कारण



मंडीबाट फर्किँदा भारी कण्ठले पिताजीले भन्नुभयो– ‘तेरी आमा बितिन् अचिन्त्य…!’ साँच्चै भनूँ भने कुनै पनि प्रतिक्रिया भएन मबाट ! केही नै भएन ! आज सम्झँदा त विश्वास नै लाग्दैन । के यस्तो पनि हुन सक्छ, कसैकी आमा बित्दा उसभित्र अलिकति पनि हलचल नहोस् !

आमाको मृत देह अगाडि राखिएको छ ।

म देखिरहेको छुः
आमाको गोडा, गोडा के भन्नू, बाँसका भाटा हुन् । न रगत ! न मासु ! यी गोडाको मृत्यु कहिले भएको थियो, मलाई थाहा छैन । अँ, भन्छन्, जब आमा बिहा गरेर आउनुभएको थियो, त्यतिबेला पनि उहाँका गोडा थिएनन् । यसैकारण पूरा जीवन पिताजीको गोडाका सहाराले हिंडडुल गर्नुभयो । आमा कहिलेकाहीँ भन्नुहुन्थ्यो– जन्मँदैदेखि उहाँ यस्तै हुनुुहुन्थ्यो । बिहा हुनुभन्दा पहिला मामाघरको हजुरबुबाको हात समातेर हिँड्नुहुन्थ्यो ।

आमाको पेटको ठाउँमा हल्का खाल्डोजस्तै छ, सेतो कात्रोले ढाकिएको ।

आमाले अघाउँजी सायदै खानुभयो, खाएको मलाई सम्झना छैन ! उहाँको मुखसम्म गएको प्रत्येक गाँस हामी बाजले जसरी झम्टेर खोस्दथ्यौँ ! अनि आमाको पेट कसरी भरियोस् त ? भोकै हुँदा पनि उहाँको अनुहारमा आत्मसन्तुष्टिको गजब भाव देखिन्थ्यो !

आमाको हातको केवल आकार झल्किएको थियो । यो हात नै हुनुपर्छ, म अनुमान लगाउँछु । आँखाको ठाउँमा केवल टोड्कोको आभास ! माथिदेखि तलसम्मै म काँप्दछु ।

‘अचिन्त्य, कहिले भयो तिम्री आमाको मृत्यु ?’ सहानुभूति प्रकट गर्न आएका एक वृद्धले सोध्नुहुन्छ, तर म चाहेर पनि केही भन्न सक्तिनँ ।

कसरी भनूँ, बैसठ्ठी वर्ष पुरानो यो लास, जसलाई आमा भन्दै छु, कुनै दिन पनि जीवित हुनुहुन्थेन । सारा जीवन खेतको रक्षाका लागि राखिएको बुख्याँचाको भूमिका निर्वाह गर्नुभयो ।

परिवारका सारा मानिस आमाको लासलाई घेरेर उभिएका छन् । शोकले आकुल भएर रुँदै छन् । यिनीहरू चिन्तित छन् – सबैजना मिलेर, घाटमा लगेर अहिले यस लासलाई जलाएपछि भोलिदेखि, यस ठाउँमा, घरको रेखदेखका लागि कसको पुतला उभ्याउने ? यस्तै दोस्रो जीवित लास कहाँबाट ल्याउने ?

(अनुवाद : मनोजादित्य न्यौपाने)