यारसा डैली–वार्डका दुई कविता



१) जब तिनले सोध्द्धन्

जब तिनले सोध्छन् तिमी कस्ती छ्यौ
नभन्नू डराएकी छु । आफ्ना आँखा खुम्च्याऊ
र दाँत बाँध तर कसैगरी नभन्नू
आफू भयाक्रान्त भएको ।

नभन्नू त्यति भयभीत छु
जति पहिला कहिल्यै थिइनँ अथवा तडपिरहेकी छु ।
नभन्नू हराएकी छु
बिना कुनै कारण अथवा निश्चयका साथ तिमीले भन्न हुन्न कि
तिमी यस्तो गर्न सक्छ्यौ ।
कुरा प्रष्ट गर
तिमी हौ स्त्री । स्त्री जस्तै देखिऊ ।

पुछ रगत आफ्नो शरीरको
तिनलाई नभन के भएको थियो जब
घाम व्यस्त थियो अर्कै गल्लीमा ।

’त्यो काम’ गर जे मानिसले गर्छन् ।
ती मानिस जो असल छन्, असल छन्, असल छन्
यस्तो नहोस् कि तिमी घर पुग्दा उनीहरू
गइसकेका हुन्, गइसकेका हुन्, गइसकेका हुन् ।

कष्ट उठाइरहू यही नै हो तिम्रो
ईश्वर प्रदत्त अधिकार ।
झगडा गर आफ्नो अस्तित्वका साथ । लड यो खराब
लडाइँ ।

२) देह

यदि म पूर्ण इमान्दार छु भने,
र तिमी मैलै यस्तै हुनुपर्छ भन्छौ भने
म तिमीसँग पूरा दिन बिताउन चाहन्छु
बेलुकी, राति र भोलि पनि
तिमीसँग यसरी टाँसिएर कि
हामीलाई थाहा नहोस्, कसको पेटबाट कुन आवाज आएको हो
कसको हृदय ढुकढुक गरिरहेको छ यस किसिमले
त्यो बेलासम्म मलाई थाहा नहोस् जुन पसिना
मेरो वक्षमा छ, त्यो तिम्रो हो वा मेरो अथवा हाम्रो ।

(अनुवाद : मनोजादित्य न्यौपाने )