गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङकाे सरकार ढल्याे


Harek Pal June 10, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त नगरे पछि स्वतः पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा गत बैशाख २९ गते दोस्रो पटक मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार (आज) प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत रहेको छ । एक जना सांसद भने मतदानमा सहभागी भएनन् ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् । प्रदेश सभाकाे बैठक शुक्रबार विहान ११ बजे बस्ने छ ।