मङ्गल गीत



ब्रह्म मुहूर्तमै अभिमन्त्रण गरेर
सुरक्षित राखेको छु
सप्तगंगाको जल मिश्रित
वरुण कलश ।

झिकेर ईशान कलशको जल
चोख्याई सकेको छु
विषाणुले विषाक्त भूमि
सजाई सकेको छु
तिमी हिँड्ने बाटोको दायाँबायाँ
सर्वौषधीले युक्त पोटलिका
सूर्योदय पूर्व नै तारी सकेको छु
पञ्चपल्लव र विष्णुक्रान्ताले सजिएको
फूलपातीको लर्कन ।

लोककल्याणको लागि म पढिरहेको छु
रोग र शोक हर्ने मन्त्र
तिम्रो लागि आयोजन गरेर
विशेष अनुष्ठान
पुजिरहेको छु
अष्ठमातृका, अष्ठचिरञ्जीवीर नवैग्रह ।

तिम्रो अतुलनीय प्रमादका लागि
आज म मनाउँदै छु– मङ्गलदिवस
तिमी आउनु र बस्नु
माङ्गलिक मण्डलको मध्यभागमा
ताराहरूले शुभ साइत छोपेर
बजाउने छन् वीणा, मृदङ्ग र दुन्दुभि बाजाहरू
विश्व कल्याणको लागि
साक्षात् तिमी बनेर गायत्री
गाउनु गायत्री छन्दमा
सर्वगुणले सजिएको मङ्गल गीत ।