दुई समूहमा विभाजित पार्टीलाई एकीकरण गर्न अभियान चलाइरहेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नै नेतृत्वमा अभियानको घोषणा गर्न लागेका छन् ।
उनले अभियान घोषणाका लागि माघ १४ गतेको मिति तय गरेका छन् । अहिले उक्त अभियानमा जोडिन चाहने नेताहरुको नामावली संकलन भइरहेको छ।
गौतम निकट पत्रकार विश्वमणि सुवेदीका अनुसार गौतमले आफ्नै संयोजकत्वमा ५०१ सदस्यीय एकता अभियान केन्द्रीय कमिटी बनाउने तयारी गरेका छन् ।
बुधबार बिहान ११ बजे धोवीघाटको सिद्धार्थ कटेजबाट पार्टी एकता अभियान घोषणा गरिनेछ । अभियानले दुवै समूहका शीर्ष नेतालाई भेटेर छलफलका लागि वातावरण तय गर्नेछ ।
नेकपा नफुटेसम्मका उक्त अभियानमा क्रियाशील रहने र फुट भएपछि कुनै एक समूहमा लाग्न अभियानका नेतालाई छुट दिइने बताइएको छ ।