दुई कविता



१) भिक्षादानको नाममा

सखारै कसैले ढोका ढक्ढक्यायो
धमिलो आँखा मिच्दै नियालेंँ
रुद्राक्ष माला जप्ने थोत्रा पात्र
विघटनकारी
स्वेच्छाचारी
राम नामधारी अहङ्कारी रहेछ ।

भिक्षादानको नाममा
मैले निरन्तर जप्ने मन्त्र
जय नेपाल कमण्डलुमा थपक्क राखिदिएँ ।

भन्नुस्
न्याय गरेँ कि नाइँ ?

२) अबउप्रान्त

उफ् ! पापी कोरोनाले
दैनिकजसो
अनर्थको सपना देखाएर चेतावनी दिँदै भन्छ
आफूलाई कति न सामाजिक अभियन्ता भन्थिस्
खै त ?

टाढाको भो कुरा नगरौँ बन्धुवर्गकै
‘न जिउँदाको जन्त गइस्
न त मर्दाको मलामी भइस्’
अबउप्रान्त
आफूलाई सामाजिक प्राणी भन्न छोडिदे !

सम्झी –
मलामी र दागबत्ती विनाको कर्मकाण्ड कहाँ बाँच्न सक्छ !
०००