कृष्ण धरावासी र शार्दूल भट्टराईलाई स्रष्टा सम्मान–२०७७


हरेकपल April 12, 2021

‘स्रष्टा, चैत्र ३० ले’ एक विज्ञप्ति जारी गर्दै स्रष्टासम्मान २०७७ साहित्यकार द्वय कृष्ण धरावासी र शार्दूल भट्टराईलाई दिने घोषणा गरेको छ । लोकतन्त्रका लागि योगदान पुर्याउने विशिष्ट लोकतान्त्रिक स्रष्टालाई सम्मान गर्दै आएको यस संस्थाले कोरोना कहरका कारण सम्मान प्रदान भने अनुकूल समयमा गर्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘प्रत्येक वर्ष चैत्र ३० गतेका दिन लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा नेपाली जनताले देखाएको अद्वितीय संघर्ष र वलिदानको ‘स्रष्टा, चैत्र ३०’ ले स्मरण गर्दै आएको छ । सोही समयमा वैचारिक बहस, चिन्तन, र लेखनले मात्र नभएर भौतिक उपस्थितिको रूपमा समेत स्रष्टाहरूले दिएको उल्लेख्य योगदानलाई पनि स्मरण गरिआएको छ । स्रष्टा आन्दोलनलाई निरन्तरता, सबै किसिमका निरङ्कुशता र शोषणका विरूद्ध सङ्घर्ष, प्रत्येक नागरिकको पहिचान र मर्यादा हुने समाजको निर्माण, समाजलाई अग्रगमन र परिवर्तनको दिशा प्रदान, स्रष्टाहरूको नयाँ भूमिकाको खोजी, सिर्जनात्मक वैचारिकता, र, स्रष्टा आन्दोलनको अभिलेखीकरण जस्ता पक्षमाथि छलफल र बहस पनि गर्दै आएको छ ।’

निरङ्कुशतन्त्रको विरोधमा उत्रिने क्रममा जनआन्दोलन–२ को समयमा २०७६ साल चैत्र ३० गते सर्वसत्तावादी सरकारले सडकमा उत्रिएका स्रष्टाहरूमाथि गोली प्रहार गरी नृशंश दमन गरेको थियो । त्यस समयको संघर्षको उत्कर्षलाई सम्झना गर्दै ‘स्रष्टा, चैत्र ३०’ स्थापना गरिएको हो ।