साहारा साकोसमा प्रोबेसनको २२औँ कार्यशाला



साहारा साकोस मन्थलीको आयोजनामा २२औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाको गौरिशंकर क्लष्टरअन्र्तगत रामेछाप र दोलखाका आधा दर्जन सहकारीहरुको रोहबरमा आज उक्त कार्यशाला भएको हो ।

सबै सहकारीहरुलाई प्रोवेसन मापदण्डभित्र ल्याएर उनीहरुका कामलाई पारदर्शी, सुशासनमैत्री र शेयर सदस्यमुखी बनाउने मुख्य उद्देश्यका साथ केन्द्रीय बचत संघले विभिन्न विधा र क्लष्टरमा विभाजन गरी काम गर्दै आएको छ ।

यसका लागि केन्द्रले तय गरेको मापदण्डका आधारमा छनोटमा परेका हरेक सहकारी कार्यालयमा बैठक गरी उनीहरुको विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दा संस्थागत रुपमा भए गरेको कामको समीक्षा र प्रगतिका बारेमा सबै सहकारीले सामूहिक रुपमा लिखित प्रतिवेदन प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैठकमा सहभागी सहकारीहरुले उनीहरुको संस्थागत प्रगतिकाबारेमा लिखित विवरणको प्रस्तुति दिएका थिए । सबै सहकारीहरुले आफ्नो नीतिगत अवस्था, ऋण तथा असुलीको अवस्था आदिका बारेमा पनि जानकारी गराएका थिए ।

आ–आफना सहकारीको प्रस्तुतिसँगै अरुको संस्थागत विकासमा पनि जानकारी हुने हुँदा सिकाईमा पनि अब्बलता हासिल होस् भन्नका लागि गरिएको उक्त कार्यशालामा दोलखा र रामेछापका गरी सातवटा संस्थाले सहभागिता जनाएका थिए ।

सहारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिलन कुमार घिसिङ्गको अध्यक्षता र स्वागतमा भएको उक्त कार्याशालाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि दाहालले सहकारीको अभियानलाई पारदर्शी र सुशासनमैत्री बनाउने केन्द्रीय बचतको नीतिअनुरुप यो कार्यशाला फलदायी हुने धारणा राखे ।

कार्यक्रममा जिल्ला सहकारी सघका पूर्वअध्यक्ष एवं सहकारी अभियान्ता गोविन्द घिमिरेले नेफस्कुनको यो खालको कार्याशालाले सहकारीहरुको स्वमूल्यांकन र हैसियत निर्धारण हुने भएकोले पनि यसको परिणाम सुखद हुने विश्वास व्यक्त गरे ।

कार्याशालामा रामेछापका साहारा साकोस मन्थलीको अलावा जनहित साकोस, खिम्ती, बेताली साकोस बेताली र दोलखाका अर्थभूमि साकोस चरिकोट, जनउपकार साकोस जुगु, जनजागरण साकोस मिर्गेले आफ्नो संस्थाको संस्थागत प्रगति प्रस्तुत गरेको आयोजक संस्था साहारा साकोसका व्यवस्थापक किरण सागर घिसिङ्गले जानकारी दिए ।

कार्यशालासँगै आफ्नो संस्थाले यस वर्ष प्रोफेसन मापदण्ड पूरा गर्ने चरणमा रहेको जानकारी पनि व्यवस्थापक घिसिङ्गले दिए ।