नेपाल सुपर लिग : काठमाडौँ रेजर्सद्वारा बुटवल लुम्बीनी एफसी पराजित


Harek Pal May 4, 2021

काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत आज सम्पन्न खेलमा काठमाडौँ रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सले बुटवललाई एक शुन्य गोलले हराएको हो । हारपछि बुटवलले शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

काठमाडौँका लागि निर्णायक गोल विदेशी खेलाडी स्टेफेनको विलोङले गरे । उनले खेलको पाँचौँ मिनेटमा उक्त गोल गरेका थिए । खेलको सुरुआतदेखि नै काठमाडौंले निकै आक्रामक खेल खेलेको थियो ।

यस्तै खेलको सातौँ मिनेटमा बुटवलले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरको बुटवलले फाइदा लिन सकेन् । खेलको १३ औँ मिनेटमा काठमाडौँले गोलको अवसर पाएको थियो । सो अवसरको सदुपयोग भने हुन सकेन ।

यस्तै खेलको २६ औँ मिनेटमा पनि बुटवलले गोलको अवसरको फाइदा लिन सकेन् । खेलको २८औं मिनेटमा बुटवलका सुमन लामाले गरेको गोलको प्रयास असफल भयो । मध्यान्तरपछिको खेलको ८६ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गोलमा परिणत हुन सकेन् ।

जितसँगै काठमाडौंले तीन अंक बटुलेको छ । काठमाडौँको चार खेलमा सात अंक भएको छ । बुटवललाई पछि पार्दै काठमाडौँ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुटवल चार खेलमा पाँच अंक जोड्दै लिगको चौंथो स्थानमा खुम्चिएको छ ।