अमेरिकी गायक माइक पोस्नर सगरमाथाको चुचुरोमा


Harek Pal June 1, 2021

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा अमेरिकी गायक माइक पोस्नरले पाइला टेकेका छन्।

पोस्नरले आज बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् । सेभेन समिट ट्रेक्सका अनुसार गायक पोस्नर सगरमाथा आरोहणका लागि अप्रिल ७ मा नेपाल आएका थिए।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकाल्दै चर्चामा आएका थिए । ३३ वर्षीय माइसक विश्वप्रसिद्ध ग्रामी अवार्डका लागि समेत मनोनयनमा परेका थिए । सन् २०१७ मा उनको आइ टुक अ पिल इन इविजा गीत सङ्ग अफ द इयर ग्रामी अवार्डको लागि मनोनयनमा परेको थियो ।

यस्तै सोही गीत २०१७ मै आइहर्ट रेडियो म्युजिक अवार्डका लागि डान्स सङ्ग अफ द इयर र बेस्ट म्युजिक भिडियो विधामा मनोनयनमा परेको थियो ।

त्यसअघि २०१६ मा पनि सोही गीत एमटिभी भिडियो म्युजिक अवार्डका लागि बेस्ट इलेक्ट्रोनिक भिडियो र एमटिभी युरोप म्युजिक अवार्डसका लागि बेस्ट सङ्ग विधामा समेत मनोनयनमा परेको थियो ।

उनी २०१० मा जेड अवार्डका लागि बेस्ट न्यू आर्टिस्ट र एमटिभी युरोप म्युजिक अवार्डका लागि बेस्ट पुस एक्टमा पनि मनोनयनमा परेका थिए ।

कविता संग्रह टियर ड्रप्स एण्ड ब्यालुन्स का सर्जक माइकले कैयौ गीत समेत लेखेका छन् । केही गीत सहलेखन पनि गरेका छन् । उनको सहलेखनमा मरुन ५ को सुगर, जस्टिन विवरको ब्वाइफ्रेन्ड आदि पर्छ भने फरेल विलियम्स, स्नुप डोग, विज खलिफा लगायत गायकले उनका गीत गाएका छन् ।

सन् २०१९ मा माइकले अमेरिकाको पूर्वी कोष्ट न्यू जर्सीदेखि पश्चिम कोस्ट लस एन्जल्ससम्मको २ हजार ८ सय ५१ माइलको दूरी ६ महिना पैदल हिँडेर पूरा गरेका थिए ।