भक्कानो



रोशन थापा ‘नीरव’-

(कथाकार रोशन थापा ‘नीरव’को यस कथाले कोरोना कहरको प्रतिनिधि पीडालाई बोल्छ, तसर्थ महिनाको प्रतिनिधि कथाका रूपमा यहाँ प्रस्तुत छ– सम्पादक ।)

उसलाई भनन भाउन्न भएर रिँगटा लाग्यो । भित्ताको एउटा टेको नसमाएको भए ऊ लड्थ्यो पनि होला । टेको लिएर ऊ उभियो, तर खुट्टा लुगलुग कामिरह्यो ।
००

अब घरमा गएर के भन्ने ? यो सोचले फेरि उसलाई भित्रबाटै हल्लाइदियो । घरमा हुन त अरू कोही थिएनन्, दुई सानासाना बालकबाहेक । ती बालकहरूको प्रश्न सम्झेर उसलाई कहाली लागेको थियो । अरू गहिरो कहालीको त के कुरा र ?
००

मानिसको भीड । ऊ सोधखोज गर्दै अगाडि बढ्यो । कसैले केही भन्थ्यो त कसैले के । मानिसहरू त्रासको घुम र आतङ्कको पहिरन ओढेर भागिरहेका थिए । अब त्यहाँ कसैले पनि केही बोल्नु उचित थिएन र समय पनि । ऊ भने ती सबै व्यर्थतालाई जानेर पनि भाग्न सकेको थिएन । सकेको के कुरा र ? यथार्थमा ऊ भाग्न नै चाहँदैनथ्यो । भागेर जाने नै कहाँ ? उसको आधा हर यस्तरी सुस्त भइदियो, जसको समाधान त्रासले उग्राइदिएको थियो ।
००

मान्छेहरू लगभग भागिरहेका अवस्थामा थिए । यताबाट उता, उताबाट यता । यस्तैयस्तै केही । दृश्य हेर्दाहेर्दै कहालीबाट डरलाग्दो हुँदै गइरहेको थियो । कोही केही भन्दै थिए । कसैले कसलाई बोलाउँदै थिए, तर ती सबै क्रियामा ऊ भने एक्लो थियो । उसले कसैको आवाज सुनेको थिएन वा सुनेर पनि सुन्ने अवस्थामा थिएन । ऊ चारैतिर खोजिलो दृष्टिले भौँतारिँदै थियो । यो खोजाइ लगभग तीन दिनदेखिको थियो । ऊ तीन दिनदेखि त्यहाँ धाइरहेको थियो, तर कसैले उसको उत्तर दिने प्रयास गरिरहेका थिएनन् । बरु अलि पछि हटेर, मुख छोपेर तर्केर, तर्सेर र उछिटिएर छिटोमा आएर हतारमा दौडिएजस्तै गरी पन्छिन्थे । उसले बुझ्न सकेको थिएन, यो किन यस्तो भयो ?
००

परबाट दुई परिचारिका श्वेत वस्त्रमा आइरहेका उसले देख्यो । ऊ त्यतैतिर दौडियो । ऊ दौडेको देखेर ती दुई परिचारिका फुत्त अर्को मोडमा मोडिएर अलप भए । ऊ टक्क अडेर यताउता हेर्न थाल्यो । साँच्ची मान्छेहरू उसलाई ‘जोम्बी’सरह व्यवहार गरिरहेका थिए । मानौँ उसले सबैलाई रोकेर घाँटीमा दाँत गाडी रगत तान्न सक्थ्यो । ‘जोम्बी’, एक जिउँदो लास । यद्यपि ‘जोम्बी’ रगतका लागि हतारिन्थ्यो भने ऊ आफ्नो प्रश्नको उत्तरका लागि भौँतारिरहेको थियो ।
००

फेरि उसलाई रिँगटा लाग्यो । अब ऊ जहाँ उभिएको थियो, त्यहीँ थचक्क बस्यो । बसेर आँखा चिम्लियो । आँखामा आफ्ना दुई बालकहरूको अनुहार चित्रित भयो । बालकहरू भन्दै थिए, ‘मामु खोइ, खोइ मामु ?’ के भन्ने ? आँखा खोल्यो । उठ्यो । फेरि हान्निएर काउन्टरतिर गयो । काउन्टरमा एक युवती बस्थिन् । अब अहिले तिनी कहाँ गइन्, थाहा भएन । काउन्टर शून्य थियो ।
००

मान्छेहरू मुख छोपेर हिँडिरहेका थिए । कोही कसैसँग कुरा गरिरहेका थिएनन् । अरू बेला भएको भए, जस्तै हतारमा पनि घन्टौँ कुरा गर्न सामर्थ्य राख्ने वीर नेपालीको विशेषता बोकेका जनहरू आज एक्कासि एक्लिएर, उछिटिएर हिँडिरहेका देखिन्थे । हुन त यसमा उसलाई कुनै चासो थिएन । उसलाई त बस, आफ्नी श्रीमतीको खोजी गर्नु थियो । श्रीमती ? हो, श्रीमती । उसकी श्रीमतीलाई तीन दिनअगाडि यस हस्पिटलमा ल्याइएको थियो । अनेक आशङ्का र त्रास बोकेर उसले त्यहाँ पुर्‍याएको थियो, तर के, कसरी र किन यस्तो ? कुनै भेउ भने पाउन सकेको थिएन ।
००

घरमा ऊ, उसकी श्रीमती र दुई बालकहरूको एक सानो र सुखी परिवार थियो । श्रीमती गृहिणी । ऊ कुनै निजी कम्पनीमा काम गर्दथ्यो । बच्चाहरू स्कुल पढ्दथे । यो सरल परिचय थियो उसको । जीवन जति नै जटिल भए पनि ऊ र उसको परिवारको परिचय भने यति नै र यस्तै अभिधामूलक स्थितिमा यापन गरिरहेको व्यक्तिसरह थियो । उसको प्रेम विवाह भएको थियो । श्रीमतीले उसको एकाकी जीवनमा धेरै नै सहयोग गरेकी थिइन् । उसको भौँतारिनु र उसको एकलकाँटे जीवनलाई समालेकी थिइन् । झन् जुम्ल्याहा छोराहरू भएपछि त उसकी श्रीमतीले गरिरहेको काम पनि छोडेर घरमै गृहिणी बनेर बस्ने निधो गरिन् । संक्षेपमा भनौँ, उनीहरूको जीवनमा सकारात्मक सोचले प्रश्रय पाएको थियो । कुनै बाधा, कुनै नकारात्मक स्थितिले उनीहरूलाई सताएको थिएन । जीवन सरल, सहज र निरन्तर बगिरहेको सङ्लो नदी जस्तो थियो । श्रीमतीको हँसिलो मुहार । ऊ दङ्ग पर्दथ्यो । यही विशेषतामा उनीहरूको पारिवारिक जीवन चलिरहेको थियो ।
००

—आज अलि चाँडै आउनू है । (श्रीमतीले उही चिरपरिचित मुस्कानका साथ भन्थिन् ।)
—तिमी भन्छौ भने म आज अफिस जान्नँ । (ऊ यति भनेर श्रीमतीलाई अँगालो हाल्न जान्थ्यो ।)
—धत्, कस्तो मान्छे…छोराहरूले देखे भने…? (श्रीमती उछिटिन्थिन् ।)
—बाउआमा प्रेम गर्न लागिरहेछ भन्लान् । (ऊ श्रीमतीको नजिक पुग्थ्यो ।)
—बेला न कुबेला केको प्रेम नि श्रीमान्ज्यू ? (श्रीमती रोक्दै बोल्थिन् ।)
छोराहरू आइपुग्थे । बीचमा उभिएर आफ्ना मातापितालाई हेर्दथे । मातापिता केही नभएजस्तो दलिनतिर हेर्दथे ।
छोराहरूले भन्थे—हामीलाई कसले स्कुल पुर्‍याउने नि ?
उसले सङ्केत गर्दै भन्थ्यो—मामुले नि ।
छोराहरूले सोध्थे—अनि तपाईं नि ?
ऊ भन्थ्यो—म त अफिस जाने ।
श्रीमतीले भनिन्—भरे एउटा केक ल्याउनू है ?
ऊ टक्क अड्यो । श्रीमतीतिर हेर्दैै किनको सङ्केत आँखाले गर्‍यो । उसलाई थाहा भएन, किन केक ?
—किन नि केक ?
—ल हेर, कस्तो बिर्सेको ?
—के बिर्सें र ?
—आज हाम्रो बिहे भएको दिन, सात वर्ष भयो ।
—ए हो त नि, म त कस्तो नि, मलाई त अझै भर्खरै हाम्रो प्रेम भएजस्तो लागिरहेको ।
श्रीमती हाँस्न थालिन् । ऊ पनि हाँस्न थाल्यो । बच्चाहरू केही नबझेर उनीहरूलाई हेरिरहेका थिए ।
००

हा…हा…हा…। उसको हाँसो । एक्लो हाँसो । ऊ यति बेला एक्लै हाँसिरहेको थियो । यो देखेर भागिरहेका मान्छेहरू एकछिन भए पनि टक्क अडेर उसलाई हेर्न थाले । हेरेर कुरा गर्न थाले ।
—यो मान्छे बहुला भएजस्तो छ ।
—किन ?
—उसकी श्रीमतीलाई अस्ति यहाँ अस्पतालमा ल्याएको रे ।
—अनि अहिले ?
—अहिले उसकी श्रीमतीको लाससमेत पाइएन ।
००

ऊ टक्क रोकियो । आफ्नो हाँसो देखेर आफैँलाई सङ्कोच लाग्यो । ऊ झस्किएर दायाँबायाँ हेर्न थाल्यो । खोइ श्रीमती ? खोइ बच्चाहरू ? खोइ घर ? ऊ विगतबाट वर्तमानमा आएर उभियो । ऊ कतै जान नसकेर हो वा केले, थचक्क बसेको थियो । छिनमा आँखा चिम्लिन्थ्यो । छिनमा उघार्थ्यो । फेरि चिम्लन्थ्यो । कति साउतीहरू उसका कानमा वारपार गरिरहेका थिए ।
००

सुन्नुहोस् त…कसैले पुकारेजस्तो लागेर आँखा झ्वाट्ट खोल्यो । अगाडि डाक्टर उभिएका थिए । डाक्टरले पन्जा र मास्क लगाएका थिए । ऊ जुरुक्क उठ्यो । डाक्टरले एउटा कागतपत्र दिएर केही भने । उसले सुन्यो, तर केही बुझेन, पक्क परेर हेरिरह्यो । डाक्टर भन्दै थिए । उसकी श्रीमतीका बारेमा । हिजो नै उसकी श्रीमतीलाई सेनाले लगेर दाहसंस्कार गरिसके…।
००

हँ…? ऊ स्तब्ध भयो । अस्ति ऊ अफिसबाट बेकरी पसलमा गई केक किनेर फर्कंदै गर्दा घरबाट फोन आएको थियो, श्रीमतीलाई हनहनी ज्वरो आएको थियो । ऊ घर पुगेर हेर्दा श्रीमती छटपटाएर बसिरहेकी थिइन् । ज्वरो सर्ला भनेर श्रीमतीले बच्चाहरूलाई परै बसाएकी थिइन् । बच्चाहरू परैबाट आफ्नी आमाको छटपटाइ नबुझेर हेरिरहेका थिए । उसले एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएको थियो । अस्पतालमा पुगेपछि उसलाइै पन्छाएर उसकी श्रीमतीलाई केके तरिकाले वा पूरै किट पहिरन लगाएका मान्छेहरूले अलग्ग गरेर भित्र लगेका थिए र उसलाई घर फर्काइदिएको थियो । ऊ फर्कन मानेको थिएन । मान्छेहरूले सम्झाएपछि र छोराहरूको सम्झनाले गर्दा ऊ घर फर्किएको थियो, तर आज…?
००

अन्ततः थाहा भयो, उसकी श्रीमतीलाई सेनाले कतै लगेर जलाइसकेको थियो र खरानी पनि पाइने अवस्था भएन । ऊ भक्कानियो । आँखाबाट अस्मेल अश्रुवर्षा हुन थाल्यो । यो के, कसरी ? उसलाई सम्झना भयो, एक बिहारीसँग तरकारी किनेर घर फर्किएपछि उसकी श्रीमतीलाई एक्कासि ज्वरो आएको थियो । त्यसपछि छटपटिएर…?

डाक्टरले भन्दै थिए—यो कोरोना भाइरसको प्रकोप, तपाईंको श्रीमतीले सहन गर्न सक्नुभएन ।
उसले भन्यो—तर डाक्टर, उसलाई मात्र किन ? मलाई वा मेरा बच्चालाई ज्वरो किन आएन ?
डाक्टरले भने—शरीर कमजोर भएको बेला, यसले आक्रमण गर्छ । कसैले पचाउन सक्छ, कसैले सक्दैन । तपाईंमा इम्युनिटी पावर बढी भएर होला ।
उसले आँसु पुछ्दै सोध्यो—शवलाई एक पटक पनि हेर्न सकिएन, किन ?
डाक्टरले भने—धन्न मान्नुस्, तपाईं बच्नुभयो । यसको सङ्क्रमणबाट तपाईं बच्नुभयो । शवलाई हेर्नु वा छुनु, अर्को प्रकोपमा पर्नु हो ।
००

ऊ घर लखतरान र धेरै कुरो हराएको व्यक्तिसरह भएर पुग्यो । बच्चाहरू आतिएर बसिरहेका थिए । उसलाई देखेपछि बच्चाहरू भाउन्निएर आए—बाबा, बाबा ।
उसले बच्चालाई परै रोक्यो । एकछिन पख भन्यो । ऊ बाथरुममा गएर सबै लुगा फुकाएर खलल नुहायो । अनि अर्को लुगा लगाएर बच्चाहरूका अगाडि गयो । उसलाई दुई बालकले अन्ततः सोधिहाले—बाबा, मामु खोइ ? ऊ केही बोल्न सकेन । अतिशय बाढी आउन लागेको जललाई बाँधले रोकेजस्तो उसले आफ्नो भक्कानोलाई रोक्यो । घाँटी अवरुद्ध भयो । मुटुमा सहनै नसक्ने दुखाइ थुनिएको थियो । एकछिन चिम्म गरेर आँखा चिम्लियो । अनि केही छिनपछि दुवै बच्चालाई बिस्तारै डोर्‍याएर त्यहाँ पुर्‍यायो, जहाँ उसकी श्रीमतीको एउटा ठूलो फोटो थियो; हाँसिरहेकी, सुन्दर फोटो । त्यही फोटोलाई देखाएर उसले भन्यो—बाबू हो, अब तिम्री मामु यही फोटोमा मात्र बसिरहनेछिन् ।
००

(साभार – मधुपर्क,  कथा विशेषाङ्क, २०७८, जेठ–असार संयुक्त अङ्क )