बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चालकसहित ५ को मृत्यु


Harek Pal May 4, 2021

बैतडी । बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलमा जिप दुर्घटना चार जनाको घटनास्थलमा तथा चालकको बाटोमा मृत्यु भएको हो । चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका ६ का ५० वर्षीय जीतसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी तथा चालक तेजसिंह बोहराको मृत्यु भएको हो ।

वडा सदस्य गोविन्द राप्रपाबाट निर्वाचित वडा सदस्य हुन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको थियो ।

चालक बोहराको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।