रुनु भनेको



रुनु भनेको
यसै आफूभित्रको आकाश
निचोर्नु रहेछ।

रुनु भनेको
आफ्नै वरिपरि बनेको
बाबेलको धरहराका
देउताबाट श्रापित मानिसहरूका
बहुल भाषाका हल्लामा
एउटा आफ्नो अघोषित भाषाको हल्ला
थप्नु रहेछ ।

रुनु भनेको
हिजो सानो छँदा जूनतिर फर्केर
आमालाई घुर्क्याउँदै निर्बाध क्रन्दन गरेको
अलिकता ढल्कँदो वयमा ल्याएर
उच्चरित गर्नु अनि त्यस्को ध्वनिले
आफैँ चकित पर्नु रहेछ,
बालकले देखेको जून
आफ्नै अक्षरका थुम्कामा झुल्केको हेरी
त्यसमुनि बसेर गनगन गर्नु रहेछ ।

रुनु भनेको
कहीँ काशीमा महाकविले लेखेको
‘भैगो मलाई अब रुन देऊ
शुष्क भयो अब उरको सार’
पढेको पाठले बनेको
कविताको आकाशबाट
सानो झरी पोखेर बस्नु रहेछ ।

रुनु भनेको
तिमीले चिसो दिनमा
केही न्यानो घाम
मेरो कोठामा पठाएर जनी गरेको
एउटा मूर्च्छना रहेछ आकाशको
जस्लाई लिएर गाउनु
एउटा नियति रहेछ शब्दक्रीडाको ।

रुनु भनेको अक्षर लेखे पग्लिने
मनभित्र फर्के पहिरो जाने
केही बोकेर उठे तिरोधान हुने
हिजोको कुरा सम्झे आँधी उठ्ने
भोलिको कुरा सम्झे डम्म हुस्सु लाग्ने
कसैलाई भेटे
पाठशाला नगई भागेको बालक
गुरुले समातेजस्तो विवेकशून्य हुने
चिन्ता गरे समय नपुग्ने
नगरे किनारा नभेटिने गरी पौडिरहने
हाँसौँ घामपानीको आकाशले निथ्रुक्क पार्ने
उठौँ जाने ठाउँ बिर्सिएजस्तो हुने
बसिरहूँ आसन भिजेर लथपथ हुने
यस्तै हुने रहेछ ।

रुनु भनेको सबैभन्दा राम्रो
यत्तिनै आँसु लिएर
केही आशाका घामहरूमा बाहिर उठी
त्यहाँदेखि यहाँसम्म उठेको
इन्द्रेनी बनाउनु रहेछ।

बरु जे होस् भक्कानिएर
आफूभित्र झञ्झा चलाएर
जगतितलको एउटा एक आफ्नै
समय, रेखा कोर्नु रहेछ रुनु,
बरु मुक्तिको बोलीमा घोल्नु रहेछ आँसु
बरु पहाड चढ्नुजस्तो,
बरु कुम्लो बिसाएर एकछिन चौतारामा
एकै भाका भए पनि सुरिलो गीत गाउनु रहेछ रुनु ।

रोई नै सकेपछि
आँसु नै सकिएपछि के भो र !
रुनुका आरम्भका प्रहारभन्दा माथि उठेर
मुक्त भएर फेरि ढुङ्गो बोक्न
फेरि फेदीतिर झर्दा
गुमाउने कुरा केही नभएको
डराउने कुरा सकिएको
रुनुले दुखेको मनहरूबाट थाकेको
एक सिसिफस भइने रहेछ,
मुक्त, सुस्त र आकासजस्तो
फराकिलो होइने रहेछ ।

तर रुवाउनेको सम्झना भने
बिहान नदी किनारमा अल्झिबसेको
घामका सिँढी चढेर माथि उठ्न नमान्ने
कुइरोजस्तो हुने रहेछ,
हिजो रोएको मनमा
कर्‍याङकुरुङका हूलले
टाढा सहगान गरेको सुनेर
मायालु घामछाया
मुरलीजस्तो बजिरहने रहेछ ।

रुनु भनेको यस्तै रहेछ ।