साहित्यमा यौनलाई झिकिदिने हो भने पञ्जा लगाएर कन्याए जस्तो हुन्छ



सुपरिचित साहित्यकार लव गाउँलेको जन्म वि.सं. २०१६ साल असार ५ गते काठमाडौँको फुटुङ, जयन्तीपुरमा भएको हो । वि.सं. २०३४ सालमा मातृभूमि साप्ताहिक पत्रिकामा ‘अतीत र वर्तमानलाई दाँज्दा’ शीर्षकको कथा प्रकाशित गरेर साहित्यमा औपचारिक प्रवेश गरेदेखि आजसम्म उहाँ यस क्षेत्रमा अनवरत रूपमा समर्पित हुनुहुन्छ । चार दशकभन्दा बढी समय साहित्य सिर्जनामा बिताउनुभएका सिर्जनशील र परिपक्व गाउँलेको जीवनचर्या कस्तो छ त ? पहिले हामी त्यो बुझौँ ।

अहिलेसम्ममा कथासङ्ग्रह, उपन्यास, कवितासङ्ग्रह, मुक्तकसङ्ग्रह र गैर आख्यान गरी उहाँका आधा दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् । पछिल्लो कृति ‘अस्ट्रेलिया ब्लुज’मा उहाँले अस्ट्रेलियामा केही समय रहँदाका अनुभूतिहरूलाई लिपिबद्ध गर्नुभएको छ । नेपाली साहित्यिक द्वैमासिक ‘समीरण’का माध्यमबाट उहाँले नेपाली साहित्यिक पत्रकारितालाई पनि निरन्तरता दिइरहनुभएको छ ।

गाउँलेका रचनामा यौनका विभिन्न पाटाको चित्रणका साथसाथै समाज र राजनीतिका विभिन्न किसिमका विकृति र विसंगतिमाथि प्रहार गरिएको पाइन्छ । आख्यान होस् वा काव्य उहाँको लेखनमा चस्स छुने गुण हुन्छ । भावलाई प्रभावकारी र सम्प्रेषणीय ढङ्गले पस्किन जान्ने गाउँलेको लेखनी सरल, सहज हुनाका साथै मिठासयुक्त हुन्छ । आगामी दिनमा उहाँको लेखनी अझ सशक्त, अझ कलात्मक र अझ मिठासयुक्त हुन्, भन्दै हरेकपल टेलिभिजनका तर्फबाट उहाँको लेखनीको निरन्तरताको कामना गर्दछौँ ।

भिडियो हेर्नुहोस्