राज सागरले ल्याए विभेदविरुद्धको गीत ‘ए मान्छे…’ (भिडियोसहित)


हरेकपल March 23, 2021

काठमाडौं । गजल र आधुनिक सङ्गीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको साङ्गीतिक कोसेली ‘ए मान्छे !’ सार्वजनिक गरेका छन् । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक साङ्गीतिक भिडियो सार्वजनिक गरेका हुन् ।

चर्चित लेखक आहुतिको शब्द रहेको ‘ए मान्छे…’ २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नुृ परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याइ छ । मर्यादा मिडियाको प्रस्तुति रहेको साङ्गीतिक भिडियो राजसागरकै सङ्गीतमा तयार कोसेली हो । अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो रूपी जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरूप गीति कोसेली ल्याएको गायक राज सागर बताउँछन् ।

‘माया पिरतीका धेरै गीत गाइयो, ताली पनि पाइयो, नाम र दाम सबै पाइयो तर समाजलाई के दिन सकियो भन्ने आफैँ भित्रको प्रश्नको उत्तर हो यो मेरो ‘ए मान्छे…’ गायक राज सागर रोमाञ्चित हुँदै थप्छन्, ‘मान्छेहरू जातकै कारण मारिने क्रम नरोकिँदा आफूले साङ्गीतिक क्षेत्रबाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।’

संजीव बराइलीको सङ्गीत संयोजनमा प्रस्तुत गीत भ्वाइस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।