कृतिद्वारा लिखित ‘भूमिका’ बजारमा


हरेकपल April 26, 2021

ललितपुर । इन्टेरियर डिजाइनर तथा कलाकार कृति श्रेष्ठ उपाध्यायद्वारा लिखित ‘भूमिका’ नामक पुस्तक बजारमा आएको छ । आइतबार इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालका अध्यक्ष बृन्दा कक्षपति प्रधान, कलाकार तथा कला समीक्षक मुकेश मल्ल, साहित्यकार ममता मृदुल र लेखक उपाध्यायले संयुक्त रुपमा उक्त पुस्तकको लोपार्पण गरे ।

पुल्चोकस्थित एसोसिएसनको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानले नेपालमै पहिलो पटक इन्टेरियर डिजाइनका बारेमा उपाध्यायले पुस्तक ल्याएको दावी गरिन् । उनले इन्टेरियर डिजाइनका विविध पक्षलाई सहज ढंगले बुझ्न पुस्तक निकै उपयोगी रहेको बताइन् । प्रधानले थपिन्, ‘इन्टेरियर डिजाइनमा रुचि हुने र विद्यार्थीका लागि समेत पुस्तक उपयोगी हुन्छ ।’

इन्टेरियरलाई जीवनशैलीसँग जोडेर पुस्तक आएको विचार राख्दै कलाकार तथा समीक्षक मल्लले कला र इन्टेरियरलाई सँगै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले कलालाई इन्टेरियर डिजाइनसँग जोड्नु सोचबाट लेखकले पुस्तक ल्याएको बताए । उनले भने, इन्टेरियरले मानिसको व्यक्तित्वलाई पनि चिनाउने भएकाले त्यसको गाइडबुकका रुपमा पुस्तक आएको छ ।’

लेखक उपाध्यायले प्रयास गर्दागर्दै पुस्तक आएको बताइन् । उनले १८ वर्षदेखिको प्रयासले सार्थकता पाएको सुनाउँदै इन्टेरियरका आधारभूत कुरा पुस्तकमा समेटिएको जनाइन् । लेखक उपाध्यायले भनिन्, ‘पुस्तकले इन्टेरियरलाई साहित्यसँग जोड्न सकेको छ ।’ उनले कला र इन्टेरियर एक अर्काका परिपूरक भएकाले मानिसको सौन्दर्यचेतलाई समेत यिनले प्रभाव पार्ने बताइन् ।

साहित्यकार ममताले इन्टेरियर डिजाइनमा रुचि राख्ने जोकोहीका लागि पुस्तक उपयोगी रहेको बताइन् । उनले हरेक घरको उज्यालो नै नारी भएको विषयलाई पुस्तकमा चर्चा गरिएको जनाउँदै पुस्तक सानो भए पनि गहन कुरा आएको विचार व्यक्त गरिन् । उक्त विमोचन कार्यक्रमको संयोजन इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालले गरेको थियो ।