तमरखोले बैनी जानु काम्वाङ लिम्बूले बेलायतदेखि हिजो साँझमा फोन गरिन्



चित्त काटिको रहेछ बहिनी जानुको
सात समुद्र पारिदेखि भयङ्कर क्रोधमा
हिजो साँझ फोन आयो…
– पुर्खादेखि चलेको नाम
आज फेर्ने भन्दैछ दाजु !
कति सारो रिस उठेर म त
काममा जानु पनि नसकेको आज र हिजो ।

अनि पो मैले सम्झाएँ—
त्यसरी नझोक्किनू बैनी !
देश त एउटा चिहानघारी मात्र न हो
निश्चेष्ट लडेको निर्जीव ढुङ्गो मुढो
डाँडा र खोलाको थुम्की र मैदानको
नदीनाला तिनका बगर र भीरहरूको ।

उखेलेर हजारौँ वर्षदेखि
गाडिएका नामहरू अब
नयाँ नामले यो देशको
मुहार फेर्नलाई उठ
डाँडा फेर, थुम्की फेर
खोला मैदान सबै फेर
सक्नेहरूले बन्दुक सोझ्याएर फेर
नसक्नेहरूले खुकुरी तेर्स्याएर फेर

देश भनेको ऐलानी जग्गा हो
ठाउँ ठाउँमा घोचा गाड, झण्डा गाडेर फेर
चन्द्र नहरमा अब पानी बग्दैन
जुद्ध सडकमा अब कुनै ढाक्रे हिँड्दैन
त्यसैले अब बाटा फेर, अस्पताल फेर
स्कुल–कलेज चोक–चोक सबै फेर
यो देशलाई अब नयाँ जीवनले सजाऊ
नयाँ सरकारले यसो पो भन्दै छ त बैनी !

यी पुराना नामहरू सबै
फाटेका थोत्रा कपडाहरू जस्तै
लाउँदा-लाउँदा जिउमै टाँसिइसके
नाङ्गा पाखुरीले हानेका यहाँका डोबहरूमा
सिञ्चँदै आँसु पसिना र रगतले
रोपेका यी नामका हाँगा र जराहरू दिगन्त फैलिसके
भत्काइदेऊ अब समयले नै कोल्टे फेरेको समय छ
डोजर धसेर एक-एक भत्काइदेऊ
नयाँ सरकारले यसो पो भन्दै छ त बैनी !

देश भनेको त
प्रत्येक नयाँ सत्ताको स्वप्न बगैँचा हो
यो त राजाहरूको हो, यो त रानीहरूको हो
विधायक र मन्त्रीहरूको हो
जब-जब यो देशका भाग्य निर्मातालाई
कालले लान्छ अथवा अकालले नै उसलाई तान्छ
भरिसक्के जिउँदैमा उसको नाममा
एउटा मन्दिर भत्काएर भए पनि
त्यहाँ उसको नाम खोपिदिनुपर्छ
मेटियोस् त्यो मकाएको गाउँ वा सहर,
थुम अथवा जिल्ला सुकेटारको ता के कुरा
एउटा चौबाटो होस् या सालिक नै किन नहोस्
त्यो अवश्य मेटिन्छ किनकि प्रत्येक पुरानोले मर्नैपर्छ
हो, क्रान्तिकारी सरकारले त्यसो गर्नैपर्छ
अब यो देशले छलाङ हान्न थालेको बेला
नयाँ सत्तामा अब
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।

माथिमाथि तोक्मे डाँडाभन्दा माथि
नागीभरि बुकीफूलको सुवासले
तमोरको बतासलाई लठ्याउँदै
सुतेको यो सुकेटार सम्झ त बैनी कति भो ?
माथि मुक्कुम्लुङको पवित्र घन्टी सुन्दै
धेरै माथि फक्ताङलुङको स्वेत दर्पणमा आफ्नै मुहार हेर्दै
कति धेरै सुतेछ नि यो सुकेटार सभ्यताको अनादिकालदेखि
हरिया नीला डाँडाको अप्रतिम सुन्दरताबीच
कति हजार वर्ष पुगे होलान् नि उताको काबेली गीत सुन्दै
तिमी र हामी जस्ता लाखौँ हुर्केको यो आमाको पवित्र काख !

अब त सुकेटार भन्नु हुँदैन है बैनी
निर्जीव ठाउँलाई जुनसुकै नामले बोलाए पनि के फरक पर्छ र ?
शेक्सपियरले भनेको सम्झ— गुलाबलाई जुनसुकै नामले पुकार
के त्यसको सुवास कम हुन्छ र ?
अब यहाँ भेडा चर्दैनन्
काँडे तारभित्र गाईगोरु छिर्दैनन्
ढाकर र तोक्मासँग त्यता नजानू
देउराली ढुङ्गामा बिसाएर तिरिङ्गे र फावाखोला पारिको रमिता नहेर्नू
अब त यो ठाउँ देश निर्माताहरू आउने र जाने हवाई जहाजको
त्यसैले न हो यसको पनि नाम फेर्नु परेको ।

नाङ्गै र भोकै हवाइगिरान खन्ने
हाम्रा बाजे बोजूहरूका हड्डी पनि त्यहीँ वरिपरि कतै
अब त मकाइसके होलान् सबै-सबै
ती निरक्षरहरूको बारम्बार सम्झना नगरेस्
अब त यो राष्ट्रका जिउँदा सहिदहरूलाई सम्झिनू
‘सुकेटार’ भन्ने त्यस्तो जडाउरी नाम
अबदेखि भिरेर हिँड्नै बिर्सनु पर्छ बैनी !

जनहृदयमा टल्किने रत्न जडित
त्यो ताप्लेजुङको शिरपेच
फुकालेर उनीहरूले आफैँ भिर्नु थियो, भिरे तर नभन्नु कतै
देश निर्माताहरू कसरी सुकेटार हवाई मैदानमा ओर्लिए तलै
अमर हुनका लागि, हो त्यो पनि नसुनाइदिनू कतै
बरु सम्झिनू— देश भनेको एक चिहानघारी मात्र रहेछ
बेला बेला खन्दै र उधिन्दै
पुराना हड्डी मिल्काएर त्यस ठाउँमा
नयाँ फूल रोप्नुपर्छ
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
हे, मेरा मृत काम्रेडहरू हो !
यो देशको मुहार फेर्नलाई उठ’
भत्काएर भए पनि चिहानघारीहरू
त्यहीँबाट जुरुक जुरुक मुठ्ठी कसेर उठ ।

रचनामितिः— सोमबार १७ जेष्ठ, २०७८
(ताप्लेजुङ जिल्लाको शिरपेच सुकेटार विमानस्थलको नाम फेर्ने सरकारी निर्णयको स्वागत गर्दै टाढा पुगेकी बहिनी जानु काम्बाङ लिम्बूलाई सम्झाउन रचिएको कविता ।)