रोशन थापा ‘नीरव’ले ल्याए मस्तिष्कले पढ्नुपर्ने कृति ‘कोष्ठकभित्रको हाँसो’


हरेकपल April 12, 2021

काठमाडौं, नेपाली आख्यान साहित्यमा प्रयोगशील लेखनका रूपमा सुप्रसिद्ध रोशन थापा ‘नीरव’को कथासङ्ग्रह ‘कोष्ठकभित्रको हाँसो’ नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा लोकार्पण गरिएको छ । कथासङ्ग्र्रहको लोकार्पण आख्यानपुरुष डा। ध्रुवचन्द्र गौतम, समालोचक महेश पौड्याल र अनुपमा रेग्मीले संयुक्त रूपमा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमले निरवका कथामा पाइने प्रयोगशीलताको चर्चा गर्दै भन्नुभयो, ‘निरवका कथा जीवनलाई अलग्गै ढङ्गले हेर्ने तरिका पनि हो । जीवनलाई अलग्गै ढङ्गले हेरेर लेख्दा शैली फरक पनि हुन्छ । यस सङ्ग्रहका कथा साँच्चै नै अलगै खालका छन् । यसै पनका कारणले हामीपछिको लेखनको केही नाम भन्नुपर्दा म रोशन थापा ‘नीरव’ को नाम सजिलैसँग लिन्छु । मेरो दृष्टिमा नीरव अहिलेको नेपाली आख्यानको एक सशक्त नाम हो ।’

समालोचक महेश पौड्यालले कृतिको नामका बारेमा अर्थ्याउँदै भन्नुभयो, ‘हजारचोटि मरिरहेको पात्रको डायरी हो – कोष्ठकभित्रको हाँसो । आफैँप्रति हाँस्नुको प्रतिबिम्बन हो– कोष्ठकभित्रको हाँसो । के कथा लेख्ने रु– भन्ने प्रश्नहरूको उत्तर हो – कोष्ठकभित्रको हाँसो । यस सङ्ग्रहभित्रका कथाहरू विसंगत लेखन हुन् तर विसंगतिको लेखन होइन, संगतिको खोजीको लेखन हो । यी कथाभित्र आदर्शको लागि कुनै कुनै जमिन छैन । मस्तिष्कले पढ्नुपर्छ यी कथाहरू, हृदयको त्यति काम छैन ।’

लोकार्पित कृतिमाथि प्रकाश पार्दै समालोचक अनुपमा रेग्मीले भन्नुभयो, ‘यसभित्रका कथाहरू कथामात्र होइनन्, समालोचना पनि हुन् । कथा स्वयं समालोचना भएर उपस्थित छ धेरै ठाउँ । यी कथाले पाठकीय प्रतिक्रियालाई पनि स्वागत गर्छन् । कथाका अनन्त अर्थहरू छन् । कोष्टकभित्रको हाँसो कस्तो हुनपर्छ भन्ने अनेकौँ अनुमान लगाउन सक्छौँ । यो नेपाली साहित्यमा विनिर्माण र उत्तरआधुनिकताको अध्ययन गर्न चाहनेका लागि एउटा उदाहरणीय पुस्तक हो ।’

प्रयोगशील लेखकको प्रयोगशील कृति लोकार्पणमा पनि केही नवीन प्रयोग गरिएको थियो, जस्तो कि समारोहमा सभापति राखिएको थिएन । लेखकको अनुमति लिएर साहित्यकार सन्ध्या पहाडीले कार्यक्रम सञ्चालन र समापन गर्नुभएको थियो ।

सात खण्डमा विभाजित गरिएको यस कथासङ्ग्रहभित्र जम्मा ३५ वटा कथा समेटिएका छन् । ‘शिखा बुक्स’ले बजारमा ल्याएको यस कृतिको मोल ४७५ रुपैयाँ हो ।