिने भनेर विवाद गर्न थाले ।
ठीक यसै समयमा एउटा अर्को यात्री त्यहाँ आइपुग्यो । उसले त्यहाँ भइरहेको विवाद देखेर भन्यो– ‘भाइहरू हो ! तिमीहरूमध्ये पढ्न चाहिँ कसले जानेको छ ?’
‘पढ्न त हामी दुवैलाई आउँदैन ।’ दुवै जनाले एकसाथ बोले ।
‘त्यसो भए यो किताबका लागि विवाद किन गरिरहेका छौ ! तिमीहरूको लडाइँ त शिरमा एउटा पनि कपाल नभएका तालुखुइलेहरूले काइँयोका लागि लडेजस्तो भयो ।’
…
३) अन्धाको हातमा लालटिन
अँधेरी रातमा एउटा अन्धो व्यक्ति बाटो काट्दै थियो । उसको शिरमा माटोको घडा थियो ।
बाटो हिँड्ने बटुवाले उसलाई सोध्यो– ‘ए मूर्ख, तेरा लागि के दिन, के रात ! दुवै एकजस्तै हुन् । अनि यो लालटिन तँलाई किन चाहियो ?’
अन्धाले उत्तर दियो– ‘यो लालटिन मेरो लागि हैन, तिम्रा लागि हो किनकि रातको अँध्यारोमा तिमी मसँग ठोक्किन आइपुगेर कतै मेरो माटोको घैला नफुटोस् ।’
अनुवाद : मनोजादित्य न्यौपाने