अलबिदा सहकारी अगुवा राजेशहरि जोशी


हरेकपल June 14, 2021

काठमाडौँ, ३१ जेठ। सहकारी अभियानका अगुवा राजेशहरि जोशीको हिजो ६६ वर्षको उमेरमा निधन भएको छ । वि.स.२०१२ सालमा जन्मिनुभएका जोशी नेपालको सहकारी अभियानका अग्रज अनि अभिभावक हुनुहुन्थ्यो ।

राष्ट्रिय सहकारी बैकका संस्थापक जोशी स्थापना कालमा तदर्थ समितिका अध्यक्ष र त्यसपछि सञ्चालक समितिको पनि अध्यक्ष हुनुभएको थियो । उहाँ नेशनल डेभलपमेण्ट कोअपरेटिभ सोसाइटी लिमिटेडका कार्यकारी अध्यक्ष र मकवानपुर बचत तथा ऋण सहकारी संस्थाका समेत अध्यक्ष हुनुहुन्थ्यो । पछिल्लो समय गणेशमान सिंह स्वास्थ्य सहकारी संस्था लि.का उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

जोशी नेशनल कोपरेटर्स एलाइन्सका सह–अध्यक्ष समेत भएर लोकतान्त्रिक सहकारीकर्मीलाई एकढिक्का बनाएर सहकारी अभियानलाई अघि बढाउन महत्वपूर्ण भूमिका निभाउनुभएको थियाे । उहाँ हेटौँडामा मुख्य कार्यालय रहेको तत्कालीन वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको संस्थापक सञ्चालक समेत हुनुहुन्थ्यो ।

उहाँले नेपालको बुद्धिचाल खेलको विकासमा महत्वपूर्ण योगदा‍न पुर्याउनु भएको थियो । जोशी नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँ हालः बुद्धिचालको अन्तराष्ट्रिय संस्था फिडेका इथिक्स कमिटीका सदस्यका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

सहकारी अभियन्ता एवम् वित्त विज्ञ स्वर्गीय जोशी प्रति सूचना चौतारी सञ्चार सहकारी संस्था लि., हरेकपल डटकम र सहकारी नेपाल परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, शोकसन्तब्ध परिवार प्रति भावपूर्ण समवेदना व्यक्त गर्दछौं ।