झापा जुटकाण्डको संस्मरण




छत्तीस साल जेठमा एक दिन न्यायाधीशले हामी केही वकिललाई चियाका लागि च्याम्बरमा बोलाउनुभयो । चिया त बहानामात्र थियो, वहाँ हामीसँग भर्खर घोषणा भएको जनमत सङ्ग्रहबारे कुरा गर्न चाहनु हुन्थ्यो । एकजना मात्र न्यायाधीश रहने त्यो बेलामा अर्जुन प्रसाद सिंह जिल्ला न्यायाधीश हुनुहुन्थ्यो । खुला प्रजातान्त्रिक बिचारको मान्छे उहाँले हामी सँग जनमत सङ्ग्रहका बारेमा कुरा गर्न मन लागेर चिया लाइ बहाना बनाएर बोलाउनु भएको थियो ।

हाम्रा बीचमा खुलेर कुरा भएको थियो र वहाँ तृप्त हुनु भएको थियो । वहाँको स्थानीय प्रशासनसँग राम्रो सम्बन्ध थिएन । शिक्षाको घर बन्न लाग्दा अदालतको जमिन मिचेर चर खनियो । हामीले आपत्ति गर्‍यौ । उहाँले अदालतको जमिनमा चर खन्न रोक्नुभयो । दानबाहादुर शाही प्रमुख जिल्ला अधिकारी थिए । दुईको ठूलो टसल भयो । लीलाराज बिष्ट अञ्चलाधीश थिए । अर्जुन प्रसाद सिंहका विरुद्धमा दुवै हात धोएर लागेका थिए । अर्जुन प्रसादको ताप्लेजुङमा सरुवा भयो । मानिसहरू उनलाई सजाय स्वरूप ताप्लेजुङ सरुवा गरिएको चर्चा गर्थे । पछि अञ्चल न्यायाधीश भए पछि एकटक वहाँको जागिर पनि खोसियो र मुद्दा गरे पछि सर्वोच्च अदालतले थामि दियो । पछि उहाँ सर्वोच्च अदालतको न्यायाधीश भएर निवृत्त हुनुभयो ।

पञ्चायत व्यवस्थामा यस्ता अव्यवस्थाहरू सम्पादन भइरहन्थे । अधिकांश कानुन व्यवसायीहरू बहुदलको पक्षमा थियौ । त्यसैले अर्जुन प्रसाद जनमत सङ्ग्रह नभएसम्म झापामा रहे हुने भन्ने ठानेका थियौ । त्यसो हुन सकेन । नयाँ जिल्ला न्यायाधीशका रूपमा योग प्रसाद उपाध्याय आउनु भयो र वहाँले नै झापामा जनमत सङ्ग्रह गराउनु भएको थियो ।
वास्तवमा छत्तीस साल मेरा लागि अलिक बेग्लै भएर आयो । म इच्छा प्रतिकूल जस्तै नै भएर राजनीतिमा तानिदैं गएँ । अदालतमा कम बहुदलको प्रचारमा बढी लाग्न थाले । झापामा प्रभाव रहेको वामपन्थी पार्टी माले भूमिगत थियो । उसले त सुरुमा जनमत सङ्ग्रह धोका हो, देशी विदेशी नाटक हो, यसलाई बहिष्कार गरौ, भनेको थियो । हामी केही वामपन्थीहरू आफ्नै पाराले बहुदलको प्रचारमा हेलिएका थियौ । पहिला नेपाली काङ्ग्रेससँग पनि हिँड्यौ । त्यो यात्रा पनि धेरै टिकेन । हामी खुला रहेका केही वामपन्थीहरू मिलेर नरेश कुमार बर्माको अध्यक्षतामा एउटा समिति बनाएर बहुदलको प्रचारमा जुट्यौ । त्यो समितिमा राजनीति पहिचान दिने मान्छेहरू गोपाल कृष्ण प्रसाई, मदन खपाङ्गी, द्रोणाचार्य क्षत्री थिए । हामी त्यो समिति मार्फत नै झापा जिल्ला व्यापी प्रचार प्रसारमा सरिक भयौ । पछि मालेले पनि जनमत सङ्ग्रह नेपाली क्रान्तिको उपज हो, यसलाई उपयोग गरौ भन्ने नीति ल्यायो र हामीले सँगै काम गर्‍यौ । सुरुमा बहुदलले हार्छ जस्तै थिएन ।

पञ्चहरू सुरुमा प्रचारमा जान सकेका थिएनन् । अनेक षडयन्त्र र योजना बनाएर उनीहरूले अवस्थामा परिवर्तन ल्याए । राष्ट्रको ढुकुटी र जङ्गल रित्याए । नाङ्गो धाँधली गरे । पञ्चायतलाई जिताए । जनमत सङ्ग्रह भरि म पेशीका दिन मात्रै अदालत पुग्थें । अरू दिन बाहिर नै हुन्थे । यसै दौडानमा म झापाका नपुगेका धेरै ठाउँमा पुगेको थिए । बहुदललाई पञ्चहरूको षडयन्त्रले हराए पछि भने म पुन नियमित फर्म र अदालतमा हुन थालेँ । यसरी बहुदलको हारले मलाई वकालतमा एकाग्र बनायो ।
बहुदल प्रचारकै सन्दर्भका धेरै विषयहरूलाई मुद्दा बनाएर अदालत भित्र्याइएको थियो । केर्खामा मण्डलेहरूले वामपन्थी प्रचारक हरुको टोलीमाथि साङ्घातिक आक्रमण गरे । त्यहाँ चन्द्र बहादुर मगरको हत्या भयो । त्यो हत्याकाण्डमा त्यस भेगका र अन्यत्र बाट त्यहाँ पुगेका वामपन्थीहरूका विरुद्धमा ज्यान मुद्दा चलाइयो । त्यस्तै झापा तिरका विद्यार्थीहरूको ठूलो समूहलाई मुद्दा लगाइएको थियो । प्रचार अवधिमा लागेका मुद्दाहरू पछिसम्म तानिएका थिए । ती मुद्दामा सहयोग गर्नु मेरो नैतिक दायित्व बनेको थियो । धनकुटा सम्म पुगेर पनि ती मुद्दाहरू लड्ने जाँगर थियो ,त्यति बेला ।
जनमत सङ्ग्रह सम्पन्न भएको केही समय भित्रै झापामा जुट काण्ड भयो । उपभोग्य बस्तुको मूल्यले आकाश छोएको थियो । किसानले उत्पादन गरेको जुट मूल्यहीन जस्तै बन्यो ।

मानिसहरूले बजारमा बेच्न लगेको जुट बिकेन । कतिले दुई के जी चिनीमा एक मन जुट साटे । बजारमा बेच्न लगेको जुट नबिकेर कतिले आगो लाए । त्यो बेला सम्म झापामा महत्वपूर्ण नगदे बालीका रूपमा जुट उत्पादन हुन्थ्यो । जुटको विकल्पमा प्लास्टिकका बोरा आउन लागेपछि जुटको माग एकाएक घटेर यस्तो भयावह अवस्था उत्पन्न भएको थियो । यो सूचना किसानसम्म प्रवाह गर्न सरकारलाई सरोकार थिएन । सरकारका मन्त्रीहरूलाई किसानको समस्याको कुनै वास्ता थिएन । यसै विषयलाई लिएर झापाली किसान आन्दोलित भए । जुलुस, हडताल, तीव्र रूपमा चल्यो । जनमत सङ्ग्रहमा भएको धाँधलीको कारण पनि मानसिक रूपमा आन्दोलनसँग जोडिएको थियो । गौरादह, गौरिगञ्ज, दमक, धुलाबारी, भद्रपुर जताततै सरकार विरोधी जुलुस र सभाहरू हुन थाले । जनमत सङ्ग्रहमा भएको षडयन्त्र र धाँधलीको कारणले पनि आन्दोलनलाई ऊर्जा दिएको थियो । राजनीतिक दलहरू अगाडी आएका थिएनन् । सबै क्षेत्रका विद्यार्थी र युवा पनि किसान सँग जोडिएको यो आन्दोलनमा सरिक हुँदै गएका थिए । आन्दोलनले झापालाई लपेट्यो । प्रहरी प्रशासनमा भूकम्प गयो । जनमत सङ्ग्रहमा बहुदललाई ठेगान लगायौ भनेर सुतेका पञ्च प्रशासनको निन्द्रा खलबलियो ।
म एउटा मुद्दाको सिलसिलामा इलाम गएको थिएँ । त्यति बेला इलाममा अञ्चल अदालत थियो । म इलामबाट फर्केर राती चन्द्रगडी पुगेँ । धर पकडको कार्यलाई प्रशासनले तीव्र बनाएको रहेछ । धेरै युवा विद्यार्थीलाई विभिन्न स्थानबाट पक्राउ गरी प्रहरीमा राखेको रहेछ । हिजो बहुदलको प्रचारमा लागेका अगुवा कार्यकर्ताहरू, सकृय समर्थकहरू पक्राउको सूचिमा रहेको सूचना मैले प्राप्त गरेँ र त्यो सूचिमा मेरो पनि नाम रहेको जानकारी भयो । पक्राउ पर्ने कि लुक्ने रु मेरा सामु दुईवटा रोजाइ थिए । लुक्दाको परिणाम राजनीतिमा तानिनु भन्ने मलाई लाग्यो र पक्राउ पर्दा २,४ महिना वा बर्ष दिन जतिमा छुटिएला भन्ने लाग्यो । मैले गिरफ्तारी दिने र जेल बस्ने निर्णय गरे ।
भोलिपल्ट बिहान मैले कोठामा नै बिताएँ । दश बजे नै फर्ममा पुगेर कामहरू हेरेँ । त्यति बेला नरेश कुमार बर्मा र मेरो संयुक्त फर्म थियो । वहाँ काठमाण्डौ जानु भएको थियो । त्यस दिनलाई एउटा साछी परीक्षणको काम तोकिएको रहेछ । म फायल लिएर अदालत पुगेँ । अदालत नपुग्दा नै पक्राउ परिएला जस्तो लागेको थियो । त्यसो भएन । त्यो दिन मेरो गिरफ्तारी हुन्छ भन्ने कुरा धेरैले अनुमान गरेका थिए । केहीले लुक्ने सल्लाह दिए । केहीले चिन्ता ग्रस्त दृष्टिले मलाई हेरे । मलाई त्यति चिन्ता लागेको थिएन । नरेशजी काठमाण्डौ बाट फर्ममा आइ पुग्दा सम्म कुनै काम नबितोस् भन्ने मात्र मेरो चाहना थियो । केही समय जेल बस्ने मैले मानसिकता बनाएको थिएँ ।


१२ बजे तिर प्रहरीको एउटा टोली अदालतको गेटमा आएर बस्यो । त्यो टोली मेरै गिरफ्तारीका लागि आएको भन्ने सबैको अनुमान थियो । भाग्न सक्ने अवस्था भएर पनि मैले भाग्न मन गरिन । काम सकेर चार बजे तिर म अदालतबाट निस्केँ । मेरो पछि पछि प्रहरीको टोली आयो र बाटोबाट मलाई लिएर गयो । जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएर एउटा सानु कोठामा हुली दिए । त्यहाँ बिहानै गिरफ्तार गरेका हिरण्य कुमार नेउपाने र अरू ३ जना युवा थिए । त्यो कोठालाई हिरासत भन्थे । त्यो सानो कोठाको एक कुनामा लघु शौच गराउने व्यवस्था रहेछ । दुर्गन्धले त्यहाँ बसी सक्नु थिएन । हिरण्य कुमार नेउपाने निराश मुद्रामा बस्नु भएको रहेछ । त्यस्तोमा बस्न नसकिने भनेर हामी कराउन लाग्यौ । प्रहरीका जवानहरू आएर हामीलाई हप्काउने चेष्टा गरे । यो कोठा फिनेल लगाएर सफा गर, नत्र हामी यहाँ बस्न सक्दैनौ । हामी प्रहरी हाकिम सँग कुरा गर्छौ, बोलाउ भने पछि उनीहरू फर्केर गए । केही समय पछि प्रहरीको एक जना अ स इ आएर हामीलाई त्यहाँबाट निकालेर अलिक ठूलो हलमा लगे । त्यहाँ विभिन्न स्थानबाट पक्राउ गरेर ल्याएका चालीस जना जति युवा राखेको रहेछ । हामीलाई त्यहीँ समूहमा बस्न सहज भयो । माथिल्लो तहका प्रहरीहरूले भेट्दै भेटेनन् । हामीले कपडा मगायौ र खानाको व्यवस्था गर्‍यौ । चारै तिरबाट जो कोहीलाई पक्राउ गरेर ल्याइरहेका थिए । त्यो हलमा झन्डै सयजना मानिस पुगी सकेका थिए । हलको क्षमता भने पन्ध्र बीस जनाको मात्र थियो । राम्ररी सुत्न, निदाउन पाइँदैनथ्यो । दिशा पिसाब गर्न धेरै समस्या थियो । धेरैका सुत्न कपडा थिएनन् । खाने व्यवस्था थिएन । हाम्रो क्षमताले भ्याए सम्म केहीलाई सुतायौ र हाम्रै खाना बाँडेर दियौ । चौथो दिन इन्स्पेक्टर थापा मलाई सोध्दै आए । मैले उसलाई पहिला ट्वाइलेट बनाएर मात्र गिरफ्तार गर, भने पछि उनी कुरा नगरी बाहिरिए । अलिक चाँडै पुर्जी दिएर जेल पठाए अलिक सजिलो बसाइ हुने मैले ठानेको थिएँ । त्यसो भइ रहेको थिएन ।
बारले हाम्रो गिरफ्तारी र अवैध थुनाका बारेमा खेद प्रस्ताव पास गरेर अञ्चलाधीशलाई ज्ञापन पत्र दिएको रहेछ । उनको गिरफ्तारीको रफ्तार भने बढि रहेको थियो । हामी बसेको कोठामा सय जति राखेको थियो । अरूतिर र थानामा पनि राखेका रहेछन् । त्यो अन्धाधुन्धको गिरफ्तारी हेरेर उनको सुधारेको पञ्चायत धेरै टिक्दैन जस्तो मलाई लाग्थ्यो । यो गिरफ्तारी बारे बि बि सि ले पनि चर्चा गरेछ । मैले त सुनिन । मेरो नाम पनि गिरफ्तार भनेर प्रसारण भयो भनेर बाहिरका मानिसले भोलि पल्ट हामीलाई सुनाएका थिए । त्यति बेला रेडियो नेपालले त्यस्तो समाचार भन्दैनथ्यो । अरू प्रसारण संस्था थिएन ।
गिरफ्तार भएको पाँचौं दिनको साँझ मलाई इन्स्पेक्टरले उनको अफिसमा बोलाए । मैले अब जेलको पुर्जी दिन्छ होला भन्ने ठानेको थिएँ । उनले डि आइ जी र सि डि ओ ले मलाई भेट्न खोजेको भनेर एस पी अफिसमा लिएर गए । त्यहाँ पूर्वाञ्चलको डि आइ जी डी बी लामा, सि डि ओ हिरण्य लाल रेग्मी, एस पी कर्म कुमार राई र काठमाण्डौ बाट आएको गुप्तचर सहितको एउटा टोली रहेछ । सि डि ओ ले म सँग कुरा सुरु गरे र यो आन्दोलन रोक्न सहयोग गर्नु पर्‍यो भने । मैले भने यो आन्दोलन तपाइहरूले सिर्जना गरेको हो । अब मैले प्रहरी हिरासतमा बसेर आन्दोलन रोकि दिनु पर्‍यो रु भनेर हाँसी दिएँ । त्यस पछि सि डि ओ पछि सरे । डि बि लामा ले कुरा सुरु गरे । उनी सँग मेरो राम्रै चिनाजान थियो । उनी भ्याली एस पी भएका बेलामा २०३० सालमा मलाइ काठमाण्डौमा गिरफ्तार गरिएको थियो । म ६ महिना सुरक्षा कानुनमा थुनिएको थिएँ । त्यति बेला उनले डिल गरेका थिए । उसले अलिक कूटनीतिक पाराले नम्र भएर कुरा सुरु गरे । मेरो गिरफ्तारी र आन्दोलनको प्रकृति बारे जानकारी मागे । मैले म ३ दिन देखि मुद्दामा इलाममा रहेको, अघिल्लो साँझ मात्र झापा आएको र दिनभरि अदालतमा रहेको, अदालतकै कम्पाउन्डबाट पक्राउ गरेको बताएँ । अनि आन्दोलनको बारेमा मैलै किसानको जुटको मूल्यको समस्या बताएँ । आन्दोलन त्यही कुरामा भएको तर सि डि ओ र अञ्चलाधीशले हिजो बहुदलमा लागेका सबैलाई गिरफ्तार गरेर बदला लिएको कुरा गरे । सि डि ओ ले प्रतिवाद गर्न खोजे । मैले आफ्नै उदाहरण दिएँ ।
मैले अरू बहस गर्न नचाहेको, मिसिल तयार पारेर बयान गराउनु हुन्छ भने मात्र बयान गर्छु भने र यति धेरै मान्छेलाई दिशा, पिसाब गर्न नदिइ, खान नदिई भोकै थुन्नु भएको छ यसको परिणाम भयावह हुन सक्छ भने । के भयावह हुनसक्छ रु भनेर सि डि ओ ले खेर्दै थिए । मैले, म अब बयान गराउने होइन भने कुरै गर्दिन मलाइ पुर्जी दिएर जेल पठाउनुहोस् या मुद्दा उठाएर बयान गराउनुहोस् भने । मेरो कुरा सुनेर उनीहरू स्तब्ध बने । सि डि ओ अलिक उत्तेजित हुन खोजेका थिए । डि बि लामा ले इशारा गरेर रोके । उनले एकै क्षण हामी सानु सल्लाह गर्छौ भन्दै मलाइ अर्को कोठामा लैजानु भनेर इन्स्पेक्टरलाई भने । मलाइ अर्को कोठामा लगेर २० मिनट जति राखेर फेरि अघिको कोठामा लगे । सि डि ओ ले मलाइ एउटा कागज गरेर जान सक्नुहुन्छ भने । उनीहरूले मैले सहजै कागज गर्छु भन्ने ठानेका रहेछन् । मैले कागज गर्न इन्कार गरें । मलाइ कारण बिना गिरफ्तार गर्नु भएको छ, खान पिउन नदिइ कानुन विरुद्ध थुनामा राख्नु भएको छ, अझ मलाइ कागज गराउन खोज्नु हुन्छ रु मैले अगाडी नै जेल जाने पुर्जी दिनोस् या मिसिल तयार गरेर बयान गराउनुहोस् भनि सके भने । फेरि उनीहरू मौन भए । म कानुन व्यवसायी भएको नाताले पनि त्यस्तो कागज गर्दिन । थुन्नु हुन्छ भने पनि म थुनिन तयार मानसिकतामा छु, भनेर मैले थपे । मलाइ फेरि अर्को कोठामा लगेर पाँच मिनट जति राखे । यस पल्ट मलाइ पुर्जी दिने निष्कर्ष निकाल्छन् जस्तो लागेको थियो । तर त्यस्तो भएन ।
सि डि ओ र डि बि लामा दुवैले इन्स्पेक्टरलाई घरमा पुर्‍याएर छाडि दिनु भने । बाहिर जिप तयार रहेछ । इन्स्पेक्टर रेवत बहादुर थापाले आफै गाडी हाँकेर राती दश बजे तिर चन्द्रगडीको मेरो डेरामा लगेर छाडि दिए । भोलिपल्ट देखि पक्राउको क्रम रोकियो र छाड्ने क्रम सुरु भयो । हिरण्यकुमार नेउपाने, विष्णु प्रसाई, हरी प्रसाई, भीम कुँवर लगायत ६,७ जनालाई पुर्जी दिएर जेल पठाए । अरूलाई दुई तीन दिन भित्रमा छाडी दिए । यसरी २०३७ सालको झापा जुट काण्ड सकियो । वरिष्ठ अधिवक्ता लिला उदासीको फेसबुकबाट साभार