कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा निःशुल्क कोभिड १९ सेवा केन्द्र सञ्चालन गर्ने


Harek Pal May 12, 2021

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा एक सय बेडको निःशुल्क कोभिड १९ सेवा केन्द्र सञ्चालन गर्ने भएका छन् ।

सो सेवा केन्द्रमा अक्सीजन र भेन्टिलेटरको ब्यबस्था हुने छ। चाँडै नै सेवा केन्द्रमा पिसिआर मेसीन पनि राखिने उनले बताउ । पछि उक्त केन्द्रलाई सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण गरिने छ ।

अक्सीजन, बेड, भेन्टीलेटर, स्वास्थ्यकर्मीको अभावमा धेरैले ज्यान गुमाउनु परिरहेको भन्दै उनले सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताए । सरकारले जनताको उपचारको जिम्मा लिन नसकेको आरोप लगाउँदै नेता बस्नेतले आफुले व्यक्तिगत रुपमा नागरिकको ज्यान जोगाउन प्रयास गर्ने बताए ।

विगतमा पनि आफुले कोरोना रोकथाम तथा उपचारका लागि सक्दो प्रयास गरेको उनको भनाइ थियो । असल कामको थालनी आफैबाट गर्नुपर्ने बस्नेत बताउँछन् । उनले आफ्नो एउटा जीप सिन्धुपाल्चोकमा कोभीड १९ तथा अन्य रोगका बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गर्न दिने निर्णय गरेको बताए ।

कोभीड १९ को महामारीलाई ध्यानमा राखी एक वर्षसम्म सवारीसाधनको चालकको तलब, भत्ता, गाड़ीको इन्धनसमेत आफुले व्यवस्था गर्ने बताए । यसका लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

गत वर्ष सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी साबित्री तिमिल्सिना चालिसेको कोरोना संक्रमणवाट मृत्यु भएको थियो । उनी कोरोनाबाट ज्यान गुमाउने देशको पहिलो व्यक्ति हुन् । उनले गाडी र उपचारको व्यवस्था समयमै नपाउँदा ज्यान गुमाउनु परेको बस्नेत बताउँछन् ।

त्यो बेला चालिसेका अभिभावकलाई नेता बस्नेतले एक लाख रुपैयाँ उपलब्ध गराएका थिए । चालिसेको बच्चाको पठनपाठन तथा भविष्यमा रोजगारीको ज़िम्मा पनि नेता बस्नेतले नै लिएका छन् । कोरोना रोकथाममा सरकारको हालसम्मको काम निराशाजनक रहेको उनको आरोप छ ।