‘हाम्रो गठबन्धन अपवित्र भए ओली–ठाकुर गठबन्धनचाहिँ के ?


हरेकपल June 10, 2021

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले सत्ता पक्षले विपक्षी गठबन्धनलाई ‘अपवित्र’ भनेर गरेको टिप्पणीको जवाफ दिएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली र महन्थ ठाकुर–राजेन्द्र महतोबीचको लगन गाँठोलाई के भन्ने भनेर प्रतिप्रश्न गरेका हुन् ।

कांग्रेस–माओवादी–जसपा–राजमो गठबन्धनको बचाउ गर्दै उनले १२ बुँदे समझदारीदेखि दोस्रो जनआन्दोलनमा सहयात्रा गरेर गणतन्त्र र संघीयताका लागि एकसाथ लडेका दलहरु बीचको सहकार्य कसरी अपवित्र भयो भनेर प्रश्न गरेका छन् ।

हिजोका दिनमा ‘नागरिकता भनेको रानीको जन्मोत्सवमा मिठाइ बाँडेको जस्तो होइन’ भन्ने प्रधानमन्त्री ओली र ‘हम देखाएङ्गे’ भन्ने महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले देखिएको ‘लगनगाँठो’लाई के संज्ञा दिने भनेर उनले सत्ता पक्षलाई उल्टै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीकै असंवैधानिक कदमबाट दुई तिहाइको सरकारमा अस्थिरता आएको स्मरण गराउँदै उनले उनले भने, ‘लोकतान्त्रिक सरकारले संसदलाई फेस गर्न सक्नुपर्छ ।’

आफूहरु विपक्षमा रहेको र सदनबाट भागेका मुख्यमन्त्रीलाई फेरि हाउसमा ल्याउनु आफूहरुको राजनीतिक धर्म रहेको र आफ्नो ‘पोजिसन’ ले दिएको धर्म पनि त्यही नै रहेको उनले बताए ।