‘एउटा यस्तो प्रेम कहानी’ गज्जब बनेको छ : अभिनेता शिव श्रेष्ठ



कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमाघरहरु भोलि माघ १ गतेदेखि खुल्दै छन् । यससँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रको प्रदर्शनका बारेमा न्यूज एजेन्सी नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको सिने क्षेत्र चलायमान हुने बताए । हामीले नायक एवं निर्माता श्रेष्ठलाई यस्तो कठिन पस्थितिमा सिनेमा किन बनाउनु भयो भनेर सोधेका छौँ ।

(कुराकानीको सम्पादित अंश)

प्रश्नः तपाईंलाई धेरै–धेरै शुभकामना तथा बधाई, यो विषम परिस्थितिमा सिनेमा लिएर आउनुभयो ?

उत्तरः हो समय अलि फरक नै छ । तर, आश्चर्य मान्नुपर्ने त्यस्तो पनि छैन । कोभिडको समयमा सबैले आफ्नो क्षेत्रबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखेर हामी अगाडि आएको हो । कलाकारले कला क्षेत्रबाट अगाडि आउने बेला हो यो । सिनेमा हेर्न सुरुमा दर्शक आउदैनन् कि भन्ने डर हाम्रो टिममा पनि थियो । तर, यो सिनेमाको प्रदर्शनले धेरै क्षेत्रको ढोका खोल्छ भन्ने लाग्यो । यसरी सबै क्षेत्रलाई चलायमान बनाउने देखेर हामीले प्रदर्शन गर्ने हिम्मत गरेको हो ।

प्रश्नः कोरोनाको जोखिम बढेको बेला नयाँ कलाकारको सिनेमा, लगानी जोखिममा परेन र ?

उत्तरः जोखिम त छ । तर, हामी मनोरञ्जनको क्षेत्रबाट यहाँसम्म आएका हौं । म आफैं विगत ४० वर्ष देखि काम गर्दै आइरहेको छु । जोखिमभन्दा पनि कर्तब्य सम्झेर पनि आएको हुँ ।

प्रश्नः अलिकति सिनेमाको कुरा गरौं, कस्तो छ कथावस्तु, नयाँ कलाकारलाई ल्याउनु भएको छ ?

उत्तरः ‘एउटा यस्तो प्रेम कहानी’को कथावस्तु उत्कृष्ट छ । मेरो छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले अभिनय गर्नुभएको छ । हामी कलाक्षेत्रका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई दर्शकसामु ल्याएका छौँ । यसमा पुराना र स्थापित कलाकारहरुले पनि अभिनय गर्नुभएको छ । सिनेमा कमर्सियल विधामा बनेको छ । खासमा गज्जब बनेको छ ।

प्रश्नः फेरि पनि भर्खर हल खुल्दै छ, नयाँ सिनेमा हलमा लगाउन हतार भएन र ?

उत्तरः यो समयमा सिनेमा ल्याउनु मेरा दर्शकको लागि हो । मलाई ४० वर्ष देखि दिएका माया र विश्वासलाई कर्तव्य सम्झेर पनि यो समयमा सिनेमा लिएर आएको हँु । मलाई बनाएको दर्शकले हो, मैले दर्शकलाई मनोरञ्जन दिनुपर्छ । मेरो फिल्म हेर्न दर्शक हलसम्म आउनुहुन्छ । कोरोनाको कारण घरभित्र उकुस–मुकुस भएर बस्नुभएका दर्शकलाई नयाँ ताजा सिनेमा दिएको छु ।

प्रश्नः अन्तिममा, यो सिनेमाको प्रदर्शनसँगै सिनेक्षेत्रमा कस्तो प्रभाव पर्छ के भन्नुहुन्छ ?

उत्तरः यो सिनेमाको प्रदर्शनसँगै बन्द भएका, रोकिएर रहेका कामहरु सुचारु गर्न बाटो खोल्छ । अब केही गर्नुपर्छ चुप लागेर बस्नुहुन्न भन्ने सन्देश प्रवाह गर्छ । साथै सिने क्षेत्रका प्राविधिक कलाकारहरुले काम पाउने वातावरण बन्छ । हामीले प्राविधिक कलाकारहरुलाई काम पनि दिनु छ । मैले पनि सिनेमाको प्रदर्शन पछि संकलन हुने केही रकम प्राविधिकहरुलाई सहयोग गर्नेछु । यस्तै अहिलेको अवस्था सिर्जना गर्न नेपाल सरकारले गरेको सहयोगलाई धन्यवाद दिन्छु ।