एनआरएन सदस्य बनाउन अनधिकृत रुपमा कागजात कब्जा


हरेकपल June 7, 2021

लण्डन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत(एनसीसी यूके) को आसन्न निर्वाचनलाई लक्षित गर्दै बेलायतमा सदस्य बनाइदिने नाममा अनधिकृत रुपमा विभिन्न व्यक्तिहरुको डकुमेन्ट(कागजात) लिने क्रम बढेको छ ।

एनआरएनको सदस्यता आवेदनका लागि सम्बन्धित व्यक्तिको परिचयपत्र, आवासीय परिचय पत्र तथा ड्राइभिङ लाइसेन्स लगायतका व्यक्तिगत कागजात आवश्यक पर्छ । त्यस्तै, पूर्व गोर्खा सैनिकहरुको कागजात पनि सदस्यता आवेदनका लागि प्रयोग हुने गरेको छ ।

तर, साउथ इस्ट लण्डनस्थित प्लमस्टेड क्षेत्रबाट सयौं भूतपूर्व गोर्खा सैनिकहरुको कागजात अनधिकृत व्यक्तिहरुले मागेर लगेको खुलासा भएको छ ।

वृद्ध भूतपूर्व गोर्खा सैनिक र उनीहरुको परिवारका कागजात केही व्यक्तिहरुले लगेको र लामो समय बितिसक्दा पनि फिर्ता नगरेको भन्दै केही भूतपूर्व गोर्खा सैनिकहरुले आफन्तहरुलाई बताउन थालेका छन् ।

प्लमस्टेड क्षेत्रबाट मात्रै चार सय भन्दा बढी पूर्व गोर्खा र तिनका परिवारका कागजात लगेको सूचना प्राप्त भएको छ । खासगरी ग्रीनविच गोर्खा एक्स सर्भिसमेन असोसिएसन(जीगेसा)का अध्यक्ष ओमप्रसाद गुरुङ र महासचिव हरिकुमार मल्लले पूर्व गोर्खा र तिनका परिवारका सदस्यहरुको कागजात लगेर एनआरएनए एनसीसी यूकेको विभिन्न पदमा उम्मेदवार बन्न चाहने व्यक्तिहरुलाई दिएको बताइएको छ ।

साउथ इस्ट लण्डन निवासी एक उम्मेदवारलाई सहयोग गर्न उनका समर्थकहरुले त्यसरी अनधिकृत रुपमा कागजात संकलन गरेको स्थानीय एक अभियन्ताले बताएका छन् ।

आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरुले त्यसरी कागजातको दुरुपयोग गरेको बुझिएको छ । केही वृद्ध पूर्व गोर्खाहरुले त आवश्यक परे ब्रिटिश प्रहरीमा उजुरी दिने चेतावनीसमेत दिएका छन् ।

एमआइएस प्रणालीबाट सदस्यता आवेदन दिँदा सम्बन्धित व्यक्तिको परिचयपत्र अनिवार्य पर्छ भन्ने उसकै व्यक्तिगत इमेल अकाउण्ट पनि चाहिन्छ । इमेलमा नै पासवर्ड आउने र त्यही पासवर्डबाट आफ्नो अकाउण्ट खोलेर मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

कागजात लिएका व्यक्तिहरुले छुट्टै इमेल अकाउण्ट(आइडी) बनाउने र पासवर्ड पनि आफैँसँग राखी अर्काको नाममा आँफैंले मतदान गर्ने तयारी गरेको बताइएको छ ।

बेलायतको कानुन अनुसार कसैको पनि कागजात अनधिकृत रुपमा अर्को व्यक्तिले प्रयोग गर्न पाउँदैन । जीडीआरपी एक्ट २०१८ अनुसार कुनै पनि व्यक्तिले अर्को व्यक्तिको व्यक्तिगत कागजात प्रयोग गर्न पाइँदैन । कोही कसैले त्यसरी प्रयोग गरेको पाइएमा कारबाही हुने छ ।

एनआरएन यूकेको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ३१ मा निर्वाचन हुँदै छ । त्यसका लागि अहिले सदस्यता अभियान चलिरहेको छ । सदस्यताका लागि जुन १० सम्मको समयावधि तोकिएको छ ।

सदस्यताको नाममा अनधिकृत रुपमा कागजात संकलन गरिएपछि बेलायती डेटा प्रोटेक्सन कानुनका जानकार तथा एनआरएन अभियन्ताहरुले निर्वाचन समितिको पनि ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।