भारतलाई सहयोग गर्ने चीनको प्रस्ताव


Harek Pal May 1, 2021

एजेन्सी । चीनले भारतलाई कोरोना भाइरसको महामारीका बेला सहयोग गर्न प्रस्ताव राखेको छ।

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएर महामारीको वर्तमान अवस्थाप्रति सहानुभूतिसँगै सहयोगका लागि प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्वीट गरेर राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री मोदीलाई सहानुभूति सन्देश पठाएको जानकारी गराएका हुन्।

राष्ट्रपति शी ले भारतमा कोभिड–१९ महामारीको हालको अवस्थालाई लिएर चिन्तित रहेको भन्दै चिनियाँ नागरिक र सरकारको तर्फबाट भारत सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साझा भविष्यका लागि मानवता एक समुदाय भएको भन्दै उनले एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने उल्लेख गरेका छन् । भारतमा दैनिक चार लाखको हाराहारीमा संक्रमित थपिन थालेका छन् । साढे तीन हजारको दैनिक मृत्यु भइरहेको छ ।