कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन


Harek Pal June 20, 2021

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

विष्टको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनको केही समयदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टलाई गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार गरिँदै आएको थियो ।

निको नभएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमा काठमाडौं ल्याइएको हो । काँग्रेस सुर्खेतका पूर्व सभापति रहेका बिष्ट २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। सभापति देउवाले बिष्टको निधनमा दुःख व्यक्त गरेका छन्।