प्रमोद सारङ
जोकरको नियति
पेट पाल्नको लागि
उसले हाँस्नु र हँसाउनु परेको छ ।
ऊ अरूलाई झुक्याउन पनि हँसाइरहन्छ
उस्तै परे आफ्नो छायालाई पनि हँसाउँछ ।
उसको जोकर संवेदना –
कहिले मन्दिरमा हाँसो छरिरहेको हुन्छ
कहिले मुर्दाघरमा हाँसो ओकलिरहेको हुन्छ
यतिसम्म कि प्रेयसीको अँगालोमा पनि
केवल हाँसो बोकेर लुटपुटिई रहेको हुन्छ ।
कति उदास र टिठलाग्दो छ
जोकरको नियति–
भित्रभित्रै तड्पिँदा पनि
छटपटिएर मर्दा पनि
उसको संवेदना–
केवल जोकर भएर मर्छ ।
पिरती
म केटाकेटी छँदा आमा भन्नुहुन्थ्यो–
‘आगोसँग नखेल्नू है बाबू !
आगोले पोल्छ ।’
मैले पत्याइनँ
र
धेरैपल्ट हात डढाएँ ।
म अलि ठूलो भएपछि आमा भन्नुहुन्थ्यो–
‘होस गरेर हिँड्नू बाबू !’
मैले टेरिनँ
र
कैयन् चोटि
घुँडाभरि खाटा बनाएँ ।
पठ्ठो भएपछि मलाई आमाले भन्नुभयो–
‘पिरतीले रुवाउँछ बाबू, विचार गरेस् ।’
‘हैन, आमा !
प्रेम अमर र चोखो हुन्छ ।’
मैले तर्क गरेँ ।
आज पिरतीले रुवाएर
मुर्दा बनाएपछि
आफ्नै आँसुको नदीमा बग्दै छु म ।