भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै


Harek Pal May 14, 2021

एजेन्सी । भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या घट्न थालेको छ । दैनिक चार लाखभन्दा बढीमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता सो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ । बुधबार तीन लाख ६२ हजार ४०६ जना सङ्क्रमित भएका थिए । मंगलबार उक्त संख्या तीन लाख ४८ हजार रहेको थियो । शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई सङ्क्रमण देखिएको थियो ।

त्यस यता सङ्क्रमितको सङ्ख्या केही घटेको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या दुई करोड ४० लाख भन्दा धेरै छ ।