प्रकृति जननी हुन्



प्रकृति हुन् वनस्पतिकी जननी वायु आकाश जलकी रानी
लाली छर्दै चिरबिर चरा, उदाउँछिन् सूर्य बनी
भर्दछन् मनुष्यहरू उठी सबेरै, धारामा गई जल
चढाउँछन् भगवान् सूर्यलाई अञ्जुली, लिएर सोही पल ।

हावा चल्दछ हल्लाउँदै पात, पिपिरा अन्न र बाली पनि
रम्दछन् चरा, कीरा र भमरा भुल्दै रसमा अनि
मग्न देखिन्छ किसान कर्मको, गर्दै सदा गौरव
निस्फिक्री आफ्नो मेहेनतको, गाउँदै गाथा पौरख ।

दिन्छन् सूर्यले प्रकाश समान रूपमा भिखारी होस् या धनी
लिन्छन् हावा र पानी यी दुवै, कुनै संकोच नमानी
गर्दछन् मनुष्य विभेद यत्रतत्र सदा सिक्दैनन् यस्ता कुरा
गर्दछन् घमण्ड दम्भ मिथ्या बोकेर ज्ञान अपुरा ।

सिक्नु छ धेरै मनुष्य जनले प्रकृति गाथा उदार
लिनु छ शिक्षा नियम अनुशासन बनाउन जीवन सुन्दर
जितेर सत्कर्मले प्रफुल्ल मनले, जीवन यहाँ हाँस्दछ
अँगाली सुविचार हृदयको कुना खुसीले गदगद नाच्दछ ।