वकिललाई ‘बाजे’ र बहसलाई ‘तमासा’ भनेका कारण प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा


हरेकपल January 24, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको बहस गर्ने वकिललाई ‘बाजे’ र बहसलाई ‘तमासा’ भनेका कारण प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता हुने भएको छ ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीले अदालत र इजलासको सम्मान गर्नुपर्नेमा इजलासलाई निन्दा र हास्यको विषय बनाइएको तर्क गर्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले सो निवेदन दर्ता गर्न लागेका हुन् ।

आचार्यले आजै रिट निवेदन दर्ता गर्न प्रयास गरे पनि समयअभावका कारण मुद्दा दर्ता भएन । सो मुद्दा दर्ता हुने कि नहुनेबारे अदालतले भोलि ११ बजे जानकारी दिने निवेदक शर्माको भनाइ छ ।

उनले निवेदनमा भनेका छन्– सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य हुँदैन । त्यसैले म कसैको तर्फबाट पनि वकालतनामा नलगाएर अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा तटस्थ बसेको एक जिम्मेवार कानुन व्यवसायीले विपक्षीको अमर्यादित बोली र व्यवहारले अदालतको अवहेलना भएको महसुस गर्दै अदालत र इजलासको साख बचाउन आफैँ यो निवेदन गर्न आएको छु ।

‘मैले दिएको प्रस्तुत निवेदनको आधारमा विपक्षीका विरुद्ध आवश्यक कार्यविधि अपनाई स्वयम् अदालतमा झिकाई विपक्षीलाई सम्मानित अदालतबाट अदालतको अवहेलनामा कारवाही चलाई निजलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजायसमेत गरी पाउँन सम्मानित अदालतलाई सादर अनुरोध गर्दछु,’ उनले निवेदनमा भनेका छन् ।