देशका अधिकांश ठाउँमा बद्ली


Harek Pal May 4, 2021

काठमाडौँ । देशका अधिकांश ठाउँमा मौसममा बदली भएको छ । अहिले प्रदेश १ र २ का केही ठाउँमा पानी परिरहेको छ ।

यी दुई प्रदेशमा बिहानदेखि पानी पर्न सुरु भएको र अहिले बिस्तारै कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश एक र दुईमा पूर्ण र बाँकी प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बद्ली रहेको र दिउँसो पनि देशका धेरैजसो पहाडी भेगमा पानी पर्न सक्ने देखिन्छ ।

आज राति भने देशभर नै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । देशमा पश्चिमी न्यूनचापीय प्रणाली, न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले आज र भोलि मौसम पूर्णदेखि आंशिक बद्ली रही देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिहीबार देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । देशका केही ठाउँमा फाट्टफुट्ट र केही ठाउँमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।