कर्णाली अस्पतालले थप संक्रमितलाई भर्ना नगर्ने


Harek Pal May 15, 2021

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने भएको छ ।

प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभावका कारण शनिबारदेखि कारोनाका थप नयाँ बिरामी भर्ना लिन नसकिने जनाएको हो।

नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेका कारण कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन नसक्ने प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले बताए । प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन सिलिन्डर आवश्यक रहेको निर्देशक खड्काले बताए ।

अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट भए पनि त्यसबाट उत्पादन हुने अक्सिजनले बिरामीलाई थेग्न सक्ने अवस्था छैन । अहिले हाल करिब १०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा दैनिक ३०० बढी अक्सिजन आवश्यक पर्छ।

हाल अस्पतालमा ९२ जना जटिल प्रकृतिका संक्रमित उपचाररत छन् ।