तीन बालकको शव अभिभावकले १३ दिनपछि बुझे


Harek Pal May 15, 2021

दाङ । दाङमा एउटै कार भित्र मृत फेला परेका तीन बालकको शव अभिभावकले १३ दिनपछि बुझेका छन्।

तुलसीपुर उपमहानगरपालिकामा पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुखलगायत बीचमा भएको वार्तापछि पीडित पक्षले शुक्रबार बेलुका तीन बालकको शव बुझेका हुन्।

मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत जनही २५ हजारका दरले उपलब्ध गराउने, कार्यपालिकाबाट पास गरि थप एक लाख उपलब्ध गराउने सहमति भएको छ ।

राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकलाई जनही ५ लाख क्षतिपूर्ति माग गर्ने, प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यवस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्ये एक एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति भएको छ।

तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र वैशाख १८ गते तीन बालक मृत फेला परेका थिए। तुलसीपुर ६ बरूवाका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास र किरण परियारका छोरा ६ वर्षीय करण मृत भेटिएका थिए।

प्रहरीले कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरी ज्यान मुद्दा चलाएको छ ।