चर्च ब्वाइज युनाईटेड बी डिभिजनमा बढुवा


Harek Pal April 12, 2021

चर्च ब्वाइज युनाईटेड सहिद स्मारक सी डिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।

ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन रुजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काएका थिए ।

च्याम्पियन हुँदै बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्दा दोस्रो भएको विरगञ्जले ७ लाख र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पार्‍यो ।


चर्च ब्वाइज यसै सिजन सि डिभिजनमा बढुवा भएको थियो । एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो । यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन् । खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । सामाजिक भने २ वर्षपछि बी डिभिजनमा उक्लिन सफल भएको छ ।


प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक सी डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् । यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुनेले जनही २५÷२५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड सहित ५० हजार रुपैयाँ प्राप्त ग¥यो । सानोगौचरण युवा क्लब सि डिभिजनबाट पनि घटुवा भएको छ ।