यूरोपमा कोरोना खोपको अभाव, खोप अभियान रोकियो


हरेकपल January 24, 2021

एजेन्सी । यूरोपका विभिन्न देशमा कोरोना विरुद्धको खोपको अभाव भएको छ । खोप अभाव भएपछि अभियान स्थगित गरिएको छ ।

बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन गरेको छ । युरोपका विभिन्न देशमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको छ ।

अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । संक्रमितको संख्या बढ्दै गएको बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा अभियान प्रभावित भएको हो ।

यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।

गत साता फाइजरले केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।

इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली युनियनले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।