आफैंमाथि दयालागेको दिन



डा. राम्जी तिमल्सिना-
त्रिभुवन विश्वविद्यालय, नेपाल
[email protected]

किन अचेल मेरो भावनामा प्रहार गर्ने घटनाहरू धेरै घटिरहेका छन् ? कि म आफैं अनावश्यक भावुक भइरहेको हुुँ ? आज (२०७८ जेठ ७ गते शुक्रबार)को राजनीतिक र सामाजिक परिवेशले म आफैं दयाको पात्र भएको भावआइरहेको छ मनमा ।

राजनीति अरुले नै गरुन्, म चाहिँ प्राज्ञिक र साहित्यिक क्षेत्रमा आपूmले सकेजति योगदान दिन्छुु र देश निर्माण यतैबाट गर्छु भनेर दसवर्षसम्म गरेको सक्रिय राजनीति छोडेको पनि अहिले २३ वर्ष भैसक्यो । तर आजका परिघटनाले मलाई फेरि एक राजनीतिक टिप्पणी लेख्न बाध्य बनाएको छ ।

नेपालजस्तो प्राकृतिक सम्पदाको अमृतले भरिएको देशका अधिकांश शासकहरू विषको घडा भएर त्यही घडाको विष चुसेका अरिङ्गालहरूले समाज र नागरिकलाई बेपर्वाह टोकेपछि दुईचार थप भुत्ते अरिङ्गालका टोकाइसहन तयार रहँदै आफ्नो बुुझाई समाजसमक्ष राख्न तयार भइएन भने यति लामो समय शिक्षा र चेतनाको क्षेत्रमा काम गरेको अर्थ नहुने मात्र नभएर देशको नागरिक हुनुको अर्थ पनि गुमाइन्छ कि जस्तो स्थिति बनिसक्न लाग्यो भन्ने बुझाइको परिणाम हो यो लेख ।

२०७६ चैत्र ११ गतेदेखि औपचारिकरुपमा कोभिड–१९को बन्दाबन्दी शुरुभयो । हाम्रा विद्यालय र विश्वविद्यालय त त्यसको चार दिन अगाडि नै बन्द भए । बीचमा यसो अलेली खुलेजस्तो भएर ती अहिले फेरि बन्द छन् । लाखौँ बालबालिका शिक्षाबाट बञ्चित छन् । लाखौँ युवा बेरोजगार भएका छन् । लाखौँको घरमा राम्ररी चुल्हो नबलेको एक वर्ष नाघिसक्यो । शिक्षालय र उद्योगहरू कति त बन्दै भइसके, कतिको भविष्यको कुनै टुङ्गो छैन । व्यावसाय त चौपट भएकैछन् । अहिले आएको दोस्रो लहरको सङ्क्रमण यति भयावह छ कि अस्पतालमा बेड पाउन छाडिएको छ । अक्सिजनको अभावले मृत्युवरण गर्नेहरूको सङ्ख्या हजारौँ पुगिसक्यो । राज्यले सजिलै प्राप्तगर्न नसक्ने र दशकौँको व्यक्तिगत तथा राष्ट्रिय लगानीपछि बनेका कति होनहार डाक्टर, प्राध्यापक, शिक्षक, कर्मचारी, कुटनितिज्ञ र समाजसेवीहरू हामीले गुमायौँ यही कोरोनाका कारणले । अभैm कति अस्पतालमा छट्पटाउदै जीवनको अन्तिम घडी कुरीरहेका छन् । ज्यान बचाउन सफल लाखौँ कोरोना सङ्क्रमितहरू पनि त्यसको दीर्घकालीन प्रभावको त्रासले शारीरिक र मानसिक अभिघातको अवस्थामा छन् । सारा देश ठप्प छ । सबै नागरिक पिंजडाको पंक्षी भएकाछन्। जीवन वास्तवमै अनिश्चित र त्रासमय बनेको छ यतिबेला ।

यस्तो बेला गत तेह्र महिना नै अकल्पनीय रुपले चलायमान छन् राजनीतिक खिचातानी र राज्यप्रायोजित भ्रष्टाचार । तिनको केन्द्रमा छन् जनताले विशेष सपना राखेर साँढे तीन वर्षअघि निर्वाचित गराएकाप्रधानमन्त्री केपी शर्मा ओली । उनको दलका अन्य कम्रेडहरूलाई यस अवधिभर उनकै पक्ष र विपक्षमा नारा उराल्दै उनकै प्रदक्षिणा गर्न भ्याइनभ्याइ छ । झन्डै दुईतिहाइको सरकार चलायका छौँ भन्नेहरूको संसदीय दलको नेता ओलीको पक्षमा जम्मा करीब चौतीस प्रतिशत (त्रियानब्बे जना) मात्र समर्थन बाँकी रह्यो गत हप्तासम्म आइपुग्दा । आफ्नै पार्टीका डेढसय जनाको चित्त बुझाएर व्यवस्थापन गर्न नसक्नेले कसरी चित्तबुझाउन् तीन करोड नेपालीको । कसरी आओस् उनको मुखैमा झुन्डिएर भुइँमा खस्नै नपाएको समृद्धि ।

यस्तोबेलामा प्रतिपक्षीलाई खुब हाइसन्चो छ । सत्ताधारीले नै आफ्नो पनि भुमिका खेलिदिएपछि उनीहरू केवल तमासे बनेका छन् । जनता समाजवादी पार्टीलाई आफ्ना सांसदको गोठ भक्तपुर र ललितपुर सार्दासार्दै जनता सम्झिने फुर्सदै छैन । बाबुराम र रबिन्द्र मिश्रलाई सामाजिक सञ्जालमा ट्याउँट्याउँ गरेरै दिन काट्नुभन्दा अर्को काम गर्ने होस फिरेको छैन, साँढे तीन वर्ष अघिको चुनावमा आफ्नो हैसियत पत्तालगाएदेखि यता । प्रदेश सरकार भन्ने जिनिस पनि पो छ है गाँठे नेपालमा अचेल । साँढे तीन वर्षमा आफ्नै न्वारान समेत गर्न अक्षम लगायतका यस संवैधानिक घाँडो देखिएको पार्टी कार्यकर्ता भर्तीकेन्द्रमा पनि संघीय सरकारकै तहको भाँडभैलो जारी छ । जागीर आएकै छ, बाँकी काम त चुनावमा भोट माग्न गएका बेला फलाक्ने न हो ।त्यसपछि खासै वास्ता गर्नेहरू कहिले पो चुनिएका हुन् र यो देसमा । अनि उनीहरूलाई मात्र केको टन्टा ।

जनताले झ्वाट्टै भेटिहाल्ने भएकाले स्थानीय सरकारलाई चाहिँ अलि तनाव नै भएको छ । यसोउसो गरेर काम त गरेकै छु नि भन्ने नदेखाई भएको छैन । अलेलि चाहिँ जनताकै बीचमा काम गरेकाहरू चुनिएका र भोलि फेरि त्यतै टिक्नुपर्ने भएकाले यिनीहरूलाई अलि बढी तनाव छ । काम त त्यस्तैउस्तै हो ।यस तहमा पनि अधिकांश त दलाल, गुण्डा र भ्रष्ट ठेकेदारहरूले चुनाव जितेकाले यस महामारीको समयमा पनि कताबाट ठग्न पाइएला भन्ने ध्याउन्न देखिन्छ तिनको । केही पालिकाहरूमा भने सीमित साधन, श्रोत र पहँचुका बाबजुद पनि जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीहरूसँग मिलेर काम गरिरहेका छन् । उनीहरूले ‘स्थानीय अस्पताल र अस्थायी उपचार केन्द्रहरूमा औषधि, अक्सिजन र जनशक्तिको अभाव भयो सरकार केही त सहयोग पाउँ न’ भन्दा संघीय सरकारका स्वास्थ्य मन्त्री भन्छन् : ‘स्वास्थ्य सामग्रीको खरीदमा मुसा पसे, मेरो केही लागेन!’ आफैं छुचुन्द्रोजस्तो मान्छेलाई समेत दिक्कलाउने ती मुसा कत्रा पो छन् खै । ‘लौ न, दुई लिटर नै भए पनि अक्सिजन देऊ, बिरामी कोल्याप्स हुन लागिसक्यो’ भन्दैछन् अस्पतालअस्पतालमा स्वास्थ्यकर्मीहरू ।

यस्तो बेलामा जनताको लागि समाजवाद ल्याउने फुइँ लाउदै भाषण गर्ने राजनीतिक दलहरू आआफ्ना गोठका सांसद भाग्लान् कि भनेर चिन्ताग्रस्त छन् । कति जनता बिरामी परे, कति मरे, कतिलाई मृत्युसंस्कार पुरागर्नै गाह्रो परेको छ त्यससँग उनीहरूलाई कुनै चिन्ता नै देखिदैन । जम्मा चिन्ता छ आफ्नो गोठको किलोबाट सांसदको बिल्ला भिरेको घोडा नहराओस् ताकि उसको नागरिकता देखाएर सत्तारोहणको मुद्दा लड्न पाइयोस् । काठमाडौ र प्रदेश राजधानीका ती गोठले मात्र आफ्नो मनोकांक्षा पुरा नहोला कि भनेर त्यसभन्दा पर र बादलमाथि (साइबर स्पेश)मा समेत भेडीगोठ चलाएका छन् तिनले । साइबर स्यालको नाममा न्वारान गराइएका ती बारुला र अरिङ्गालहरू कति बेला आआफ्ना गोठाधिपतिका बारेमा नयाँ समचार निस्केला र आफ्नो आरतीको प्रारम्भ गर्न पाइएला भनी फेसबुकतिर कुरेरै बसेका पाइन्छन् । आफ्ना ख्वामित्को भन्न योग्य केही आएन भने अर्काका ख्वामित्को अनर्गल प्रचार गरेरै भए पनि त्यस दिनको खोलेकुँढोको व्यवस्था गर्नुपर्ने जिम्मेदारी बहन गदैँआएका छन् यी अभागीहरूले । ख्वामित्हरूले आफ्नो स्वार्थ पुरा गर्न नपाएका बखत डुक्रँदै सडकसम्म फाँफाँ र फुफु गर्दै निस्केर मालिकका नाममा आफ्नो ढाड र पाँसुलामा प्रहरीका लठ्ठीका डाम परेपछि मात्र यिनको बढुवाको संभावना हुन्छ ।
दल र सरकारका यी विविध तहमा अकर्मण्यताको हरसम्भव प्रदर्शनी भइरहेको यस समयमा विशेष नाटक मञ्चनको प्रारम्भ भयो २०७७ पौष ५ गतेबाट । आफ्नो पार्टीको लगभग दुईतिहाइ बहुमत भएको संसदको चिसोले ठिहि¥याएपछि प्रधानमन्त्री वलीले संघीय संसदकै आगो तापे । उनका पक्षका ९३ बाहेक अरु सांसदहरूले संसदभित्र नपाएको बिजनेश पाए सडक र अदालतमा ।
गपैm लडाएर खान पाएको जागीर खुस्किएपछि आआफ्ना गोठका सबै बाछाबाछी र भेडा फुकाएर देशैभर चर्न पठाए सबै दलका नेताहरूले ।

एक्कासी गाउँशहरका सडक र चौर भरिभराउ भए । नौ महिनासम्मसंसारमा राज गरेको कोरोना त एक्कासी नक्कलीजस्तो पो देखियो तिनका अगाडि । विचरा ! देशभर प्रचारबाजी र सभाहरू भए । भाडाका गाडीमा ओसारिएका भेडाका बथान भोकैनाङ्गै भएपनि भ्याभ्या गरिरहे आआफ्ना चरनमा । कमसेकम ओलीइत्तरका बथानलाई त एउटा सुनाउनमिल्ने नारा थियो : ‘छँदाखाँदाको संसद अवैधानिक तवरले विघटन गरेर देशलाई भड्खालामा हाले यी तानाशाही प्रवृत्तिका प्रधानमन्त्रीले ।

यिनलाई हामी देखाइदिन्छौँ लोकतन्त्रका कसरी हठ र जबरजस्ती चल्दैन’ । संसदीय व्यवस्थाको पक्षपाती नेपाली काङ्ग्रेसको भन्दा यसको विरुद्धमा हजारौँ निर्दोष नेपालीको बली चढाएको प्रचन्ड नेतृत्वको नेकपाको ओली विरोधी गोठको आवाज यसमा खरो सुनिदा लाग्ने क्या ती गिरिजाले आफ्ना अनुयायीहरू प्रशस्त निर्माण गरेका रहेछन् प्रवृत्तिगतरुपमा ।
तर गज्जब त तब देखियो नेपाली राजनीति जब यो देखाइदिने प्रतिष्पर्धामा अरुभन्दा अगाडि देखिए प्रधानमन्त्री ओली आफैं । उनले देशभरबाट ‘ओली बा, आइ लभ यु’ वाला नारा लाउन लगाएर कार्यकर्तालाई गोकुल बाँस्कोटाको क्लोनमा परिवर्तन त गरेगरे उनी आपूm मात्र नभएर उनको पूर्णकदको तस्बीरलाई पनि भाषण गर्न लगाउँछन् कि कसो जस्तो बनाइदिए । श्रद्धाम हुसेन र हिटलर स्टाइलको प्रचारबाजी त उनको शैली छँदैथियो । त्यो झन् उग्र बनेर गयो ।उनलाई माथ गर्ने देखिन थाले उनका कार्यकर्ता पो । ढुङ्गे युगको तर्कलाई माथ गर्नेगरी ती भन्न थाले : ‘यस्तै हो राजनीतिमा, सक्नेले खाने हो । हेरिरहनु होला यी ओली बाले सबैलाई ठीक पारेर देखाइदिन्छन् । उनको विरोध गर्नेजतिको अबको बाटो जेलतिरको हो । अनि भेट्छन् …। अब केको लोकतन्त्र । ठोकतन्त्रले मात्र काम दिन्छ यहाँ ।’ संघीय मोडलमा असली कम्युनिस्ट नै जन्मिन्छन् कि केहो जस्तो लाग्थ्यो उनीहरूको कुरा सुन्दा ! लाग्थ्यो कि मानौँ प्रचन्ड र माधव नेपाललाई ठिक पारेपछि नेकपाले प्रचार गर्ने गरेको समृद्धि त त्यसै घरघरमा पुगिजान्छ कुम्लोकुटुरो बोकेर ।
काङ्ग्रेसले यस देशको उन्नतिमा परिपक्वता देखाउन सकेन । अब माओवादी र एमाले मिलेका छन् । अरु दलकोभन्दा अलि स्पष्ट दृष्टि पनि यिनकै देखिन्छ देशको व्यवस्थापनमा । कमसेकम पाँचवर्ष त स्थायी सरकार चलाउने अवसर यिनीहरूलाई दिनुपर्छ भनेर म लगायत धेरै प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्नेहरूको समेत मत पाएर निर्वाचित यो सरकारले आफ्नै पार्टीभित्र भद्रगोल निम्त्याएर सबैलाई रनभुल्ल पा¥यो । २०७७ पौष ५ देखि २०७८ जेष्ठ ७ गतेसम्म त नेपाली भूमि राजनीतिक छलछामको रङ्गमञ्च नै भयो ।


आफैंले विघटन गरेको प्रतिनिधि सभाले पुनर्जीवन पाएपछि आफैंले संयोजन गरेको नेकपालाई औपचारिक र वैधानिक विभाजन गराउन सफल ओलीले संसदको हिउदे अधिवेशनलाई बिजनेश बिहीन पारे । माधव नेपाल र प्रचन्डपक्षका पूर्वसहकर्मीहरूलाई गाली गर्नमै बेफुर्सद भएका उनका मन्त्री र कार्यकर्ताहरूलाई देशका समस्याका बारेका सोच्ने फुर्सद त हुने कुरै भएन । भाषणै गरेका भरमा जिन्दगी चलाएका उनीहरूलाई बल्ल दसैँ आएजस्तो भयो । संघदेखि प्रदेशसभासम्मका सांसद र मन्त्रीहरूले अविश्वास, फ्लोरक्रस र कारबाही लगायतका इतिहासमा घृणापूर्वक सम्झिइने काम गरे । उनीहरू आफुले गरेका कामको बचाउमा सबैथोक छोडेर लागिरहेका बखत अर्को षडयन्त्रको श्रृङ्खलामा प्रवेश गरे प्रधानमन्त्री ।

त्यसको पहिलो कदम थियो एकाएक प्रतिनिधि सभाबाट विश्वासको मत लिने उनको घोषणा । त्यसको परिणामस्वरुप दुईतिहाइ नजीकको सरकार चौतीस प्रतिशत समर्थनमा झ¥यो । तर उनलाई कुनै हीनताबोध, लज्जाबोध वा नैतिकताको प्रश्नले छोएन । यसरी विश्वासको मत गुमेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संसदीय व्यवस्थाको न्युनतम नैतिकता पनि देखाएनन् उनले । राष्ट्रपतिले मिलीजुली सरकारको लागि आव्हान गरेपछि जसमाको गोठ फुटाएर एक हुललाई भक्तपुरतिर थुनेर राखे । यसरी गोठ सारेर बहुमत रोक्ने वा पु¥याउने खेल त पचासको दशकमा अहिलेका काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेपाल–ओलीहरूले पूर्वपञ्चहरूसँग मिलेर खेलिसकेका हुनाले नेपाली जनतालाई यतिको निर्लज्जता त संसदीय व्यवस्थाको गुण नै हो भन्ने परिसकेको थियो । तर राजीनामा नदिने हर्कतचाहिँ यसअघि कहिल्यै भएको थिएन । पूर्वपञ्चहरूले पनि त्यति नैतिकताचाहिँ कायम राखेका थिए । ओली त तिनका पनि बाजे पो देखिए । विपक्षीहरू सरकार गठन गर्न असफल भए ।

यस ‘ओपनसिक्रेट’वाला खेलको अर्को चरणमा संविधानको धारा ७६को उपधारा ३ अन्तर्गतको अल्पमतको सरकारको प्रधानमन्त्री पदको ‘त्यो पर्दैन’–‘हिहि’वाला सपथ खाए ओली आपैmँले । पुरानै मन्त्रीमण्डललाई निरन्तरता दिँदा माओवादीबाट ओली गोठको एमालेमा प्रवेशगरेका कारण संसदसदस्यको पद गुमाएका सातजना पनि परे । त्यसको केही दिनमै अदालतले उनीहरूको नियुक्ति गैरसंवैधानिक भएको ठहर गर्दा ओलीको गैरसंवैधानिक हरकतमा एउटा अर्को श्रृङ्खला थपिएको प्रमाणित भयो । माधव नेपाल गोठको असहयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा ओलीका उम्मेद्वार बनेका पूर्वमाओवादी बादलले चित खाएपछि ओली–विद्या नेक्ससले नयाँ गतिविधि अगाडि बढायो । ओलीले एकाएक घोषणा गरे कि अब उनको अल्पमतको सरकारले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्ने सम्भावना रहेन । धेरैलाई लाग्यो अबचाहिँ यिनमा अलि होसले प्रवेश गरेछ । तर सँगै धारा ७६कै उपधारा ५ अन्तर्गतको प्रतिनिधिसभाको कुनैपनि सदस्यले आफ्नो बहुमत पुग्ने स्पष्ट आधारसहित राष्ट्रपतिसमक्ष समावेदन गर्नसक्ने संवैधानिक व्यवस्था अन्तर्गत रहेर एक्काइस घन्टाभित्र राष्ट्रपति कार्यालय आइपुग्ने सुचना जारीभयो राजनीतिको डढेलोले सक्नलागेको शीतलनिवासबाट । नेपालको संसदीय इतिहासमै सरकार गठनगर्न दिइएको यो सर्वाधिक छोटो समय भएकाले यसको पछाडि षड्यन्त्रको स्पष्ट गन्ध आयो । त्यो भोलिपल्टै प्रमाणित पनि भयो ।

जेष्ठ ७को दिनभरि घटेका घटनाले प्रजातन्त्र, इमान र नैतिकतामा विश्वास राख्ने सबैलाई त्यसअघि कहिल्यै नलागेको धक्का लाग्यो ।यसका कारण थिए प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी । ओली शासनमा मुखमा पट्टी बाँधेर साँढे तीनवर्ष बिताएको काङ्ग्रेस समेत ब्युझियो मध्यरातमै र थाल्यो नयाँ सरकार गठनको कसरत । काङ्ग्रेस, माओवादी, जसपाको यादव–भट्टराई गोठ तथा एमालेको नेपाल–खनाल गोठले सहकार्य गर्न थालेको र त्यसले अबचाहिँ आफ्नो सरकार जानेभयो भन्ने थाहापाएपछि ओलीले मध्यदिनमा इतिहासकै एक निकृष्ट प्रदर्शनी गरे । उनले पत्रकार सम्मेलन गरेर आपूmले अब सरकारमा बसिरहन नचाहेकाले हात उठाएको सार्वजनिक घोषणा गरे । साथमा विपक्षीहरूलाई क्षमता भए वैकल्पिक सरकार गठन गर्न चुनौती पनि दिए ।
देशको प्रधानमन्त्रीले यस्तो सङ्कटपूर्ण घडीमा केही महत्वपूर्ण कुरा गर्नलागेकी के हो भनेर मैले पनि अरु लाखौँ नेपालीहरूले जस्तै त्यस सम्मेलनको प्रत्यक्ष प्रसारमा शुरुदेखि अन्त्यसम्म हेरेँ, सुनेँ । टाक्कटुक्क हसाउनु, अरुलाई गाली गर्नु तथा पाँडे चुनौती दिनु र अन्त्यमा म आपैmँ सर्वज्ञानी तथा सर्वशक्तिमान हुँ भन्ने आडम्बर र अहंकार देखाउनमै समय खर्चिए उनले । झन्डै दुई घन्टाको समय खेर मात्र गयो नेपाली जनताको । यस्तो फन्टुस प्रधानमन्त्री भएको देशमा बस्नुपरेकोमा असाध्यै आत्मग्लानि भएर आयो मलाई । कोरोना कालमा समय कटाउन गाह्रो परेका र बाको प्रत्येक वाक्य महावाणी मान्ने अरिङ्गालहरूलाई त मजा नै आयो कि!

उनको पत्रकार सम्मेलन सकिएपछि घटनाले रोचक मोड लिन थाले । अब त यिनले बाटो खाली गर्नेरहेछन् भन्ने सिधा कुरा सोचेका इमानदार नेपालीहरू त्यतिखेर चित खाए जब जसपाको ठाकुर–महतो गोठका सांसदहरूले अघिल्लो रातको १२ बजे नै उपधारा ५ अन्तर्गतको सरकारमा ओलीलाई समर्थन गरेको पत्र राष्ट्रपतिकोमा पु¥याएर यसो एक कप तातो चिया पिएर ठाकुुरजी फर्किएका थिए भन्ने समाचार आयो । मैले टेलिभिजन खोल्दा शीतलनिवास अगाडिबाट प्रत्यक्ष प्रसारण चल्दै थियो । पहिलो समाचार थियो राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री भर्खरै फर्के । यसले सङ्केत ग¥यो उनी उपधारा ५ अन्तर्गतको प्रधानमन्त्रीमा आफ्नो दावी पेश गर्न त्यहाँ गएका थिए । अहिल्लो दिन मन्त्रीपरिषद्को बैठकबाटै निर्णय गराएर हात उठाउने, त्यसै दिन केही घन्टा अगाडि पत्रकार सम्मेलाबाटै आफुले हात उठाएको घोषणा गर्ने, तर अघिल्लो रात नै आफ्नो दाबीको तयारी गर्ने हदको झुट र सार्वजनिक ठगी दक्षिण भारतीय अपराधफिल्मभन्दा पनि कडा भयो भन्ने टिप्पणी आउन थाले सामाजिक सञ्जालमा । यति धेरै बेइमान त गरेनन् होला हौ यिनले भन्ने लागिरहेको थियो मलाई कताकता । आपैmँले भोट दिएको दलका प्रमुख हुन् नि त यी । आफ्नो राष्ट्रको कार्यकारी यति तल गिरेर तिकडमबाजी गर्नसक्छ भन्ने त मैले कहिल्यै कल्पनै पो गरेको थिइँन । एकछिनमा त त्यो यथार्थमै छताछुल्ल भयो । म त्यसैको बाढीमा पसेर वेपत्ता बनेँ ।

पाँच बजेपछि थाहा भयो विपक्षी खेमाले देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदहरूको हस्ताक्षर बुझाएछ राष्ट्रपतिलाई । उता ओलीले देउवाको समर्थनमा हस्ताक्षर गर्नेहरूलाई समेत आफ्नैमा हिसाब गरेर आफु अध्यक्ष र संसदीय दलको नेता भएको एमाले र जसपाका संसदीय दलको नेताको हस्ताक्षर भएका दुईटा पत्र राष्ट्रपतिको पोल्टामा हालिदिएर फर्केछन् । माधव नेपाल त त्यतिबेला चित खाएछन् जब राष्ट्रपतिले तपाइले ओलीलाई समर्थन गरेको पत्र मेरोमा आइसक्यो भन्ने जानकारी दिइछन् । उनले राष्ट्रपतिलाई सोधेछन् : ‘होइन, म आफैँ यहाँ उपस्थित छु देउवाजीको समर्थनमा अनि कसरी मेरो हस्ताक्षर मभन्दा अगाडि तपाइँकोमा आइपुग्छ ?’ झुट र जालसाजीको एक अनुपम नमुना थियो त्यो । उपेन्द्र यादव र बाबुराम भट्टराईको हालत पनि आखिर त्यही त थियो । अन्त्यमा समाचार आयो ‘दुई जनाको निवेदन परेको र दुबैतिर केही प्रतिनिधि सभासदस्यहरूको नाम दोहोरिएकाले म कानुन हेरेर निर्णय लिन्छु’ भन्ने भनाइ छ राष्ट्रपतिको । यिनले पनि कानुन हेर्ने कुरा गरेकामा अचम्म लागेका अभिव्यक्ति देखिए सामाजिक सञ्जालमा ।

राजनीति गर्नेहरू बेइमान हुन्छन् नै भन्ने साझा बुझाइ छ नेपाली समाजमा । यहाँ राजनीति गर्न कि अथाह सम्पति चाहियो, कि गुन्डागर्दीमा अब्बल हुनुप¥यो, कि दलाल वा कसैको काम गरिदने भाडाको मान्छे हुनुप¥यो भनेर पटकपटक सांसद भएका र निष्ठाको राजनीतिमा जीवन बिताएकाहरूको कुरा सुन्दै आएका छौँ हामीले । त्यसैले केपीओलीका यी सारा कीर्ते कामलाई त्यही आँखाले हेरेर यस्तै हो भनौँला । तर ती किन यति स्वेच्छाचारी र अहंकारी भए भन्ने कुराको पट्टाक्षेप हुनथाल्यो एकैछिनमा ।

प्रदेश एकका एक असल विद्वान् मानिइआएका एकजना प्राध्यापकले एउटा पोस्ट शेयर गरे जसको सिरानमा लेखिएको थियो : ‘जालीहरूको कर्तुत पर्दाफास हुदैछ ।’ त्यसमुनि सुनसरी क्षेत्र नंं. एकबाट नेकपाको टिकटमा चुनाव जितेका सांसदले आफ्नै हस्ताक्षरमा लेखेको ‘मेरो हस्ताक्षर दुरुपयोग सम्बन्धमा’ विषयको निवेदन । आशय थियो देउवालाई समर्थन गर्न माधव नेपालले यिनले अर्कै प्रयोजनमा गरेको हस्ताक्षर राष्ट्रपतिकोमा बुझाइपठाए । यसलाई ओली समर्थकहरूले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाए । अरु केही एमालेको नेपाल गोठका सांसदहरूको नाम पनि आयो यस प्रसङ्गमा । जाल गर्न देउवा र नेपालहरू पनि हामीभन्दा कम्तीका छैनन् भन्ने देखाउने मिशन रहेछ यो ओलीगोठको । तर एकै छिनमा पर्दा खुल्यो । ती सांसदको नामनै रहेनछ देउवाको समर्थनमा बुझाइएको १४९ जनाको सुचिमा । नाटकको त्यो दृश्य त्यतिकै सकियो । यो त एउटा प्रतिनिधि घटना हो त्यस बेलुका ओली समर्थकहरूले गरेको कुप्रचारको ।

केही समय सामाजिक सञ्जालमा आएका कुप्रचारका ऐतिहासिक नमुनाहरू हेरेपछि लाग्यो ओली केवल व्यक्ति होइनन्, प्रवृत्ति हुन् । उनले राम्रो–नराम्रो, ठीक–बेठीक, असल–खराब जेजे गरेपनि समर्थन गर्दै उनको देवत्वकरण गर्ने प्रवृत्ति पञ्चायतकालमा पञ्चहरूले राजाको देवत्वकरण गर्न विकास गरेका थिए । गैरपञ्चलाई सत्तोसराप गरेरै कतिलाई राजाको मान्छेमा गनिइरहने मौका मिल्थ्यो त्यतिबेला । २०४६सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि बहुदलवादीहरूले पञ्चहरूको त्यस बानीलाई दाइजोमा लिए । काङ्ग्रेस र एमालेका बीचमा बिहेवारीसमेत नगर्ने तहमा पुगे कति ठाउँमा नेपालीहरू । छिमेकको काङेग्रस वा एमालेसमर्थकलाई गाली गर्न आफ्नो घरको कुकुरको नामनै काङ्ग्रेस वा एमाले राख्ने प्राध्यापकहरूको बारेमा कति किस्सा समेत सुन्नमा आए त्यस बखत । प्राध्यापकहरूकै चेतनाको स्तर त्यस्तो भएको समाजमा जनसाधारणको चेतनाको त कुरै गर्नुपरेन । राजनीति गर्ने छट्टुहरूले जनताको त्यस तहको चेतनालाई दुरुपयोग गर्दै आएका छन् त्यसैबेलादेखि । ओलि त त्यसै श्रृङ्खलाका पछिल्ला उदाहरण मात्र हुन् ।

यसैबीच मैले गत तीन दशकको राजनीतिलाई सर्सर्ती समीक्षा गरेँ । निश्कर्षमा पुगेँ कि यी तीन दशकमा तीन खलनायकले आपूूmलाई नायकजस्तो अभिनयमा प्रस्तुत गरेर नेपालीहरूको सोझोपन र विवशताको फाइदा उठाएछन् । पचासको दशकमा गिरिजाप्रसाद कोइराला, साठीको दशकमा प्रचन्ड र सत्तरीको दशकमा केपी ओली । विदेशीका एजेन्डालाई नेपालमा प्रयोग गर्न उभ्याइएका यी पुत्लाहरूका अन्धभक्त नेपाली जनता र कार्यकर्ता पनि उत्तिकै जिम्मेवार लाग्छन् मलाई नेपालको वर्तमान दुर्दशामा । २०४६ देखि २०५५सम्म त म आफैं पनि त्यस्तै पार्टी कार्यकर्ता भएकोमा अचेल पश्चाताप मात्र हुन्छ । आज मैले ओलीमा अन्धभक्तहरूलाई त्यही समयको मेरो विकसित प्रतिरुप मात्र पाएँ । नेताले आदेश दिएपछि मान्छे मार्नै पनि तयार भएर क्रान्तिको नाटक गर्ने माओवादी कार्यकर्ताको अविवेकको त सम्झना पनि नआए हुने । के गर्नु तथ्य नमेटिने रहेछ ।

गत तीन दशकको राजनीतिक घटनाको प्रत्यक्ष साक्षी र पहिलो दशकमा त त्यसको प्रयोगकर्ता समेत भएको आधारमा मुल्याङ्कन गर्दा आज मैले आफैंलाई एक दयनीय नेपाली नागरिकको रुपमा पाएँ । अरिङ्गाल चेतनाले आफ्नो र देशको कुनै उन्नति गर्न सकिदैन भन्ने लागेर आजभन्दा २३ वर्ष अगाडि दलगत संलग्नताबाट अलग गराएको थिएँ आपूmलाई । मसँगै दलमा काम गरेका र आजसम्म त्यहीँ र त्यसैगरी रहिरहेका मेरा साथीहरू मैले ठीक गरेको थिएँ भन्ने ठान्छन् आज आएर । आफ्नो जिन्दगी गुमनाम झोले भएरै बित्न लागेकामा पश्चाताप छ उनीहरूलाई । पालिकाका वडाहरूमा पुगेको बजेटमै लुछाचुडी गरेर चित्त बुझाउन बाध्य साथीहरूलाई देख्दा त मेरो आफ्नो निकै प्रगति भएको जस्तो लाग्छ । तर एक नेपाली नागरिकको रुपमा हेर्दा म कति सबल भएको छु त !

के मैले सोचेको बाटोमा हाम्रो प्राज्ञिक र साहित्यिक क्षेत्र लागेको छ ? दलकै तबेलाबाट सबैभन्दा बढी लात्ती हान्नसक्ने घोडाहरू नै आइपुग्छन् ती क्षेत्रको सरकारी नेतृत्व गर्न । हुँदाहँुदा सरकारी र सार्वजनिक संस्थामा मात्र नभएर नागरिक समाज नाम दिइएका एनजिओ तथा निजी क्षेत्रद्वारा सञ्चालित संस्थाहरूमा पनि पार्टीकै घोडाहरूको हिहिले कान टट्याउन थालिसक्यो । वर्षामा हिलोले हिड्न मुस्किल पर्ने घर अगाडिको बाटोमा एक पोका गिटी हाल्न पनि वडाअध्यक्षले कुन पार्टीको कार्यकर्ताको घर हो यो भनेर खोजीनिति गर्छन् । नागरिकताको सिफारिस लिन वडा कार्यालय जाँदा पनि कति ठाउँमा त पार्टीकै कार्यकर्ता अघि लगाउन आवश्यक छ । दलहरूको यस्तो दलदलमा मेरो नागरिक हैसियत के हो ? बेलाबेला उठिरहने यो प्रश्न यस बेलुकीको समयमा पनि ज्वलन्त बनेर आइरहेको छ दिमागमा ।

यत्रो महामारीको बेला छ । आफ्नै घरमा केही भइगयो भने मैले आफैं गर्नसक्ने कुरा कुनापसी रुनुबाहेक के छ ? देशको राजनीतिमा भइरहेको यत्रो जालसाँजीलाई रोक्न म र मजस्ताहरूले खै के गर्न सक्यौँ त ? म आफुले त यस्ता निकम्मा दल र तिनका तबेलाबाट खटाइएका प्राणीहरूलाई भोट नहाल्ने निर्णय गरिसकेँ । तर के मेरो समाजका मान्छेले मैले भोट हाल्न जरुरी छैन भन्दा पत्याउछन् ? चुनावको मुखुन्डो झुन्ड्याएपछि जस्तोसुकै तानशाहीलाई पनि लोकतन्त्रवादी मान्न प्राध्यापकहरू नै तयार हुने मात्र होइन उसकै पछि लागेर धुपधुवाँर गर्न लागिपर्ने हाम्रो समाजमा लोकतान्त्रिक चेतनाको विकास गर्न मैले के गरेँ खोइ ?यस देशका विश्वविद्यालयहरूको नियुक्ति र बढुवामा मैले सोचेजस्तो प्राज्ञिक क्षमता र कार्यकुशलता हेरिन्छ कि राजनीतिक दलको सदस्यता ? शिक्षाप्रणालीमाथि एक अक्षर नलेखी गजलै लेखेर जिन्दगी काट्नेहरू विश्वविद्यालयको प्राज्ञिक नेतृत्वमा पुगेका खबर के नयाँ छन् र यहाँ ?

आज मसँग छिमेकी मर्दा मलामी जाने हिम्मत बाँकी छैन । साथी बित्दा श्रद्धान्जली लेख्न हात काँप्ने बेला छ । यस महामारीमा परिवार जोगाउन घर भित्र लुक्नुबाहेक अन्य उपाय छैन । के यस्तै जीवनलाई सार्थक मानौँ म अब ! मलाई लाग्छ म एक आफैंले आफैंलाई दया गर्नसक्ने पात्रभन्दा बढी केही बाँकी रहिँन । एउटा विद्यावारिधि गरेको, विश्वविद्यालयमा प्राध्यापन गर्ने र समाजमा राम्रै नाम भएको नागरिकको त यस्तो हालत छ भने सामान्य नेपाली जनताको स्थिति कस्तो छ सहजै अनुमान गर्न सकिन्छ । उनीहरूको ‘इन्नोसेन्स नै ब्लेसिङ’ भएर मात्र ज्यान जोगिएको छ शायद ।

सम्झिन्छु जसरी पनि यसै देशमा गरिखान्छु भनेर कम्मर कस्दै अङ्ग्रेजी साहित्यमा मसँगै स्नातकोत्तर तह उतीर्ण गरेको एक–डेढ दशकसम्म नेपालमै बसेका कति साथीहरू अचेल पश्चिमी देशमा गेटकिपरको जागीर खान्छन् र मन बहलाउन समुद्री किनारको बालुवामा सुतेको फोटो राख्छन् फेसबुकमा । म देख्छु मेरा साथीको अनुहारको त्यो उर्जा र चमक त्यै बालुवामा परिणत भएको छ । हामीभन्दा पछाडिको पुस्ताको सपनामा अब नेपाल छैन । साठी लाख खर्च गरेर एमबिबिएस पढेकी मेरा सहकर्मीकी छोरीले गत चारवर्षसम्म यही देशको सेवागर्ने अठोटमै मासिक चालीस हजारको जागीर खाएपछि यसपाली डिभी भरेकी छन् । यस्तो भयानक तहको प्रतिभापलायनलाई रोक्न म र मजस्ताहरूले के गर्न सकिरहेकाछौँ ? जति यस्ता प्रश्नहरू आउदै गए मेरो दिमागमा मैले आपूmलाई त्यति नै निरीह नागरिक भएको अनुभूति गदैँ गएँ ।
तर यी अरिङ्गाल, खरानी र गोबर कित्तामा ठिटाहरूलाई त यी सबैको केही मतलबै छैन बा ! यिनीहरू त आआफ्ना ख्वामितहरूको धुपधुँवारमै जिन्दगीको सबै सार्थकता भेटिरहेकाछन् गाँठे ! यतिबेला मलाई ओलीभन्दा पनि ओली प्रवृत्तिको जयगानवालाहरू देखेर दिक्क लागेको छ । गत छ महिनादेखि क्रमशः विकास हुदैआएको रा(ला)जनीतिको जेठ ७गते दिनभर भएको प्रदर्शनी र त्यसमा समाजले चेतनशील भनेर पत्याएकैहरूको स्वाँठपन देखेर दिनभरि टाउको भारी भएको छ । साँझमा त्यो पीडा झन्झन् बढ्दै गयो । तेइस वर्षपछि यस देशको राजनीतिले मेरो टाउको फेरि दुखायो । के गरौँ, कसो गरौँ भयो । अरु कुनै उपाय नभएपछि आफ्नो भावको निश्कर्ष सबैले बुझ्नेगरी फेसबुकमा राख्ने निधो गरेँ र लेखेँ :
अहिले पनि
ओलीको समर्थन गर्ने मान्छे
निकै भएको देशमा
कसरी बस्ने होला !!!
अतिको पनि अति भो !!
त्यसको माथि देखियो “Ramji Timalsina is feeling heartbroken in Itahari”.

हो, साँच्चै म अत्यन्त दुःखी भएको थिएँ । मुटु फुट्ने तहकै वेदना थियो मनमा । राजनीतिलाई लिएर जीवनमा यति पीडा मलाई कहिल्यै भएकै थिएन । पचास र साठीको दशकका त्यत्रा विध्वंशको बीचमा पनि केही आशाका किरण देखिन्थ्यो । सत्तरीको दशकको शुरुमा म साथीहरूको निराशाको उत्तरमा भन्थेँ : ‘अब संविधान बन्दैछ । त्यसपछि स्थायी सरकार बनाउन मद्दत गर्नुपर्छ भएमध्येका अलि भरपर्दो दललाई । यिनीहरू पनि राम्रै चेतेका छन् र केही राम्रो त पक्कै हुन्छ । आशा गरौँ ।’ साथीहरू पनि पत्याउथे । तर आज यो मेरो मात्र नभएर मेरो पुस्ता र त्यसपछिको पुस्ताको पनि साझा चिन्ता हो, साझा निराशा हो : ‘अब देश बन्ने सबै सम्भावना सकिए । यहाँ बसेर गल्ती गरिएछ ।बेलैमा विदेशिएको भए त बरु ढुक्क हुनेथियो होला ।’ यो सबै सम्झिँदा लागिरहेको छ : के पो गर्ने होला अब ! यो जिन्दगी त आखिर बिताउनै छ । समाजको उन्नतिमा आफुलाई समर्पित गराउदै एक अनुकरणीय जीवन बाँच्न सकिन्छ यहाँ भन्ने आशा मर्दैगएको अवस्था छ ।

यति सोचुन्जेलमा फेसबुकमा अघि भर्खर राखेको स्टेटसमा हनुमान, गोबर, खरानी र अरिङ्गालको आक्रमण प्रारम्भ भैसकिगो । ‘आइ लभ यू ओली बा’ भनेकै भरमा पोटिलो जिन्दगी चलाइरहेको एक स्थानीय अरिङ्गाल भुनभुनायो : ‘किन सर, बस्नै गारो हो भने भन्नू है हामी छौँ ! वातावरण मिलाउनुपर्छ !’ उसले त पुरै दलालीको भाषा पो बोल्यो । आफ्नो असरी चरित्र देखाइहाल्यो । मलाई पनि झोँक चलिरहेकै थियो । जवाफ लेखेँ : ‘विवेकहीनहरूलाई भन्ने केही छैन अब !’ एकछिन बकबक गरेर लाग्यो ऊ ओलीको धुपधुुँवारतिर । आज उसलाई अरु कामका लागि खासै फुर्सद छैन, उसका ओली बाले उसलाई पुग्ने कामको व्यवस्था गरेकै छन् । एकछिनमा एकजना कवि साथीले उसको नाम कोट गर्दै लेखे : ‘…. शरणम् ! ता होला नि राम सर !’ त्यसपछि दुई जोडी खाली लात्ती उचालेको चित्र पनि राखे उनले । यसको अर्थ हो : ‘लात्तैलात्तले हान्नुपर्ने …’ । यस टिप्पणीले सङ्केत गर्छ पार्टीको नाममा दलाली गरेर जिविका चलाउनेहरूप्रति पार्टीको झोला नबोक्ने सिर्जनात्मक नागरिकहरूको दृष्टिकोण कस्तो भैसकेको छ ।

त्यतिबेलै मेरो छिमेकमै रहेका र ओली गोठको सिफारिसमा यसो एकदुइटा स्थानीय स्तरका समितिमा सदस्य भइटोपलेका काम्रेडले खोके : ‘म छु नि’ । उनको खुट्टी त देखेकै हो । मेरो जवाफ पाए : ‘तपाइँहरू भएरै त गाह्रो भयो नि’। ती पनि चुपचाप ओलीगानमा लागेक्यार, थप टिप्पणी गरेनन् ।
त्यतिबेलै इटहरी पश्चिमको एउटा काङ्ग्रेसी बहर ड्वाँ ग¥यो : ‘सरले त त्यतिबेला स्थाइत्व हुन्छ भन्दै सूर्यमा भोट हालेँ भन्नुहुन्थ्यो । सर जत्तिको मानिसलाई त झुक्याएकाले अरुलाई के गर्लान् र आज पनि झुक्याएर गफ दिइरहेका छन् ।’ आज चाहिँ बल्ल मौका पाएँ भनेजस्तो गरी लेख्यो यस बच्चोले । विचरा उसलाई के पत्तो ओलीभित्र गिरिजाको प्रेतले घर जमाएको छ भन्ने । अब त कम्निस्टहरू खेर गए हाम्रो पालो आयो भनेर मुख मिठ्याउदैछन् त्यस गोठका घोडाहरू पनि । जवाफ भेट्यो : ‘तिम्रो पनि त ताल कहाँ कम छ र !’ बच्चो एकाएक गायब ।
पुलुक्क देखाप¥यो एउटा भैँसी कथाकार काठमाडौबाट र लेख्यो : ‘जोगमुनि नजिकै छ ।’ शब्दको संवेदनाको पहिचान गर्न नसक्ने यस्तो मान्छे कसरी साहित्यकार भयो कोनि खै ! ‘त्यो ठट्यौली होइन’ भनेपछि उसले थप्यो : ‘प्रचण्डको समर्थकलाई यस्तै हुन्छ सर जवाफ !’ फेरि तुरुन्तै लेख्यो : ‘तपाइँ एमाले होइन नि ! कि हो ?’ यस्ता धेरै बच्चाहरूलाई पार्टीबिनाको मान्छे नै हुदैन भन्ने भ्रम छ ।
यस्तै टिप्पणी आइरहे । काङ्ग्रेस, माओवादी र माधव नेपाल गोठका एमालेका समर्थकहरूले मेरो भनाइको सहमतिको लयमा टिप्पणी गरे । ओली गोठका एमाले कार्यकर्ताका आफ्नै स्तरका टिप्पणी आइरहे । ती मध्ये चारवटा प्रतिनिधि प्रतिक्रिया यहाँ उल्लेख गर्छु ।

तीमध्ये पहिलो थियो वलीको समर्थन गर्दागर्दै थाकेका तर माया मारिनसकेका एक क्याम्पसका अध्यापकको । उनले लेखे : ‘वरिपरि थुप्रै हुनुपर्छ सर ! कसैलाई वली देख्नेबित्तिकै झोँक चल्ने, कसैलाई ओलिबिना गाँसै नछिर्ने । हामीलाई हुनेचाहिँ उस्तै ।’ उनी मेरो कित्ताकाटको सुरमा थिए । अर्को अलि जोगिएको तर ओलीपे्रमले भुतुक्कै भएको प्रतिक्रिया थियो : ‘आखिर फोहोरी मध्येबाटै एउटा छान्नुपर्ने भएपछि अलिक आँटिलै छान्दा रहेछन् मानिसहरूले भन्ने मेरो बुझाइ रह्यो ।’ यसै बीचमा अर्का ओलीभक्त ट्वाँकप्रसादको टिप्पणी आयो : ‘सर म्ख् खुल्यो भने ट्राइ गर्नुस् ।’ हो उनीहरू त यही चाहन्छन् नै अलेली आलोचनात्मक चेत भएका मान्छेहरू कतै गइहालुन् र उनीहरूको लुटतन्त्र निर्वाध चलिरहोस् । तिनलाई उनकै स्तरको जवाफ दिएँ : ‘बेवकुफहरूसँग सल्लाह मागेको होइन ।’ शायद उनी अरु केही थप पेगको व्यवस्थातिर लागे ।
आफ्नो फाइदाका लागि जोसुकैसँग सम्झौता गर्ने र काम सकिएपछि तिनको वास्ता नगर्ने प्रवृत्ति पनि निकै छ हाम्रो समाजमा । कति त कामभन्दा बढी प्रचारमा जोड दिन्छन् ।ओली पनि हाम्रा तिनै प्रवृत्तिको उन्नत रुप त रहेछन् नि भन्ने लागिरहेको बेलामा अलि लामै जिद्धि गरेर मलाई राजनीति पनि सिकाउन खोजे ओलीजस्तै कामभन्दा प्रचारमा धेर विश्वासगर्ने एक स्थानीय विदुषकले । निकै विश्वपरिवेशको गफ दिदैथिए उनी । नैतिकता पनि परिवेशअनुसार फरकफरक हुने भाषणै पो गर्न थाले बाबै उनी त । मैले ‘तिमी न्युनतम नैतिकताभन्दा माथिका प्राणी हौ कि कसो?’ भन्ने प्रश्न गरिदिएपछि वेपत्ता भए ती पनि फेसबुकबाट ।

आएका टिप्पणीमध्ये असाध्यै वौद्धिक, यथार्थमा आधारित र सन्तुलित थियो रोहेज खातिवडाको । सामाजिक न्याय र आलोचनात्मक चेतको प्रवद्र्धनमा मिडियामार्पmत् निकै प्रभावकारी काम गरिरहेका उनले लेखे : ‘त्यही त सर । सोच्छुः अब ओली नभाको देशमा जानुपरो । तर हरेक देशका आ–आफ्नै ओली हँुदा रहेछन् ।’ कति गम्भीर छ यो भनाई । संसारका सारा विद्रोहरू यिनै ओली (गिरिजा वा प्रचण्ड भनेपनि हुन्छ) प्रवृत्तिका विरुद्ध हँुदैआएका छन् । नेपालकै यी तीन र यिनका सहश्र हनुमान सेना पनि त सामाजिक न्याय, समानता र मानवताको नारा दिदै, कति जेलनेल लगायतका दुःख झेल्दै यहाँसम्म आइपुगेका हुन् नि । आखिर सर्वहाराकै नेतृत्व सत्तामा पुग्दा पनि अन्तिममा ओली नै हुने रहेछन् । ‘सर्वहारा’ शब्दको अर्थ नै ‘केही नहुने’ बाट ‘जे भेटेपनि जसरी पनि खाएर निर्लज्ज पचाइदिने’ भन्ने अवस्थामा ल्याइपुु¥याए यी कम्निस्टका नक्कली मुखुन्डोहरूले । के सबै चिज परिवर्तनशील छ मान्छेको प्रवृत्ति बाहेक ? सबैतिर त्यस्तो त देखिदैन । तर हाम्रोमा चाहिँ किन त्यस्तो मात्रै भइरहेको छ ?

यस्तै सोच्दै र टिप्पणीहरू पढ्दै खाना खाइयो । त्यसपछि पछिल्लो कुनै नयाँ समाचार आइहाल्यो कि भनेर चासो राखियो । रेडियो, टेलिभिजन र फेसबुक कतैपनि केही नयाँ आएन । शीतलनिवास देश खरानी पार्नेगरी चुपचाप रह्यो । दिउसोकै घटनामाथिका प्रतिक्रियाहरू जारी छन् । पक्षविपक्षमा विभाजित छ मत ।ओलीको राजनैतिक नैतिकतामाथि खरा प्रश्नहरू उठेका छन् आज । शीतलनिवाससँगको उनको साँठगाँठमाथि निकै शङ्काहरू गरिएका छन् । मेरो मनमा कताकता ठुलै अनिष्ठको आभास भइरहेछ । टाउको दुखेको दुख्यै छ ।

त्यसै बेला यस विशिष्ट अनुभव र अनुभूतिलाई लेखनमा उतार्नुप¥यो भन्ने विचार आयो । माथिल्लो तलाको अध्ययनकक्षमा छिरेँ । किन हो आज पुस्तकजन्य कुरामा ध्यानै जाँदैन त ! बारम्बार केही नयाँ समाचार आइहाल्छ कि भन्ने चासोले कुदाएर फेसबुकमै पु¥याउँछ । रेडियो र टेलिभिजनभन्दा पहिले यहीँ आउँछन् समाचार । तर दस बज्दासम्म त्यस्तो केही विशेष समाचार आएन । त्यसपछि वाइफाइ समेत बन्द गरेर सुतियो ।

अरु दिनजस्तो सुत्नासाथ भुसुक्क निदाउन सकिएन आज । छटपटछटपट भइरह्यो । ओठमुख सुख्खा हुने पानी पिउन मात्र मन लाग्ने भइरह्यो । टाउको दुखाइ झन् बढ्यो । जीवनमा पहिलो पटक सुत्नेबेलामा टाउको ठिक पार्न सिटामोल खाएँ । तर त्यसले पनि दुखाइ र छट्पटी कम गरेन । साँढे एघार बजेसम्म थाहा छ निद्रा नपरेको । त्यसपछि खै कुनबेला निदाइएछ ।

बिउँझदा भर्खर दुई बजेको छ । यति छिटो बिउझेको त थाहा थिएन मलाई यसअघि । किन यस्तो भइरहेको छ आज ! त्यसपछि एकछिन निदाउन सकिन्छ कि भनेर ओछ्यानमा पल्टिरहेँ । काम दिएन । पार नलागेपछि चार बजे उठेँ । अब नुहाइधुवाइ गरेर हिजोको अनुभव र अनुभूति लेख्न थाल्छु भनेर अध्ययन कक्षभएको तलामा गएँ । वाइफाइ खोलेँ । केही नयाँ समाचार आयो कि भनेर खोजी हेरेँ । खासै केही छैन । फेसबुक‘लगइन’ गरेँ । त्यहाँ त्यही हिजो बेलुकाको मेरो स्टेटसमा केही थप टिप्पणी र लाइकहरू थपिएका छन् । खासै नयाँ केही छैन । तर बसेको कुर्सीबाट उठेर स्नानकक्षमा पस्ने कुनै जाँगर छैन । यताउता ग¥यो फेसबुकमै आँखा पुग्छन् । साँढे पाँच बजेको नेपाली खबरको हेडलाइन सुनेर मात्र उठ्छु भनेर झ्यालबाट देखिने हिमालतिर हेर्दै टोलाएर बसिरहेँ ।

फ्याट्ट नोटिफिकेशन आयो फेसबुकमा । खोलेर हेरेँ । लेखेको छ : चुनावको घोषणा ।
निर्वाचनको मुखुुन्डो देखाएर प्रजातन्त्रको दुहाइ दिदै निरङ्कुशता लाद्ने खेलमानै रमाउने भएछ ओलीविद्या नेक्सस । म राती छट्पटाउदै निदाउन नसकेको समयमा अर्को नाटक पट्टाक्षेप भएछ । विद्याले ओली र देउवा दुबैका समावेदन अस्वीकार गरिछन् । मध्यरातमा मन्त्रीपरिषद्को बैठक बसेछ । प्रतिनिधि सभा भङ्ग गर्ने र कात्तिक २६ गते शुुक्रबार पहिलो चरणको र त्यसको एक हप्तापछिको मंसिर ३ गते शुक्रबार मध्यावधि निर्वाचन गर्ने निर्णय भएछ । त्यसमा तुरुन्त शीतलनिवासको रबरस्ट्याम्प ठोकेपछि विश्राम लिएछ लोकतन्त्रको दुहाइ दिने गैरलोकतान्त्रिक नेक्ससले । त्यो यतिबेला शायद मस्त निद्रामा होला ।

शुक्रबार र जेठ महिना पटकपटक अशुभकारक नै भएका छन् नेपाल र नेपालीका लागि । अनि त्यस्तै छ मध्यरातसितको नेपाली ऐतिहासिक सम्बन्ध पनि । कोत पर्वदेखि, मदनआश्रित हत्या, विरेन्द्रको वंशनाश हुुँदै केपी–विद्या नेक्ससको यो नौटङ्की पनि मध्यरातमै किन भइरहेको छ ! कतै यो अन्तैबाट आयात गरिएको आपराधिक शैली त होइन !!! अब त झन् घृणा उत्पन्न भयो ओलीप्रति । गैरजिम्मेवारीको पनि हद त हुन्छ नि, यार !

यति बिहानै साइबर स्यालको हुइँया पनि छैन । विचराहरू हिजोको धपेडीले गलेर निदाए होलान् । ती पनि त मान्छेकै कायामा छन् नि विचराहरू । बरु सपनामै ओलीले दस वर्ष सबैलाई ठिक पारेर आफ्नो दानापानीको निर्वाध व्यवस्था गरेकोमा तालीपिटिरहेका होलान् । तिनका दुःख पनि लाख छन् । आफ्नोपन सबै गुमाएर एक सनकी र अहंकारी प्रभुको चरणमा जीवन समर्पण गर्नुपरेको व्यथा जो छ ।

साँढे पाँच, ६ र साँढे ६ बजेका बुलेटिन सुनिसक्दा सात बज्यो । अभैm कुर्सीबाट उठ्न मन छैन । कतिले सातबजे ताजा खबर भनेर त्यस बासी समाचारलाई पोस्ट गरे । बल्ल उठ्न थालेछन् हनुुमान, खरानी, गोबर र अरिङ्गालहरू । अब टिप्पणी र क्रियाप्रतिक्रियाले सामाजिक सञ्जाल ढाक्नेछन् । तर तिनको के अर्थ !

मलाई अब कुनै अपडेट लिने इच्छा नै छैन । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि केही नदेख्ने राजनीतिक नेतृत्व र आफ्ना ख्वामित्भन्दा अरुको कुनै गुण नदेख्ने तिनका कार्यकर्ता भएको र सबै नागरिकलाई कुनै न कुनै प्रकारले कार्यकर्ता नै बनाउने अभियान भएको देशमा कसरी स्वतन्त्र र विवेकशील मानिसले विचार प्रवाह गर्न सक्छन् र ! समाचार र फेसबुक बन्द गरेर त्यसै टोलाएर पो बसेछु । आठ बजे कान्छी छोरीले ‘बाबा’ भनेर बोलाएपछि पो झसङ्ग भएँ ।

गत पुसको दोस्रो साता कलेजको स्टाफरुममा एकजना आपूmलाई पार्टी छोडिसकेको बताउने ओलीपन्थी मित्रले ओलीको कदमको बचाउ गर्दै ‘नैतिकता पनि परिस्थिति अनुसार फरक हुन्छ । यी डाम्नाहरूलाई ठिक पार्न सकेभने ओलीजीको यो कदमले पुरै नैतिक आधार प्राप्त गर्छ’ भन्दा अब त अति भो क्याम्पस तहमा अध्यापन गर्नेहरूको नैतिकताप्रतिको यस्तो धरातलमा पनि टिप्पणी नगर्दाचाहिँ ठिक हुदैन भनेर भनेको थिएँ : ‘अहिले पनि ओलीको बचाउ गर्नुभनेको राजनीतिक बेवकुफीभन्दा बढी केही होइन’ । ती मित्र मसँग केही दिन मन फुकाएर बोलेनन् । त्यसपछिका दिनका ओलीजीका क्रियाकलापले त अलि कुरा बुझे कि भनेको त अभैm थपेर लेखे भर्खरै ‘केको लोकतन्त्र, अब दस वर्ष ठोकतन्त्र !!’ कताकताबाट ओइलाएको कम्युनिज्म गुन्द्रुकको अवतारमा बाहिर आइजाने क्या । गुन्द्रुकलाई हिमालयन सुप भनेर ब्रान्डिङ गर्ने नेपालीहरू पो त । के कम छन् र सबै ! यस्ता ओलीभक्तहरूको ठुलो सङ्ख्याले र यसै प्रवृत्तिका कार्यकर्ताहरूले भरिएका पार्टीहरू स्याउँस्याउँति भएको समाजको उन्नति कसरी होला र खै ?

मलाई व्यक्तिगतरुपमा गणतन्त्र, प्रजातन्त्र (लोकतन्त्र), राजतन्त्र वा अन्य कुनै व्यवस्थाभन्दा बढी विश्वास शासक, नेतृत्वकर्ता र नागरिकको विवेकमा छ । यस्तो विवेकको अन्य व्यवस्थामा भन्दा बढी र सही प्रयोगको सम्भावना प्रजातान्त्रिक व्यवस्थामा हुने भएकाले म यस व्यवस्थालाई अरुभन्दा बढ्ता रुचाउँछु । तर अचेल प्रजातान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिने निर्वाचनलाई केवल शासकले आफ्नो अकर्मण्यता लुकाउने मुखुन्डोको रुपमा प्रयोग गर्न थालेका धेरै उदारहण छन् । नेपालमा त २०५१ देखि अहिलेसम्म त्यही अभ्यास भइरहेको छ । जननायकहरू भएको वा हुनखोज्ने समाजमा सफल हुने यस व्यवस्थामा खलनायकहरूले नायकभएको अभिनय गर्दा हाम्रो हालत हरिविजोग भएको भन्ने मेरो निश्कर्ष छ । त्यही भएर अहिले म दुई वर्ष जति पहिले अभि सुवेदीले कान्तिपुर दैनिकको एक लेखको निश्कर्षमा लेख्नुभएको एउटा वाक्य सम्झिरहेकोछु : ‘एक्काइसौँ शताब्दीको निरङ्कुशतन्त्र बन्दुकको बलमा होइन मतपत्रको बलमा स्थापित हुनेदेखिन्छ’ । यसको उदाहरण खोज्न नेपालभन्दा बाहिर जानै पर्दैनजस्तो भइसक्यो । सभामुख पनि राष्ट्रपतिजस्तै आफ्नो समर्थक भएको भए संसद विघटननै नगरी ओलीले अभिसरको यस भनाइलाई पुष्टि गरिदिने रहेछन् । कताबाट प्रचन्डले सभामुखमा आफ्नो मान्छे भर्तीगर्न सकेकाले अर्को चुनावसम्म पर्खिनुपर्ला जस्तो भो यसकालागि ।

चुनाव त घोषणा भैसक्यो । यो सम्पन्न हुन पनि सक्छ । तर मैले मतदान गर्न मिल्ने खालको कुनै दल बाँकी रहेन अब । प्रजातन्त्रको मुखुन्डो भिरेका सामन्तहरू केन्द्रदेखि वडासम्म छ्याप्छ्याप्ती भएका दलहरूलाई कसरी भोट दिने अब ? यिनीहरूबाट यस देशको रक्षा र उन्नति होला भन्ने सबै विश्वास समाप्त भैसक्यो । संसदमा बहुमत भएको अवसरलाई देशको हितमा प्रयोग गर्नुको सट्टा आफ्नो दलभित्रको पनि एक आसेपासे गोठको उत्थान गर्दै आफु नवसामन्त हुने खेलोमा मात्र लागे काङ्ग्रेस, एमाले र माओवादी सबै आआफ्नो पालोमा ।

कसैले पनि स्थायी सरकार दिन नसकेको इतिहासलाई हेर्दा संविधान सभाले गरेको सर्वेक्षणमा यस देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न जरुरी छ भनेर म र मेरा धेरैजना साथीहरू लगायत ठुलो सङ्ख्यामा नागरिक अभिमत प्रकट भएको थियो । तर त्यसलाई वेवास्ता गर्दै दुईचार जना नेताको सनकमा अहिलेको संसदबाटै कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गरिएको थियो । संविधान सभालाई त जनताको अभिमतलाई स्वीकार नगर्न बाध्य पार्ने यिनै शासकहरूको अगुवाइमा यस देशको उन्नति हुने कुनै सम्भावना देखिदैन ।

अब फेरि संविधान फेर्नतिर लाग्दा देशै फेरिने हो कि भन्ने डर छ । यही संविधान अन्तर्गत रहेर अहिलेकै राजनीतिक दलहरूबाट सकारात्मक परिवर्तन गराउने सम्भावना देखिदैन । राजनीति उनीहरूको पेशा/ व्यावशाय भएकाले उनीहरूबाट देशसेवाको त आसै गर्नुपरेन । यसभन्दा अझ ठुलो बिडम्बना त अधिकांश नेपाली जनता (नागरिक कि प्रजा?)हरू उनीहरूले मतदान गर्दैआएको चुनावचिन्हलाई आपूmलाईभन्दा बढ्ता प्रेम गर्छन् । गाउँगाउँमा नागरिक चेतना र आलोचनात्मक चेतको विकास नगरी मैले (केही अरुले पनि) सोचेजस्तो नागरिक चेतनाले भरिएको परिस्थितिको निर्माण हुनेवाला छैन । अब कसरी अगाडि बढ्ने भन्नेमा शिक्षित (प्रमाणपत्रधारी होेइन, विवेकधारी) र चेतनशील नागरिकहरूले सोच्नैपर्ने बेला भएको छ । सबै कुरालाई सतहमा मात्र बुझ्ने हामी धेरैको बानीमा सुधार गरेर गलत राजनीतिक र सामाजिक प्रवृत्तिलाई बेलैमा रोक्न सकिएन भने हिटलरलाई सत्तामा पु¥याएका जर्मनहरू पछुताएजस्तै पछुताउनुपर्ने छ हामी नेपालीहरूले निकट भविष्यमै ।

मेरो स्टेटसमाथिको अन्तिम टिप्पणी थियो राजनीतिबाट दिक्क भएर शिक्षा व्यावशायमा लागेका एकजना प्राध्यापक डाक्टरको : ‘झन बस्नै पर्ने भयो’ । कुुरा त मनासिव छ । तर खै कसरी बस्ने र यहाँ ! समाजमा खासै परिवर्तन ल्याउन सकिदैन भने त्यहाँ बसिरहनुको मात्र के अर्थ हुनेरहेछ र !

राजदेवी चोक, इटहरी उपमहानगरपालिका २, सुनसरी