ललितकला लेखनलाई प्रभावकारी बनाउन एक दिवसीय कार्यशाला


हरेकपल April 25, 2021

काठमाडौं । ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले ललितकलालाई आममानिससम्म पु¥याउन लेखनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए । कुलपति कर्माचार्यले भने, ‘हरेक वर्ष प्रतिष्ठानले गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीको चाहेजसरी प्रचार प्रसार हुन नसकेको छैन । जसरी खेलकुद भएन भने नेपाली समाचारमा अपुरो हुन्छ त्यसरी नै कला लेखनविनाका नेपाली मिडिया अधुरो हुन्छ ।’ उनले कलालेखन सञ्चार माध्यमका लागि महत्वपूर्ण विधा भएकोले जनमानसमा कलाको चेतना जगाउनको लागि यसलाई पनि प्राथमिकतामा राख्नु जिकिर गरे ।

कार्यक्रमको पहिलो सत्रमा वास्तुकला तथा अन्य सृजनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले सही ढंगले कलालेखन भएमा मात्रै कलाको चर्चा परिचर्चा आममानिससम्म पुग्न सक्ने भनाइ राखे । उनले भने, ‘कलालेखन पत्रकारिताको सौन्दर्य भएकाले यो विधाको सशक्त रुपमा विकास हुनुपर्दछ । साथै सञ्चार माध्यमले यस विधालाई महत्व दिनुपर्दछ ।’
नेपाली कलाको ऐतिहासिकता निकै वैभवशाली रहेको बताउँदै हस्तकला विभागका प्रमुख प्राज्ञ धर्मराज शाक्यले भने, ‘कला र संस्कृतिको विकाससँगै मानिस समृद्ध बनेको हो ।’ उनले ललितकलालाई कसरी हेर्ने, बुझने, पढ्ने र कसरी लेख्ने भन्ने विषयमा केन्द्रित रहेर कार्यशाला गरिएको बताए । ‘एक दिवसीय कला लेखन कार्यशाला–२०७८’ मा पाँच जना विज्ञले अवधारणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा समालोचक उपप्राध्यापक तेजविलास अधिकारीले ‘समाज र ललितकला’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै मानिसले दैनिक जीवनलाई सहज बनाउन हस्तकलाका सामान बनाउँदै आएको बताए । उनले कलाको प्राज्ञिक तथा उपयोगिताको महत्वका बारेमा चर्चा गर्दै कलाले नै मानिसलाई परिचित बनाउन सकेको जिकिर गरे । उनले कलाको प्रकार र प्रयोग क्षेत्र, साहित्य र कलाको सम्बन्ध, हस्तकलाः साहित्य र समाज निर्माणको आधार, कलामैत्री पाठ्यक्रम लगायतका पक्षमाथि प्रकाश पार्दै कलालाई राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए । अधिकारीले थपे, ‘कलाले मानिसलाई सिर्जनशील र सभ्य बनाउने भएकाले यसको विकास, प्रवद्र्धन र संरक्षणमा प्राज्ञिक क्षेत्रबाट सही ढंगले खोज अनुसन्धान हुनुपर्छ ।’

‘कला पत्रकारिताको अन्तर्य’ विषयमा कलाकार तथा कलालेखक केशव राज खनालले कार्यपत्र प्रस्तुत गर्दै लेखनले मात्रै कला र कलाकारलाई समाजमा परिचित बनाउन सहयोग पुग्ने जिकिर गरे । उनले नेपालमा कला पत्रकारिताको इतिहासदेखि वर्तमान अवस्था, कला पत्रकारिताका चुनौती, निराकरणका प्रयास र अबको गन्तव्यका बारेमा परिचर्चा गरे । नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्षसमेत रहेका खनालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बेलाबखत कला पत्रकारका लागि कार्यक्रम गनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘प्रतिष्ठानले कलाकारलाई पत्रकारसँग समन्वय गराउने, बहस र कलाका विविध आयामबारे चर्चा परिचर्चा गर्नुपर्दछ । यसो गर्न सकिए यो क्षेत्रका लागि फाइदा हुन्छ ।’ उनले कलासम्बन्धी अन्य संघ संस्थाले पनि आफ्ना गतिविधिलाई कला पत्रकारिता र कलालेखन सँगसँगै लिएर जानसकेमा त्यसले ललितकलाक्षेत्रमा सशक्त प्रभाव पार्ने विश्वास व्यक्त गरे । खनालले थपे, ‘देश विदेशमा गरिने कार्यक्रममा अनिवार्य रूपमा कला पत्रकारलाई समावेश गराउने परिपाटीको विकासले कलाका बारेमा पत्रकारलाई अझै मौका मिल्ने हुँदा त्उसले समग्र कलाक्षेत्रलाई नै फाइदा पुग्दछ ।’

त्यस्तै कार्यशालामा ‘कलाकृतिः कलालेखन’ विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्दै कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले कलाका शैलीगत विकास तथा विषयगत पक्षमाथि चर्चा गरे । उनले कला लेखनमा कलाका आधारभूत सिद्धान्त तथा तत्वका विषयमा चर्चा गर्दै लेखकले माध्यम तथा सामग्रीका बारेमा जानकार हुनुपर्ने बताए । उनले कलामा हुने स्वरुप र सार (विषय) लाई बुझ्न सकेमात्रै पत्रकारिता र लेखनमा मद्दत पुग्ने धारणा व्यक्त गरे । उनले कलामा हुने मानवीय संवेग, सिर्जनात्मक अभिव्यक्ति, कलाको ऐतिहासिकताका पक्षमा परिचर्चा गर्दै उपयोगितासँग कलाको अन्तरसम्बन्धका बारेमा समेत लेखक वा पत्रकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘कला दृश्यभाषा र अनुभूतिको भाषा भएकाले यसलाई सबै दर्शक तथा मानिसले सहजै ग्रहण गर्न सक्छन् । कलाले समाज, देश, धर्म, संस्कृति, इतिहास, पुरातत्व, राष्ट्रियता, राजनीति लगायतका विषयलाई चिनाउने भएकाले यसको विशिष्ट भूमिका रहन्छ ।’

त्यसैगरी मिथिला कलाकार एससी सुमनले ‘नेपाली हस्तकलाको विविध स्वरूप’ का बारेमा कार्यपत्र प्रस्तुत लोकहस्तकलाको सामाजिक तथा सांस्कृतिक पक्षमाथि परिचर्चा गरे । उनले मैथिली कला, सुजनी लोकहस्तकला, लोकमूर्ति, भित्तिचित्र, थारु हस्तकलाका साथै नेपालका विभिन्न स्थानमा बनाइने लोकहस्तकला तथा जातीय गरगहनाले सांस्कृतिक वैभवलाई चिनाउन र फराकिलो बनाउन मद्दत गरेको सुनाए । सुमनले भने, ‘लोककला तथा हस्तकला नेपाली समाजको विविधलाई अन्तर्राष्ट्रिय स्तरमै परिचित बनाउन सकेको हो । तसर्थ यसको विकास, संरक्षण तथा प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्दछ ।’ त्यस्तै, ‘पुस्तक लेखन तथा प्रकाशन’ का बारेमा आफ्नो अवधारणा प्रस्तुत सहप्रा.डा. धनप्रसाद सुवेदीले सिर्जनशील लेखनलाई मात्रै कलाको मर्म र अन्तर्यलाई बाहिर ल्याउन मद्दत मिल्ने विचार व्यक्त गरे । उनले पुस्तक लेखनका चरण, लेखन प्रक्रिया, परिष्कार तथा परिमार्जन, पुस्तक प्रकाशन, प्रकाशक, विमोचनका चरणबद्ध प्रक्रियाका बारेमा चर्चा गरे । उनले भने, ‘पुस्तकलाई पठनीय बनाउन सिर्जनशील लेखन हुनसकेमा पाठक आकर्षित हुनसक्छन् । तसर्थ यसमा लेखक तथा पत्रकारले ध्यान दिँदा अझै प्रभावकारी बन्न सक्छ ।’

हस्तकला विभागका प्रमुख प्राज्ञ शाक्यले हस्तकलाको इतिहास, महत्व, बजार व्यवस्थापन तथा आर्थिक पक्षमाथि प्रकाश पारे । उनले भने, ‘नेपालमा प्राचीनकालदेखि नै हस्तकलाको प्रयोग व्यापकरुपमा हुँदै आएको हो । यसको विस्तार र प्रसारका लागि प्रतिष्ठानले विविध कार्यक्रम गर्दै आएको छ ।’ कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ मिथिलादेवी, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले आमसञ्चार माध्यमले कलालेखनलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । उक्त कार्यशालालाई नेपाल ललितकला पत्रकार समाज (सोफाज) ले संयोजन गरेको थियो ।