बढ्यो देउवाको चुनावी सक्रियता : आइतबार पनि केन्द्रीय सदस्यहरुसँग छलफल


हरेकपल June 20, 2021

महाधिवेशनको मिति तय भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले सक्रियता बढाउँदै गएका छन् । शनिबार उपसभापति विमलेन्द्र निधिलगायतसँग छलफल गरेका देउवाले आइतबार पनि केही केन्द्रीय सदस्यसँग छलफल गरेका छन् ।

देउवाले आइतबार पनि आफ्नै निवास बुढानिलकण्ठमा केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् । छलफलमा क्रममा सभापति देउवाले आफू सभापतिमा अन्तिमपटक उठ्ने बताएका थिए ।

आजको छलफलमा कृष्ण सिटौला पक्षका केन्द्री यसदस्य भीमसेनदास प्रधान पनि सहभागी थिए । उनले आगामी चुनावमा सिटौलाको नेतृत्व आवश्यक रहेको भन्दै उनको व्यवस्थापनबारे जिज्ञासा राखेका थिए ।

सिटौलालाई चुनावी कमाण्डर बनाएर वा कार्यबाहक सभापति दिए मात्रै सहकार्य हुन सक्ने नेता प्रधानको प्रस्ताव थियो । त्यसबारे देउवाले प्रस्ट जवाफ भने दिएनन् ।

प्रधानको भनाइ सनिसके.पछि देउवाले सभापतिमा पुनः निर्वाचित भएर मुलुकलाई सहज बाटोमा लगेपछि कांग्रेसको नेतृत्व छाड्ने बताएको बुझिएको छ ।

छलफलका क्रममा शंकर भण्डारीलगायत नेताले कांग्रेसले आगामी महाधिवेशनबाट हिन्दु राष्ट्रको एजेण्डा बोक्नुपर्ने सुझाव दिएका थिए । जवाफमा सभापति देउवाले संविधानभन्दा बाहिर कांग्रेस जान नसक्ने बताएका थिए ।