सहज अवतरणको बाटो




अहिले नेपाली राजनीति जटिल मोडमा पुगेको छ । स्वयं प्र.म. के.पी.शर्मा ओलीले मेरो ज्यान सुरक्षित छैन भन्नुभएकाले अब अरु को सुरक्षित हुने ? यो अवस्था भनेको ज्यादै जटिल हो । यो अवस्थामा मुलुकलाई राख्नु भनेको कसैको हितमा हुँदैन । अहिलेको वास्तविकता भनेको ने.क.पा.ले नेपाललाई अनिर्णयको बन्दी बनाएको महिनौँ भइसकेको छ ।

के.पी. ओली, प्रचन्ड, माधव नेपाल र झलनाथ खनाल ने.क.पा.का अध्यक्ष र वरिष्ठ नेता हुनुहुन्छ । तर, के.पी. शर्मा ओली ने.क.पा.को अध्यक्ष मात्र नभएर नेपालको प्रधानमन्त्री पनि हुनुहुन्छ । यसअर्थमा राष्ट्रपति विद्यादेवी भण्डारी र के.पी.शर्मा ओली राष्ट्रकै सर्वोच्च व्यक्ति हुनुहुन्छ । उहाँहरुबाहेक अरुले दलको मात्र वकालत गरे पनि पच्न सक्छ । तर, राष्ट्रपति र प्रधानमन्त्रीले पूरै नेपाल र नेपालीको भलो गर्ने काम गर्नुपर्छ । किनभने राष्ट्रपति नेपालको संविधानको पालक र प्रधानमन्त्री राष्ट्रकै कार्यकारी प्रमुख हुनुहुन्छ । यस अर्थमा उहाँहरुको र अरुको भूमिका फरक छ । यस दृष्टिले वर्तमान डेडलक अवतरणको सहज निकास उहाँहरुले नै दिन जरुरी हुन्छ ।

यी पंक्ति लेख्दासम्मको अवस्था हेर्दा ने.क.पा.का स्वघोषित अलग समूहका बीच मल्लयुद्ध नै चलिरहेको छ । दुवैैका बीच दलबाट एकअर्कालाई निष्कासनसम्मका काममा तीव्र प्रतिस्प्रर्धा देखिएको छ । मुखको जुहारी नेताहरुमा मात्र नभएर कार्यकर्ता र समर्थकसमेतमा छताछुल्ल भएका दृश्य दिनरात फेसबुकसमेतका सञ्चार माध्यमहरुमा आइरहेका छन् । अहिलेसम्मका यी रुप हेर्दा फागुन २३ गतेदेखि हुने संसदमा प्रत्यक्ष मल्लयुद्ध भयो भने पनि आश्चर्य मान्नुनपर्ने भएको छ । यदि यस्तो दुर्भाग्य भयो भने योभन्दा नराम्रो के होला ?

गत पुस ५ गते अनायास संसद विघटन गरेयता संसारको नजर नेपालमाथि परिरहेको छ । त्यसमा पनि छिमेकी मुलुक भारत र चीनका साथै टाढा भए पनि मित्रराष्ट्र अमेरिकाकाले त सूक्ष्म नजरले नेपाललाई निहालिरहेको अवस्था छ । यस अर्थमा नेपालको वर्तमान नेतृत्वका कारण अनावश्यक ढंगले नेपालमा राजनीतिक दुर्घटना भयो भने यसको परिणाम नसोचेको पनि हुन सक्छ । यसअर्थमा नेतृत्व बेलैमा सजग हुन जरुरी हुन्छ । समय छँदै सोचेर सम्हाल्न सकिएन भने आफूसमेत मुलुकै बर्बाद हुन बेर लाग्दैन । यसअर्थमा सर्वोच्च पदमा आसीन हुनुभएका व्यतिmत्वले विषेश संवेदनशील हुन जरुरी भइसकेको छ । जसले गर्दा वर्तमान संकटको सहज अवतरण हुन सकोस् ।

जहाँसम्म फागुन ११ गतेको संसद पुनस्र्थापना सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसलाको चौथो बुँदालाई पनि थाती नराखेर अरु बुँदाझैँ खुलस्त गरिदिएको भए सुनमा सुगन्ध हुने थियो । यसो भएको भए अहिलेसम्म प्र.म ओलीले राजीनामा दिइसक्नुहुने थियो र मुलुकले निकास पाइसकेको हुने थियो । अहिले प्र.म. ओली यसैलाई आधार बनाएर अदालतले मलाई राजीनामा दिनु भनेर कहाँ भनेको छ ? भनिरहनुभएको छ । यही नभएकाले नेपालमा अहिलेसम्म अन्योल कायम रहेको छ । अदालतले किन त्यसो गरेको हो भन्ने पाटो पछि खुल्ने नै छ ।

तर, अहिलेलाई यसलाई स्वयं प्र.म. ओलीले गलत अर्थ नलगाई राजनीतिमा नैतिकता अभिन्न अंग हुन्छ र भएको छ भन्ने विश्वव्यापी अभ्यासलाई आत्मसात गरेर नैतिकता प्रदर्शन गरेर प्र.म. पदबाट राजीनामा दिनु श्रेयष्कर देखिन्छ । किनभने हालै प्र.म. ओलीले गृहजिल्ला झापाको भ्रमणमा केही गरी म प्र.म.बाट बाहिरिन परेमा शीघ्र हुने निर्वाचनमा म दुई तिहाइ मतको प्र.म. बन्छु भन्नुभएको छ । जनतालाई खुसी नपारे कसरी दुईतिहाइ मत ल्याएर चुनाव जित्न सकिन्छ ? दुईतिहाइ ल्याउँछु भनेको राम्रो उद्घोष हो । यो प्रशंसाा गर्न लायक भनाइ हो । अहिले केही अपुग दुईतिहाइ पनि पूरा हुने र अब बन्ने दुईतिहाइको प्र.म. बनेर अहिलेको भन्दा राम्रो काम गर्न पनि पाइने । यसका लागि अहिले नै नेपाली जनताको मन जित्ने राम्रो काम गरेर देखाउन आवश्यक पर्छ । यो भनेको अहिले लामो समयदेखि मुलुकमा परेको संकटको सहज अवतरण गर्नु हो ।

यसका लागि प्र.म. ओलीले स्वघोषित राजीनामा गर्नुपर्ने हुन्छ । यसो गरे सहज अवतरण हुनेछ । यसो गरियो भने अहिले मुलुकमा भइरहेको लामो र जटिल संकटको सहज समाधान हुनेछ । त्यति मात्र नभएर सम्मानीत सर्वोच्च अदालतले प्र.म. ओलीलाई दिएको छुटको पनि सम्मान हुनेछ । यो सम्मान अदालतको साथसाथै स्वयं प्र.म. आफैँलाईसमेत हुनेछ । यसो भयो भने कथनी र करणीमा मेल खाने र अहिले ओलीसँग रुष्ट रहेको ठूलो जत्था अचानक सकारात्मक हुने सम्भावना बन्छ । यसो गरियो भने अहिले बिग्रन लागेको ओलीको राजनीतिमा सकारात्मक मोड आएर स्वयं ओलीका साथै ने.क.पा.कै भविष्य उज्ज्वल हुने सम्भावना बढेर जान्छ ।

हिजो संसद जे नियतले विघटन गराएको भए पनि अदालत नबोलेकाले स्वयं ओलीले नै बुझ्नुपर्ने भएको छ । जहाँसम्म प्र.म.मा रहिरहने कुरा छ, विवादै गरिरहँदा केही गरी प्र.म.मा रहन सकिएन भने सबैकुरा सकियो । विवाद जितेर रहियो भने पनि के जितिएला र ? आखिर राजनीति नै गर्ने हो भने ढिलो–चाँडो चुनावमै जाने हो । चुनावमा जाने भनेको नेपाली जनतामै जाने हो । यसो हुने हुँदा जसरी पनि यिनै जनतालाई खुसी पार्नु पर्ने हुन्छ । यो भनेको सधँै विवाद र झगडा गरेर त जनता खुसी पक्कै हुँदैनन् । संसारमा खुसी बन्ने र बनाउने सूत्र भनेको मेलमिलाप नै हो । अहिले मेलमिलापको अस्त्र भनेको राजीनामा नै देखिन्छ । अहिले प्र.म. ओलीले राजीनामा दिँदा ने.क.पा.मा मेलमिलापको सम्भावना हुनेछ ।

यसो भयो भने निर्वाचन आयोगको टाउको दुखाइ पनि ठीक हुनेछ । यही टाउको दुखाइले निर्वाचन आयोगले यति लामो समयसम्म आफूले गर्नुपर्ने काम पनि गर्न सकेन र नेपाललाई नै अनिर्णयको बन्दी बनाएको छ । त्यसैले समग्रमा बल प्र.म. ओलीको कोर्टमा छ । उहाँले राजीनामा दिएर गोल गर्नु भयो भने तत्कालका लागि सहज अवतरण हुनेछ । भोलिको भने कसैको ठेगान हुँदैन । राजनीतिको त झन् के ठेगान ?

(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ)