दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा किशोरको मृत्यु


हरेकपल April 5, 2021

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गएराति हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।