कोमलले गरिन् आफ्नै तारिफ– वाह कोमल तिमी कति राम्री छौ


हरेकपल April 11, 2021

काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनले शनिवार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका एवं सञ्चारकर्मी कोमल ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।

कार्यक्रममा शुभकामना दिँदै ओलीले स्थापना कालदेखी नै आफू श्रृजना पोखरेलले सञ्चालन गर्दै आएको सिल्क फेसनसँग जोडिएको बताइन् । ‘म शुरुदेखि नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु । म यहाँका कस्ट्युम लगाउन पाउँदा भाग्यमानी ठानेकी छु,’ कोमलले भनिन् । ओलीले आफ्नो सुन्दरताको तारिफ आफैँले गरिन् । अन्य महिलाहरुलाई प्रेरणा प्रदान गर्ने उद्देश्यसहित उनको भनाइ थियो, ‘मैले आफूले आफूलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु । वाह कोमल ओली तिमी कति राम्री छौ भन्छु,’ उनले थपिन्, ‘आफैँले आफैँलाई प्रेम गरेन भने अरुलाई पनि प्रेम दिन सकिँदैन । आँखाहरुलाई इर्ष्यालु नबनाउन आफैँलाई हेरेर दंग पर्नुपर्छ ।’

नेपाली डिजाइनका कस्ट्युमहरु विकसित देशमा महिला तथा पुरुषहरुले लगाउन थालेको भन्दै ओलीले महिला उद्यमीहरुको सहभागिता र प्रयासले उक्त कुरा सम्भव रहेको बताइन् । ‘अहिले महिलाहरुको सहभागितामा विदेशमा नेपालमा गरिएका डिजाइनका कस्ट्युमहरु निर्यात भईरहेको छ । यो उर्जाशील कुरा हो र राष्ट्र निर्माणमा ठुलो योगदान हो । म हरेक महिला उद्यमीको साथमा छु । केहि पर्यो भने सीधै भन्नुहोला, म तपाईँकै प्रतिनिधि हुँु, कोमलले बताइन् ।

कार्यक्रममा सिल्क फेसनकी सञ्चालक श्रृजना पोखरेलले विगत सात वर्षदेखी आफ्नो डिजाइनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताइन् । नेपालका चर्चित सेलिब्रेटीहरुको लागि समेत डिजाइन गर्ने पोखरेलले सिल्क फेसनले अब भने पुरुषको कस्ट्युममा समेत काम गर्ने योजना भएको बताइन् ।

गायिका सुनिता दुलालले आफू सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । सिल्क फेसनद्वारा सम्मानित समेत भएकी उनले भनिन्, ुयहाँमा हरेक डिजाइन र गुणस्तर तारिफयोग्य छन् । आज यहीँ सम्मानित हुन पाउँदा खुशी लागेको छ ।’

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी रमिला आचार्य थिइन् । गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यावसायि सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायी शैलजा अधिकारीलाई सातौँ वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको थियो । कार्यक्रममा गायिका सहिमा श्रेष्ठ तथा मोडल खुश्बु खड्काको पनि उपस्थिति थियो ।