मित्रसेन दाहालसँग आश्रममा भेट्ने योजना अधुरै रह्यो



मित्रसेन दाहालको नाम संचार माध्यमबाट सुनिरहेको नाम थियो । सम्भवतः ई. सं. २००४ को कुनै दिन हो, जतिबेला म काठमाडौँमै बस्थेँ । मेरा मित्र अरुण सुवेदीले मित्रसेनले भेट्न खोज्नु भएको छ, समय मिले उहाँसँग भेटौँ भन्ने खबर गर्नुभयो । म उहाँको घर पुगेँ । हँसिलो मुद्रामा स्वागत गर्नुभयो । भाउजूसँग परिचय भयो । त्यहाँ आतिथ्यताका साथसाथै भलाकुसारीमा पारिवारिक कुरा गरियो । उहाँका सामाजिक, राजनीतिक, सहकारी अभियानका बारेमा धेरै कुरा जानियो ।

त्यसपछि एकदिन उहाँका कुनै एक मित्रको कार्यालयमा ठमेलमा भेट भएको थियो ।



प्रवासमा आएको धेरैपछि सन् २०१५ मा हामी फेसबुकबाट फेरि जोडिएका थियौँ । बेलाबखत जे. पी. प्रतिष्ठान मैत्री सेवा आश्रमको भ्रमण गर्न र त्यस सत्कार्यमा जोडिन अनुरोध गर्दै आउनु भएको थियो । मैले हवस् भन्दै आएँ । तर नेपाल जाँदा कहिले मौका मिलेन ।  त्यस महान् कामको तस्बिर, समाचारहरू पढिरहँदा उहाँप्रति गौरव लागिरहन्थ्यो । साथीभाइबीच चर्चा गरिरहन्थेँ । सधैँ अब नेपाल जाँदा लफ्सेफेदी जान्छु जस्तो लाग्थ्यो । तर त्यो अवसर कहिल्यै जुरेन । अचानक उहाँको  मृत्युको दुःखद खबर सुनेँ । हत्प्रभ भएँ । अघिल्लो दिन नै उहाँको स्टाटस पढेको थिएँ कोरोना खोप लगाएको भन्ने बारेको ।

झटपट उहाँको फेसबुक हेरेँ । कुनै नयाँ स्टाटस थिएन, जो अब कहिले नआउने भैसकेको रहेछ । मेसेन्जर बक्स खोलेँ । मैले नहेरेको एउटा मेसेज रहेछ – जन्मदिनको हार्दिक शुभकामना !  फेब्रुअरी १, २०२१ को मेसेज थियो त्यो । उहाँले पढ्न सक्ने बेलासम्म त्यस बापत धन्यवाद नलेखेकोमा पछुतो लाग्यो ।

धन्यवाद मित्र मित्रसेन ! अल्पआयुमै  चिरञ्जीवी कीर्ति छोडेर जानुभयो । तपाईंको समाजप्रतिको संकल्प र योगदानले हामी सबैलाई प्रेरणा दिई रहनेछ ।

                                                           (नाईजेरियामा रहनु भएका थापा एनआरएनएका पूर्व कोषाध्यक्ष हुनुहुन्छ ।)