चेप्टी–यात्राको मीठो सम्झना ।



२०७७ चैत्र २८ गते शनिबार बिहान ८ बजे । खगेन्द्रा खुसीले फोन गरिन् -‘भोलि हामी झापाका साहित्यकार, पत्रकार र नाट्यकर्मीहरूको ६र ७ जनाको टोली इलाम जिल्लाको चेप्टी भन्ने एउटा दुर्गम गाउँमा जङ्गलको बाटो भएर पैदल यात्रामा जाँदैछौँ । तीन दिन लाग्छ दिदी, तपाईं पनि जाने हो ?’

मैले केही नसोची ‘जाने’ भनिदिएँ । पछि श्रीमानजी र छोरीहरूलाई सुनाएँ । एकछिन नाइँनास्ति गरे पनि मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने सर्तमा उनीहरूले जाने स्वीकृति दिए ।

त्यो दिन साहित्य चौतारी झापाको साहित्यिक कार्यक्रम थियो र कार्यक्रम सञ्चालन खुसी भएर खगेन्द्राले गर्दै थिइन् । म कार्यक्रममा पनि सहभागी हुन्छु र यात्राबारे विस्तृत जानकारी पनि लिन्छु भन्ने सोच्दै एक बजे कार्यक्रममा पुगेँ ।

खुसी र विमलासँग त्यहीँ भेट भयो । भगवती पनि आएकी रहिछन् । मलाई भगवती पनि गइदिए हुन्थ्यो भन्ने भित्रैदेखि लागिरहेको थियो । खुसीले उनलाई पनि जाऊँ भन्दा साह्रै खुसी लाग्यो । मैले खुसीसँग यात्राको उद्देश्यबारे सोधेँ ।

उनले भनिन् – ‘हामी जहिले पनि टाढा मात्रै देख्छौँ । हाम्रै वरिपरि, हाम्रै नजिकमा पनि त घुम्ने लायक ठाउँ छन् नि । यसैले यसपटक मैले आफैँँले देखेको अभाव, अशिक्षाभित्र गुम्फित भोक र अफ्ठ्याराहरूलाई नजिकबाट नियालौँ । सँगसँगै त्यहाँको प्राकृतिक सौन्दर्य पनि उजागर गरौँ । अनि लेखौँ भनेर आफ्नै जिल्लाको माई नगरपालिका, साबिक दानाबारी गाविस १ अन्तर्गत विकट गाउँ चेप्टीको प्रस्ताव राखेकी हुँ ।’

उनको कुरा सतप्रतिशत चित्त बुझ्यो । साहित्य चौतारीको कार्यक्रम सकिएपछि भोलि बिहान दश बजे भवानीको पसलमा भेट्ने सल्लाह गर्यौँ र हामी आ–आफ्नो बाटो लाग्यौँ । यात्रामा चाहिने खानेकुरा, ट्रेकिङ्ग ब्याग आदि किनमेल गर्दै म घर फर्किएँ ।

भोलिपल्ट बिहानैदेखि मनमा उमङ्ग बोकेर खानेकुरा, लुगा, ओड्ने, ओछ्याउने (हलकां) सबै सम्झिँदै यात्राको लागि प्याकिङ सुरु गरेँ ।

– ‘दुर्गम ठाउँ छ, ओड्ने ओछ्याउने, खानेकुरा नपाउन पनि सक्छ । त्यही किसिमले तयारी गर्नु होला ।’ खुसीले भनेकी थिइन् । बिहान आठ बजेतिर उनले म्यासेज गरिन् – ‘समय एक घण्टा पछि सर्‍यो दिदी दश बजे हैन, एघार बजे है ।’

भने अनुसार ठिक एघार बजे म भवानीको पसलमा पुगेँ । तर त्यहाँ कोही पनि आइपुगेका थिएनन् । एक छिनपछि भगवती आफ्ना साथी डा. खगेन्द्रसँग आइपुगिन्। एकछिन गफ गरेर शुभयात्रा भन्दै खगेद्रजी बिदा हुनुभयो । त्यसपछि सुरु भयो हाम्रो पर्खाइ । यद्यपि केहीबेर अझै ढिलो हुने जानकारी खुसीबाट पाइसकेका थियौँ तर हामी पुगिसकेका हुनाले पर्खिनुदेखि बाहेक अर्को विकल्प थिएन । चैतको गर्मी भएकाले पर्खाइको सुरुवाती कष्टकर चरणले हामीभित्र – समयनिष्ठ बनेर समयमै उपस्थित हुने कोसिस गर्नुपर्छ र कसैलाई पनि पर्खाउनेजस्तो कष्टकर सजाय दिनु हुँदैन, अबदेखि हामीचाहिँ समयको महत्त्व बुझौँ है – भन्ने चेतको बीजारोपण गरे तापनि समग्रमा भने यो रमाइलो र सदुपयोगी पलमा नै परिणत हुनपुग्यो । यही पर्खाइले भगवती र मलाई कसिलो मित्रताको बन्धनमा बाँधिदियो। हामी बर्षौँदेखि परिचित अनन्य मित्रजस्ता भयौँ । यसले हामीलाई यात्राभरि प्रसन्नता प्रदान गर्‍यो र मेरा लागि असल मित्रको सूचीमा जीवनभरिका लागि एउटा नाम थपिदियो । वास्तवमा जुनसुकै कुराका पनि राम्रा नराम्रा पक्ष हुन्छन् । हामी हत्तपत्त राम्रा पक्ष देख्दै देख्दैनौँ । राम्रा पक्ष देख्ने बानी गर्‍यौँ भने नराम्रो पक्षले हामीलाई त्यति असर नगर्ने रहेछ । जे होस्, डेढ घण्टा रास्ताहाउसमा बसेर कटाएपछि साढे बाह्रमा बल्ल खुसीले फोन गरिन् – ‘हामी छेउको कफीसपमा छौ’ भनेर । हामी त्यहीँ पुग्यौँ । त्यहाँ पनि आधा घण्टा विमला र लीलालाई पर्खियौँ। एकबजे लीला र विमला हस्याङफस्याङ गर्दै आइपुगे । यसरी दिनको एक बजे मात्रै खगेन्द्रा खुसी, भवानी क्षेत्री, विमला चिमरिया, लीला विष्ट, भगवती कोइराला दाहाल, क्यामेराम्यान आशिष पौडेल र म (गीता निरौला भण्डारी)को टिम चेप्टी गाउँको लागि विर्तामोडबाट रवाना भयौँ । बिर्तामोडबाट जुँकेखाडी सामुदायिक वन कार्यालयसम्म कोही अटोमा कोही स्कुटीमा र कोही मोटरसाइकलमा बाँडिएर गयौँ ।

सामुदायिक वन कार्यालयका अध्यक्ष झरेन्द्रकुमार खड्काले खुसी हुँदै हाम्रो स्वागत गर्नुभयो । हामीले वहाँबाट जङ्गलका बारेमा केही जानकारी लियौँ । वहाँका अनुसार जुकेखाडी सामुदायिक वन जम्मा ७३५ हेक्टर जमिनमा फैलिएको रहेछ र पर्यापर्यटन क्षेत्र भनेर ७० हेक्टर जङ्गल छुट्याइएको रहेछ । विभिन्न किसिमका रुख–बिरुवा, जनावर, चराचुरुङ्गी र जरीबुटीले भरिपूर्ण यो जङ्गललाई संरक्षणको सूचीमा राखिएको रहेछ । हामी यही पर्यापर्यटन क्षेत्रको पैदलेमार्गबाट चेप्टीगाउँ पुग्न हिँडेका थियौँ । वहाँले हात्ती लाग्ने घना जङ्गलको बाटो हिँड्नलाई ढिलो भैसकेको चिन्ता व्यक्त गर्दै भोलि मात्र जाने सुझाव दिनुभयो ।

हामीले आजै जाने भनेपछि दुईजना कर्मचारी हाम्रो सहयोगीको रूपमा खटाइदिनुभयो । जङ्गलको बाटो गरेर यात्रा गर्न लागेका हामीलाई कतै अफ्ठ्यारो नहोस् भनेर चिया खाजा खुवाएर जङ्गल भ्रमणका लागि अनुमति पत्र समेत उपलब्ध गराएर सहयोगी देवराज नेपाल र मिनकुमार लिम्बूका साथमा वहाँले हामीलाई बिदा गर्नुभयो । जुकेखाडी सामामुदायिक वन कार्यालयका अध्यक्ष लगायत सम्पूर्ण कर्मचारीको यो सदासयताबाट हामी अति प्रभावित भयौँ र प्रसन्न चित्तले वहाँहरूलाई हार्दिक धन्यवाद दिदैँ दिनको तीनबजे चेप्टीको बाटो लाग्यौँ।

जङ्गलको मुखमा स्थित जुकेखाडीको चौर (जहाँबाट जङ्गल सुरु हुन्छ ) पुग्दा दिनको ३:१५ बजिसकेको थियो । वसन्त ऋतुको समय, जङ्गलमा सुकेका पात सबै झरेर नवपालुवा फेरिएकोले होला चौरबाट जङ्गलतिर हेर्दा तल सुकेका पातको कालिन ओछ्याएर माथि हरियापातको सामियाना टाँगेर जङ्गल हाम्रै स्वागतमा उभिएकोझैँ देखियो । पस्तापस्तै जङ्गलको यो स्वरूप देखेर हामी भावविभोर भयौँ र खुसी हुँदै जङ्गलभित्र प्रवेश गर्‍यौँ । एकातिर सुकेका पातमा नौ जनाले कुल्चेको सर्‍याकसर्‍याकको आवाजले जङ्गलको शान्ति भङ्ग गर्दै थियो भने अर्कोतिर हाम्रो निस्फिक्री गफ र उन्मुक्त हाँसोले थप कोलाहल थपेको थियो । जसले जङ्गलका रुख-बिरुवा, तरु-लता, जनावर र कीट पतङ्ग अचम्म मान्दै हामीलाई नै हेरिरहेका हुन कि भन्ने भान गराइरहेको थियो । हामीले यो उत्साह, यो रोमाञ्चबाट प्राप्त खुसीलाई आ-आफ्ना मनमा कहिल्यै ननिस्कने गरी कैद गर्‍यौँ र यो पललाई भिडियो र फोटोमा कैद गर्दै, गीत गाउँदै गन्तव्यतिर अघि बढ्यौँ । केही पर पुगेपछि जताततै मान्छेका चिहान देखिए । खुसीले चिनाइन्- ‘यो च्यान डाँडा ।’

हामी सबैले आ-आफ्ना बाल्यकाल सम्झियौँ र लास र च्यान देख्नेबित्तिकै डराएर कुदेका र भूतका कुरा गर्दै अघि बढ्यौँ । अलिकति च्यानघारी हिँडेपछि त्यो सकियो । हाम्री टोली नेताले फेरि चिनाइन्- ‘यो ठूलो पैनी खेतिका लागि तल्लो गाउँ कुम्भिटारका गाउँले मिलेर आफैले खनेर बनाएका।’ यो सुनेर गाउँलेलाई यस्तो एकजुट भएर घना जङ्गलमा कुलो खन्न बाध्य बनाउने त्यो शक्तिशाली अभावको अनुमान गर्‍यौँ । एकछिन हिँडेपछि फेरि चिहानहरू देखिए खुसीका अनुसार यो भोटे जातिहरूको चिहान थियो । हामीले बाटोमा खाने भनेर धेरै खानेकुरा बोकेका थियौँ । भवानीले पानीपुरी आफैँले बनाएर बोकेकी थिइन् । भोटेको च्यान सकिएपछि पानीपुरी खाने सल्लाहा भयो र दोबाटो पुगेपछि एउटा फराकिलो फाँटिलो ठाउँलाई हामीले हाम्रो पहिलो बिसौनी बनायौँ र त्यहीँ बसेर गीत गाउँदै चुटकिला भन्दै भवानीले बनाएको मीठो पानीपुरी, फलफूल र पानीसँग अपूर्व आनन्दको रसास्वादन गर्‍यौँ । यो आनन्दले हाम्रो अहिलेसम्म हिँडेको सम्पूर्ण थकाइ मेटिदियो, हामी सत प्रतिशत चार्ज भयौँ र उत्साहसाथ फेरि गन्तव्यमा जुट्यौँ ।

दोबाटोभन्दा अलि पर पुगेपछि खुसीले फेरि चिनाइन् – ‘यो पानी खाने पग्ला, यहाँ खडेरीका बेला पनि एउटा कुवामा (जरुवामा) पानी रसाइरहन्छ । भारी बिसाएर तिर्खा मेटाउने यो जरुवाको महत्त्व यहाँका गाउँलेलाई मात्र थाहा छ ।’ हामी खुसीका कुरा सुन्दै हेर्दै अघि बढ्यौँ ।

यात्रामा हामी सबै कवि मनका थियौँ । प्रकृतिको अद्भुत दृष्य देखेर मन त्यसै फुरफुर थियो । चराहरूको कलरव, किसिम किसिमका फूल र हरिया मुनासँगै मन अत्यन्तै रमाएको थियो । प्रकृतिको सामीप्यताले दङ्गदास बनेका हामीमा समुन्द्रको छालझैँ भावका तरङ्गहरू उठिरहेका थिएँ । हिँड्दा हिँड्दै एक ठाउँमा टक्क अडिएर हामीले कविगोष्ठी नै गर्‍यौँ । भवानी, खगेन्द्रा, भगवती, विमला र मैले पालैपालो कविता भन्यौँ । लीला नाट्यकर्मी भएकोले उनले अभिनय देखाइन् । यो अनुभूति हाम्रा लागि अविस्मरणीय रह्यो ।

त्यसपछि पल्लो पग्ला, खरखरे डाँडा, भास, होली सबैको परिचय गराउँदै लगिन् खुसीले । भास होलीमा पुग्दा तलका गाउँलेहरूले बाख्रा चराएर फर्काउँदै रहेछन्। बाख्राको बथानसँगै जङ्गलमै ब्याएको बाख्राको सानो पाठो बोकेका रहेछन् एक गोठालाले । गोठालासँग पाठो लिएर सुम्सुम्याउँदै अस्ट्रेलियामा भर्खर जन्मेको नाति सम्झिन् भगवतीले भने घरमा पालेको बिरालो सम्झिन् भवानीले । कसैकसैले पालैपालो पाठोलाई बोकेर फोटो खिचाए । खुसीले भनिन् – ‘यो भास-होली भनेको तलका गाउँलेले घाँस काटेर भारी बिसाउने ठाउँ हो।’

-‘ओहो ! यहाँसम्म पनि घाँस काट्न आउनुपर्थ्यो र ?’

खुसी भावुक भइन् – ‘भास-होलीसम्म त बाख्राको घाँस काट्ने ठाउँ मात्र नि । गाईको घाँस काट्नका लागि त चेप्टीसम्म नै पुग्नुपर्थ्यो । यो बाटो त्यो बाटो हो, जहाँबाट हरेक हप्ता, हरेक दिन साँझ विहान चेप्टीबाट दाउरा, मेसू (तामा अमिल्याएको), तामा, जाँड, रक्सी, कुखुरा, सुँगुर र जे-जे आफ्नो बारी र जङ्गलमा उत्पादन हुन्छ, त्यसकै भारी बोकेर शनिश्चरे बजार पुर्‍याएर बेचेर, साँझ नुनतेल किनेर फर्कने गर्थे चेप्टीका मान्छेहरू । उनको उत्तरले हामी सोचमग्न भयौँ । सायद चुपचाप सबैले। तात्कालीन गाउँलेका पीडालाई महसुस गर्‍यौँ ।

यहाँसम्म आइपुग्दा साथी भगवतीलाई निक्कै गाह्रो भइसकेको थियो । उनले बोकेको झोला गाइड मीनकुमार भाइलाई बोकिदिन अनुरोध गरी कुशल नेतृत्वको परिचय दिदैँ खुसीले उनको गाह्रोलाई सजिलो बनाइदिइन् ।

भास होलीको अफ्ठ्यारो ओरालो कट्दा नकट्दै डढेलो लागेको देखियो। यसरी आफ्नै आँखा अगाडि बलिरहेको जङ्गलको दृष्य मेरा लागि अद्भुत र अनौठो थियो । एकछिन उभिएर हेर्‍यौँ । आशिष भाइले दृष्यलाई क्यामेरामा कैद गरे । मेरो मन भने यहाँका निरीह जनावर र चराचुरुङ्गी सम्झेर हुरुक्क भयो । केही समयअघि अस्ट्रेलियामा लागेको डढेलो र त्यहाँ मरेका र पिल्सिएका जनावर, पक्षी एवम् रुखविरुवाका कहालीलाग्दा दृष्य मानसपटलमा ताजा भएर सल्बलाए । एकै छिनअघि प्रकृतिको सौम्य र सुन्दर रूपमा चहकिएको मन रौद्ररूप देखेर त्रसित र व्यथित भयो ।

-‘साँझ पर्न लागिसकेको छ । आगोको राप र छारो उडेर एक छिनपछिदेखि हिँड्न सकिँदैन छिटो जाऊँ ।’ गाइड भाइहरूले हुट्हुटी लगाएपछि हामी केही नबोली चुपचाप अघि बढ्यौँ ।

एकैछिन हिँडेपछि सुरू भयो दाह्रे गौँडाको उकालो । सेतो माटो भएकोले त्यसलाई सेतो उकालो पनि भनिँदो रहेछ । त्यो उकालो उक्लिएर जसोतसो डाँडामा पुग्यौं । त्यो डाँडाको भित्तामा एउटा सानो खोबिल्टो रहेछ । आफ्नो बाल्यकाल सम्झिँदै खुसीले त्यहाँबाट माटो झिकेर खाइन् र त्यो माटो गाउँले दिदी भाउजू सबैले खाने गरेको बताइन् । केही साथीहरूले पनि चाखे र अमिलो भएको प्रतिकृया दिए । त्यसपछि सुरू भयो कुसुमे ओह्रालो । ओहो ! साँघुरो र ठाडो बाटो कति अफ्ठ्यारो रहेछ यो ओह्रालो । छेउछाउका लहरा र बुटा समात्दै र कतैकतै हुत्तिएर एकैपटक तल पुग्दै ओह्रालोलाई बल्लबल्ल पार गर्‍यौँ हामीले । ओह्रालो सकिने बित्तिकै खोलाको बिचैबिच हिड्नुपर्ने रहेछ । खुसीले चिनाइन् – ‘यो दहीझोडा खोला।’

बर्खामा खोलामा पानी हुनेहुँदा मानिसहरू अर्कै बाटो हिँड्दा रहेछन् । अहिले पानी नभएको हुनाले खोलाबाटै मानिसहरू आवत जावत गर्दा रहेछन् । हामी निकैबेर दहीझोडा खोलाको बिचैबिच हिँड्यौँ । छेउछाउमा उम्रेका सबै जडिबुटी चावो, जङ्गली पान, ट्याँगो, कान्छी मधु चिनाउँदै लगिन् खुसीले । बाटोमा लडेका रुखमा चढ्दै, हाँगामा झुण्डिँदै, वनमा फलेका सीताफल, थाकल टिप्दै र खाँदै हामी यो यात्रामा कैयौँपटक बालवयमा फर्कियौँ ।

अलिपर पुगेपछि पानी खाने कुवा आयो । बोकेको पानी सकिसकेको थियो । सबैले पानी खान खोज्यौँ तर पानी फोहरजस्तो लागेर कसैले पनि खाएनौँ । बोतलले पानी उघाएर हात मुखचाहिँ सबैले धोयौँ र पुन: केही चार्ज भयौँ । बाटो सम्म मात्र थिएन, उकालो-ओह्रालो, साँघुरो-अफ्ठ्यारो पनि थियो । अरू साथीहरू निकै अघिअघि हिँड्थे म र भगवतीचाहिँ बिस्तारै हिँड्ने भएकाले उकालामा त निकै पछि परिहाल्थ्यौँ तर अलिपर साथीहरू हामीलाई पर्खिरहेका भेटिन्थे ।

थामडाँडाको अन्तिम उकालो चढ्न भगवती र मलाई साह्रै गाह्रो भयो । पानी अघि नै सकिएकोले हाल बेहाल भैसकेको थियो । साथीहरू कहाँ हो कहाँ पुगिसकेका थिए । साँझ पनि झमक्कै भैसकेको थियो । येनकेन प्रकारेण घस्रिँदै हामी थामडाँडा उक्लियौँ । माथि पुग्नासाथ फराकिलो चौडा बाटोमा पुग्यौँ । वरपीपलको छहारीमा एकैछिन सुस्तायौँ । एक एकवटा क्याटवरी चकलेट खायौँ र केही शक्ति संचय गरेर पुन: अघि बढ्यौँ । अलिपर क्यामेराम्यान भाइ हामीलाई पर्खिरहेका रहेछन् । त्योभन्दा पर खुसी र विमला एउटा घरमा हाम्रो बाटो हेरिरहेका रहेछन् । अफ्ठ्यारो बाटो सकिइसकेको थियो तर प्यासले प्याकप्याक बनाएकोले घर देख्दा पानी खान पाइने आशाले खुसी हुँदै पस्यौँ । घरको आँगनको एकछेउमा काठको बेन्चजस्तो राखिएको थियो । भोक, प्यास र थकाइले गल्नुसम्म गलेका हामी हतारहतार त्यहाँ बस्यौँ । घरको मझेरीमा सिल्भर र तामाका १५/२०वटा गाग्री लहरै सजाएर राखिएका थिए । पछि थाहा भयो, यो सजावट हैन आवश्यकता रहेछ । यिनै गाग्रामा दहीझोडा खोलाको जरुवाबाट घण्टौँ लगाएर बोकेको पानीले जीवन निर्वाह गर्दा रहेछन् यहाँका मानिसहरू । यो देखेर पानी नखाइदिनु जस्तो लाग्यो तर प्यासको अगाडि सहानुभूतिले काम गरेन । हामीले पानी माग्यौँ । उनीहरूले आत्मीयताकासाथ खुसी भएर पानी दान गरे । अघि फोहोर लागेको पानी अहिले अमृत बनेको थियो । अपूर्व तृप्तिको अनुभूतिले -आवश्यकताले नै वस्तुको महत्त्व निर्धारण गर्ने रहेछ- भन्ने कुराको प्रत्यक्ष अनुभूति गरायो । चेप्टीगाउँ पस्तापस्तै पहिलो घरबाटै भेटेको यो ज्ञान र आतिथ्य सत्कारले हामीलाई गद्गद् बनायो ।

थाम डाँडा उक्लिनासाथ बन्दै गरेको फराकिलो बाटो देख्दा चेप्टी गाउँ (हाम्रो गन्तव्य) हामीले सुनेजस्तो अभावै अभावले ग्रस्त छैन, यहाँ विकासको सुनौलो किरण पुगिसकेको छ भन्ने आभाष भएको थियो तर खानेपानीको यस्तो सङ्कट आफ्नै आँखाले देख्दा विकट नै रहेछ जस्तो लाग्यो ।

-‘गन्तव्यमा पुग्न अझैँ डेढघण्टा लाग्छ रे, कहाँ छौ ? चाँडै आउनू ।’ भवानीको फोन आएपछि हामी झटपट अगाडि बढ्यौँ । अलि पर पुगेपछि कवैधाप भन्ने ठाउँमा भवानी, लीला र सहयोगी भाइहरू बस्नुभएको रहेछ । सबैले त्यहीँ बसेर खाजा खायौँ । सबैले आ-आफ्ना पोका खोल्यौँ । भवानीले ल्याएको करेलाको सब्जी र चिउरा मुखमै झुन्डियो । जे खायो, त्यही मीठो अझ खाजापछिको पानीको स्वाद त वर्णन गरेर साध्य छैन । आहा ! दु:खपछि प्राप्त भएको सुख साँच्चै अलौकिक हुँदो रहेछ । यहाँसम्म आइपुग्दा भगवती र म निकै थाकिसकेका थियौँ र अब अगाडि हिँड्ने आँट पनि थिएन । बसेको ठाउँबाट नै उठ्न सकिरहेका थिएनौँ । कवैधापबाटै सहयोगी भाइहरूलाई बिदा गर्‍यौँ । त्यहाँबाट सिमले (जहाँ हाम्रो खाने बस्ने व्यवस्था थियो) ट्याम्पो जान्छ भन्ने जानकारी पायौँ तर ट्याम्पोको कतै अत्तोपत्तो थिएन । बसेको ठाउँबाट बल्लबल्ल उठेर फेरि यात्रामा जुट्यौँ ।

अँध्यारो भैसकेको थियो । केही पर पुगेपछि एउटा घर अगाडि ट्याम्पो राखेको देखियो । सोधखोज गर्‍यौँ । ट्याम्पोवाला छेउमै रहेछन् चारसय रुपैयाँमा हामीलाई पुर्‍याइदिन राजी भए । सबै साथीहरूका झोलाझ्याम्टा टेम्पोमा राख्यौँ र भगवती आशीष र म ट्याम्पोमा बस्यौँ । खुसी, भवानी, लीला र विमला हिँडेरै जाने भए । रातिको समय अफ्ठ्यारो बाटो देखेर हामी छक्क पर्‍यौँ । जति जति ट्याम्पो अघि बढ्छ सुनसान, अन्धकार र बाटोको अवस्था देखेर हामीलाई साथीहरू कसरी पुग्छन् भन्ने चिन्ताले सताउन थाल्यो । धन्य ट्याम्पोवाला निकै फरासिला रहेछन् हाम्रो डर र चिन्तालाई गफमा अल्मल्याएरै हामीलाई त्यहाँका वडाध्यक्ष खम्बासिंह लिम्बूले बन्दोबस्त गरिदिएको घर अगाडि नै पुर्‍याइदिए । मैले उनलाई ‘हाम्रा साथीहरूलाई जहाँ भेट्नु हुन्छ त्यहीँबाट ल्याइदिनुहोस् है’ भनेर बिन्ति गरेँ । ‘धेरै राति हुन्छ’ भनेर उनी मानेनन् ।

यसपछि हामी घरभित्र पस्यौ । पस्तापस्तै ‘खाना तयार छ, तपाईँहरू फ्रेश भएर खाना खाइहाल्नुहोस्’ भनिन् घर मालिक्नीले । उनका यी शब्दहरू अमृतझैँ हाम्रा कानमा गुञ्जिए । हामीले त्यसै गर्‍यौँ । दाल, भात, तरकारी, अचार चट्ट परेको तात्तातो खाना खायौँ । साथीहरू आइनपुगेकाले मनमा चिन्ता थियो । त्यसैले होला खानाको आनन्द भने मज्जाले लिन सकेनौँ । थकाइ र निन्द्राले चुर भए पनि साथीहरू नआउन्जेल हामी सुत्न सकेनौँ ।

बल्लबल्ल राति नौबजे साथीहरू लखतरान भएर आइपुगे । उनीहरूको थकाइको सीमा थिएन । उनीहरूले खाना खाएपछि हामी सुत्ने तरखरमा लाग्यौँ । अलिकति तेल मागेर सबैले खुट्टाको मालिस गर्‍यौँ । नरबहादुर र छत्रकुमारीको घरमा आशिष, खगेन्द्रा, भवानी, भगवती र मेरो सुत्ने व्यवस्था थियो भने फुपू धनमायाँ मगरको घरमा विमला र लीलाको सुत्ने व्यवस्थापन थियो । धेरै थाकेकोले चुपचाप हामी आ-आफ्ना ओछ्यानमा मुढो लडेझैँ लड्यौँ । यसरी चेप्टीयात्राको पहिलो दिनलाई हामीले निन्द्रादेवीको शरणमा पुगेर विश्राम दियौँ । क्रमश…
===